चिनी तिहारमा पनि अभाव हुने संकेत, विभागले गोदामको अनुगमन गर्ने


काठमाडौं । चिनी तिहारमा पनि अभाव हुने देखिएको छ । तिहारमा गुलियो पदार्थका परिकार बढी बन्ने हुँदा चिनीको माग बढी हुने गरेको छ । खुद्रा व्यवसायीहरूका अनुसार तिहारमा २० हजार बोरा (१० लाख किलोग्राम) चिनी काठमाडौं उपत्यकालाई आवश्यक पर्छ । तर, अहिलेसम्म बन्दोबस्त भने भएको छैन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सहजीकरण गर्ने तयारी गरिरहेको छ । विभागले तिहारलक्षित विशेष अनुगमन गरेर थानकोटदेखि साँगासम्म पर्ने गोदामको निरीक्षण गर्ने तयारी गरेको स्रोतले बताएको छ । बजारमा चिनी लुकाएको भन्ने कुरा आएको छ ।

हामी विशेष अनुगमन टोली बनाएर अनुगमन गर्ने तयारीमा छौँ । दसैँमा एभरेष्ट चिनी मिलसँग चिनी खरिद गरी नेपाल खुद्रा व्यापार संघलाई दिएको थियो । संघले करिब एक हजार बोरा चिनी एभरेष्ट मिलबाट उठाएको थियो । यो चिनी उपभोक्तालाई प्रतिकिलो ११५ रुपैयाँमा उपलब्ध गराएको थियो । यसरी सहुलियत मूल्यमा चिनी उपलब्ध गराएपछि कालो बजारी भने केही हदसम्म नियन्त्रण भएको नेपाल खुद्रा व्यापार संघका उपाध्यक्ष नरेशबाबु शाहीले बताए । तिहारमा पनि यसै गरी चिनी उपलब्ध गराउन मन्त्रालय तथा चिनी उद्योगहरूसँग छलफल भइरहेको उपाध्यक्ष शाही बताउँछन् । दसैँमा एक रूपैयाँ फाइदा खाएर उपभोक्तालाई चिनी उपलब्ध गराएको उनी बताउँछन् । तिहारमा भने बिक्रेताहरूले अलिकति नाफा राख्न माग गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *