चौधरी ग्रुपले बेलायती ब्राण्ड ‘नोथिङ’ नेपालमा ल्याउँदै


काठमाडौं । चौधरी ग्रुपले नेपालमा बेलायती कम्पनी नोथिङ ब्राण्डका सामानहरु ल्याउने भएको छ । सिजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफ्नो सामाजिक सञ्जालमार्फत आफूहरुले नेपालमा उक्त ब्राण्डका सामग्रीहरु ल्याउन लागेको जानकारी दिएका हुन् । बुधबार बिहान उनले सामाजिक सञ्जालमार्फत् नोथिङ र सिजिबीच साझेदारी गरेको जानकारी दिएका हुन् । चौधरीले नोथिङका संस्थापक कार्ल पाईलाई ३ वर्ष पुरा भएकोमा शुभकामना दिँदै सिजि र नोथिङबीचको साझेदारी भएको पनि जानकारी दिएका हुन् ।

नोथिङ पछिल्लो समयमा विश्वव्यापी बजारमा चर्चित बन्दै गएको टेक कम्पनी हो । मुख्य गरि स्मार्टफोन र एयरफोनहरुको उत्पादन गर्ने यो कम्पनीको सुरुवात ३ वर्षअघि भएको थियो । वानप्लसका पूर्वसंस्थापक समेत रहेका कार्ल पाईले यो कम्पनीको सुरुवात गरेका थिए । नोथिङबाट गत वर्ष डिसेम्बरसम्ममा १० लाखभन्दा धेरै प्रोडक्टहरु बिक्री भएको फोनएरिनाले जनाएको छ । नोथिङले आफ्नो उत्पादनको सुरुवात ‘नोथिङ इयर वान’बाट भएको थियो, जसको घोषणा २०२१ मा भएको थियो । कम्पनीले २०२२ मार्चमा भने आफ्नो पहिलो फोन ‘नोथिङ फोन वान’को घोषणा गरेको थियो, जुन जुलाईबाट बजारमा उपलब्ध भएको थियो । उक्त फोन किन्न गर्नुपर्ने प्रिअर्डरमा नै १ लाखभन्दा धेरैले आवेदन दिएका थिए । जुलाईमा बजारमा गएको फोन डिसेम्बरसम्म अर्थात ५ महिनामा नै ५ लाख वटा बिकेको थियो । त्यस्तै, उक्त फोन भारतमा चार महिनामा नै १ लाख वटा बिकेको थियो । सन् २०२३ जुलाईमा बजारमा आएको नोथिङको दोस्रो फोन ‘नोथिङ फोन टु’ सार्वजनिक गरेको थियो । दोस्रो फोन सार्वजनिक हुँदा विश्व बजार नै यसतर्फ आकर्षित भएको थियो । भारतमा यो फोन अनलाईनमा उपलब्ध भएको जानकारी पाउँ भन्दै १ करोडभन्दा धेरैले नाटिफिकेसन अन गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *