नबिल बैंक र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स सम्मानित

काठमाडौं । नबिल बैंक र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले बैंकिङ क्षेत्रबाट नबिल र बीमा क्षेत्रबाट आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई सम्मान गरेको छ । इप्पानले निजी क्षेत्रले निर्माण गरेको जलविद्युत आयोजनामा पहिलो पटक लगानी गरेको भन्दै नबिल बैंक (तत्कालिन नेपाल बंगलादेश बैंक) लाई सम्मान गरेको हो । त्यस्तै, आयोजनाको बीमा गर्ने पहिलो बीमा कम्पनी भएको भन्दै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स (साबिकको एनबी इन्स्योरेन्स) लाई इप्पानले सम्मान गरेको हो । त्यसैगरी, आयोजना निर्माणमा संग्लग्न पहिलो निर्माण कम्पनीको रुपमा एभरेष्ट निर्माण सेवा कम्पनी सम्मानित भएको छ ।
कार्यक्रममा ऊर्जा क्षेत्रका विशिष्ट व्यक्तिहरुलाई इप्पान विशेष सम्मानले सम्मान गरिएको छ । ‘इप्पान डे’को अवसरमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ, उर्जा मन्त्री बस्नेत र इप्पानका अध्यक्ष कार्कीले विभिन्न व्यक्ति तथा संस्थालाई संयुक्त रुपमा सम्मान गरेका हुन् । इप्पान विशेष सम्मानबाट सम्मानित हुनेमा उर्जा मन्त्रालयका सहसचिवद्वय नविनराज सिंह र सन्दीप कुमार देव, विद्युत विकास विभागका महानिर्देशक चिरन्जीवी चटौत र नेपाल विद्युत प्राधिकरणका पूर्व उप कार्यकारी निर्देशक प्रवल अधिकारी रहेका छन् । त्यस्तै वरिष्ठ ऊर्जा पत्रकारिता सम्मानबाट जलसरोकार डटकमका प्रधान सम्पादक विकास थापालाई सम्मान गरिएको छ । त्यस्तै १ मेगावाट भन्दा ठूलो निजी क्षेत्रको पहिलो आयोजनाका रुपमा २०५८ साल माघ १० गते सम्पन्न भएको नेशनल हाईड्रोपावर कम्पनीलाई सम्मान गरिएको छ । कम्पनीले ७।५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । नेशनल हाईड्रोपावरका संस्थापक अध्यक्ष जीतबहादुर श्रेष्ठ र वर्तमान अध्यक्ष कुमार पाण्डेलाई सम्मान गरिएको हो । कार्यक्रमममा १ मेगावाट भन्दा सानो पहिलो जलविद्युत आयोजनाका रुपमा १८३ किलोवाटको स्याङ्गे साना जलविद्युत आयोजनालाई सम्मान गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *