देशलाई अपराधीको स्वर्ग बनाउने षड्यन्त्र

व्यवसायी रामहरि श्रेष्ठ हत्या प्रकरणका मुख्य अभियुक्त कालीबहादुर खामलाई प्रहरीले राजधानीबाटै प्रकाउ गरेको छ । पन्ध्र बर्षअघि कोटेश्वरको आफ्नो घरबाट अपहरण गरी चितवन शक्तिखोरमा रहेको लडाकु शिविरमा अमानवीय यातना दिएर श्रेष्ठको हत्या गरिएको थियो । माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका खाम सो पार्टीको सुरक्षा विभागका उपप्रमुख हुन् । कर्तव्य ज्यान, हातहतियार खरखजना , डाका , चोरी , सरकारी छाप र दस्तखत किर्ते समेत आधा दर्जन फौजदारी अभियोग लागेका खाम पन्ध्रबर्षदेखि प्रहरीको फरार सुचीमा रहेका अभियुक्त हुन् । उनीमाथि लागेका कुनै पनि अभियोग द्धन्द्ध कालका होइनन् । माओवादीभित्र द्धन्द्ध व्यवस्थापनपछि खाम जस्ता अपराध कर्ममा संलग्न हजारौँ कार्यकर्ता छन् । तिनलाई पार्टीको महत्वपुर्ण जिम्मेवारी समेत दिइएको छ । कतिपयलाई त राज्यको जिम्मेवारी निकायमा समेत जोडेर जिम्मेवारी दिइएको छ ।

द्वन्द्वकालका जघन्य अपराघमा संलग्नहरुलाई त अहिले पुर्णरुपले उन्मुक्ति नै दिइएको छ । शिक्षक मुक्तिनाथ अधिकारीको हत्या , चितवनको वाँदरमुँडे र भण्डारा,दोेलखा खरिढंगा र लालवन्दी गुडिरहेका गाडीमा विष्फोट गराउने , पुलिस र सेनाका परिवारमाथि आक्रमण गर्ने , खाना खाइरहेका , सुतिरहेका , घाँस दाउरा गएकाहरुमाथि अमानवीय ढंगले यातना दिने र हत्या गर्ने जस्ता घटनाका दोषी आज राज्यसत्ताको महत्वपुर्ण जिम्मेवारीमा छन् । स्वयम प्रचण्ड, बावुराम नै तिनका रक्षक बनेका छन् । शान्तिप्रकृया शुरु भएपछि माओवादीको संरक्षणमा अपराध गर्नेहरुमाथि त कुनै कानुनी कारवाही नै भएको थिएन । दिनदहाडै खुलेआम भएको रामहरि हत्याकाण्डका मुख्य अभियुक्त नै राजधानीमा खुलेआम घुमिरहेका थिए । पटक पटक सरकारको नेतृत्व गरेको माओवादी केन्द्रको केन्द्रीय सदस्य र सुरक्षा विभाग उपप्रमुख भएर काम गरिरहेका खामलाई पन्ध्र बर्षसम्म प्रहरीले नपक्डनु भनेको यात नेपाल प्रहरी निकम्मा छ भन्ने हो या अपराधीलाई प्राप्त हुने राजनीतिक संरक्षणका कारण मुलुक कानुनविहीन अवस्थामा पुगेको छ भन्ने संदेन्श प्रवाह गर्नु हो । माओवादीमा मात्र होइन फौजदारी कानुन अनुसार कारवाही गर्नुपर्ने तर राजनीतिक संरक्षणप्राप्त गर्नेहरु नेपाली कांग्रेस , नेकपा (एमाले) , राप्रपा , जसपा , लोसपामा समेत थुप्रै छन ।

झन अपराधीको झुण्डमा गनिएको राष्ट्रिय स्वतन्त्र पार्टीको त मुल नेतृत्व नै अपराधकर्मका ठेकेदार बनेका छन् । दर्जनौँ मुद्धा खेपेर पनि उनी पानीमाथि ओभानो बन्ने कोशिस गरिरहेका छन । गृहमन्त्री बनेपछि कानुनको दृष्टिमा परिदैन भन्ने विश्वासका साथ उनी एमाले र माओवादीको सहारामा वैतरनी तर्ने ताकमा छन । स्वयम गृहमन्त्री र उनको पार्टीका धेरैजसो नेता नै अपराधिक पृष्ठभुमिका भएपछि त अपराधीहरुलाई स्वत: संरक्षण मिल्ने नै भयो । अहिले सांसद , मन्त्री , जनप्रतिनिधि र धेरैजसो राजनीतिक दलका नेताहरुलाई छानवीनको दायरामा ल्याउनु पर्ने अवस्था छ । तर प्रधानमन्त्री र पुर्वप्रधानमन्त्रीहरु नै निहित स्वार्थपुर्तिकालागि त्यस्ता अभियुक्तलाई उन्मुक्ति दिन न्वरानादेखिको बल लगाइरहेका छन । छानवीन गरी कारवाही गर्न पर्नेलाई निर्दाेष छ भन्दै बचाव गरिरहेका छन । यसले सुशासन र कानुनी राजको अवस्था थप संकटमा पर्ने निश्चित छ । अपराधीको स्वर्गको रुपमा रहेको वर्तमान नेपालमा सोझा सिधा , इमान्दार र मेहनती नागरिकको दिनदिनै विचल्ली हुँदैछ । ठग , तस्कर कालाबजारिया , ज्यानमारा र बलात्कारीहरुको वकालत गर्ने (कथित अभियान्ता) र युटुवे जमातिले गर्दा पनि अन्योल थप बढेको छ । यस्तो स्थिति अरु केही काल लम्वियो भने देश नै नरहने खतरा बढन सक्छ । त्यसैले इमान्दार जनपे्रमी र राष्ट्रप्रेमीहरु जाग्नुपर्ने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *