धनगढीको लगातार दोस्रो जित


काठमाडौं । धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा ओलावाले आफिजको निर्णायक गोलप्रेरित लगातार दोस्रो जित निकालेको छ । आफिजले इन्जुरी समयमा निर्णायक गोल गरेपछि धनगढीले बुटवल लुम्बिनी एफसीविरुद्ध १–० को जित निकालेको हो । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिजाजीले मैदानको मध्यभागबाट निकालेको बललाई ‘फस्र्ट टच’ मै आफिजले जालीको दिशा देखाउँदै धनगढीलाई अग्रतामा राखेका थिए । जितसँगै दुई खेलबाट ६ अंक जोडेको धनगढी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो हार बेहोरेको बुटवल लुम्बिनी भने तालिकाको पुछारमा छ । खेलमा दुवै टिमले आधा दर्जन अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । १९औँ मिनेटमा बुटवलका एरिक बिष्टको फ्रिकिकलाई धनगढीका गोलकिपर मोहम्मद ताहाले मुश्किलले जोगाए । धनगढीका आशिष चौधरीले जिलेश्पीजंग कार्कीलाई लडाएपछि १८ यार्ड बक्सको राइट साइडबाट बुटवलले फ्रिकिकको अवसर पाएको थियो । जसमा एरिकको प्रहार ताहाले जोगाए । सोही रिबाउन्डमा धनगढीका अभिषेक गुरुङले आफ्ना साथी खोज्ने प्रयास गरेपछि बुटवलका सरोज तामाङले बल जित्दै गरेको डिफ्लेक्ट हुँदै पेनाल्टी बक्सबाहिर पुगेपछि धनगढीको खतरा टरेको थियो । २५औँ मिनेटमा धनगढीका अहमद हिजाजीले गरेको प्रहार पोस्टमा लागेर फर्कियो । आशिष चौधरीले लेफ्ट साइटबाट निकालेको कट पासलाई ताहाले पहिलो टचमै प्रहार गरेपछि ‘फस्र्ट बार’ मा लागेर बाहिरिएपछि धनगढी अग्रता लिनबाट चुकेको थियो । ३६औँ मिनेटमा एरिक बिष्टको कर्नरमा जिलेश्पीले गरेको हेडर धनगढीका अभिषेक गुरुङले गोललाइनबाट क्लियर गरेपछि बुटवल पुनः अग्रता लिनबाट विमुख भएको थियो । रिबाउन्डमा सेर्जे सङको प्रहार धनगढीका कप्तान देवेन्द्र तामाङबाट डिफ्लेक्ट भयो ।

सोही समयको काउन्टरमा धनगढीले मौका बनाए पछि अभिषेक गुरुङको ‘फ्रि हेडर’ ले दिशा लिन सकेन । आशिष चौधरीले राइट साइडबाट बल अघि बढाउँदै फरवार्ड हिजाजीलाई खोजेका थिए । हिजाजीले क्रस निकाले पनि पेनाल्टी बक्सभित्र अनमार्क रहेको अभिषेकको हेडर पोस्टभन्दा बाहिरबाट हुँइकियो । ४०औँ मिनेटमा बुटवलका सङले १८ यार्ड बक्सभित्रबाट गरेको प्रहार धनगढीका गोलकिपर मोहम्मद ताहाले मुश्किलले जोगाउँदै खतरा टारे । ५२औँ मिनेटमा गोलकिपर ताहाले बुटवलको अग्रता लिने अवसरलाई टारे । सरोज तामाङले राइट साइडबाट गरेको क्रस नियन्त्रणमा लिँदै जिलेश्पीले गरेको प्रहार बाहिर फ्याकेका थिए । ७१औँ मिनेटमा बुटवलले अग्रताको सुनौलो मौका खेर फाल्यो ।

राइट साइडबाट आशिष लामाले काउन्टरमा अघि बढाउँदै पेनाल्टी बक्सबाहिरबाट क्रस गरेपछि बक्सभित्र अनमार्क रहेका स्टेफन बिनोङ र निराजन धामीले नभेट्टाउँदा पोस्ट नजिकैबाट बल बाहिरियो । ७४औँ मिनेटमा धनगढीका ओलावाले आफिजले अवसर सदुपयोग गर्न सकेनन् । पेनाल्टी बक्सबाहिरबाट आफिजले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा बुटवलको खतरा टरेको हो । खेलको अन्तिम मिनेटमा बुटवलले पुनः सुन्दर अवसर खेर फाल्यो । बक्सभित्रका आशिष लामाको प्रहार पोस्ट नजिकैबाट बाहिरिएपछि बुटवलले अग्रता बनाउन सकेन । इन्जरी समयमा धनगढीका ओलावाले आफिजले अवसर खेर फाले । निशान लिम्बुले निकालेको बल ‘फर्स्ट टच’ मै प्रहार गरेपछि बुटवलका गोलकिपरले उत्कृष्ट बचाए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *