गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री प्रचण्ड

हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम नहुँदा राज्यमाथि अतिरिक्त दायित्व थपिँदै गएको बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घको २५औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले निर्माण व्यवसायीले सम्झौताबमोजिम काम नगर्दा योजनाका काम समयमै सम्पन्न नभएको उल्लेख गरे । “राज्यको सीमा र कमजोरीका कारण व्यवसायीले भोग्नुपरेका अप्ठ्यारा तथा कठिनाइप्रति सरकार गम्भीर छ”, प्रधानमन्त्री दाहालले भने, “तर निर्माण व्यवसायीले सम्झौताबमोजिम काम नगर्दा आयोजनाको काम समयमै सम्पन्न नभएको, सम्झौताअनुरूप गुणस्तरीय काम नभएको, निर्माणको अवधि लम्बिँदा राज्यको अतिरिक्त दायित्व थपिनेजस्ता समस्या पनि गम्भीर छन् ।” रणनीतिक महत्वका आयोजना ओझेलमा पर्ने, अनावश्यक योजना थपिँदै जाने, राज्यको दायित्व बढ्दै जाने र खास गुणात्मक प्रतिफल नदिने बेथितिको दुष्चक्रबाट मुक्त हुनेगरी काम गर्न आफूले अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग र सम्बन्धित मन्त्रालयलाई निर्देशित गरिसकेको उनले बताए ।

पूर्वाधार विकासका दृष्टिले हाम्रा कतिपय ऐन कानुनहरू बाधक देखिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पर्यावरणको रक्षाप्रति सचेत रहँदै प्रचलित कानुनहरूलाई विकासमैत्री बनाउँदै लगिने बताए।

‘वन ऐन लगायतका महत्त्वपूर्ण ऐनहरू संशोधन गर्ने प्रक्रिया प्रारम्भ भएको छ,’ उनले भने, ‘यसले निर्माण उद्योगका लागि अत्यावश्यक नदीजन्य तथा खानीजन्य सामग्रीलाई सर्वसुलभ रूपमा उपलब्ध गराउन राम्रो वातावरण बन्नेछ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *