सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनामा बिपी कोइराला क्यान्सर अस्पताल

नारायणगढ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सातै प्रदेशमा सेवा विस्तार गर्ने जनाएको छ । अस्पतालले सात प्रदेशमा क्यान्सर रोकथाम र नियन्त्रण तालिम, स्क्रिनिङ तथा बहिरङग सेवा विस्तार गर्ने योजना बनाएको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा आउने बिरामीको चाप कम गर्न र बिरामीलाई उच्चस्तरको सेवा प्रदान गर्नका लागि सेवा विस्तार गर्न लागेको जानकारी दिए । उनले भने, ‘अस्पतालको शल्यक्रिया सेवामा स्तरोन्नति गरी थप प्रविधिमैत्री बनाइ सेवा प्रदान गर्ने योजनामा हामी लागेका छौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवको अस्पताल निरीक्षणका क्रममा अस्पतालका भावी योजनाबारे जानकारी गराइएको उनले बताए ।

त्यसैगरी अस्पतालको प्याथोलोजी सेवामा मोलिक्यूलर प्रयोगशाला पूर्णरुपमा सञ्चालन गरिने, रेडियसन सेवामा थप अत्याधुनिक मेसिन जडान गरिने उनले जानकारी दिए । न्यूक्लियर मेडिसिनतर्फ राष्ट्रिय गौरवको रुपमा रहेको साइक्लोट्रोनसहितको पेट सिटी स्क्यान सेवा स्थापना गरी उक्त सेवाका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्नेतर्फ अस्पताल लागेको उनको भनाइ छ । उनले थपे, ‘हामीले अस्पताललाई क्यान्सर उपचारमा सबै सेवायुक्त बनाउने योजनामा लागेका छौँ । रक्त क्यान्सरको उपचारमा महत्वपूर्ण मानिने बोनम्यारो प्रत्यारोपण सेवाको स्थापना गर्नका लागि चिनियाँ सरकारको अनुदानमा काम अघि बढेको छ । अस्पतालबाटै दक्षजनशक्ति उत्पादन गर्नका लागि शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्ने प्रक्रियामा रहेको पनि उहाँको भनाइ छ । यहाँ उपचारका लागि छिमेकी देशबाटसमेत बिरामी आउने गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *