निद्राबाट व्युँझ सरकार !

मुलुक वेथिती, भ्रष्टाचार र अनियमितताको चक्रव्युहमा फसेको बेला राजधानी काठमाण्डौँ उपत्यकासमेत प्रमुख शहरहरु डरलाग्दो वातावरण प्रदुषणको शिकार बनेका छन् । राजनीतिक खिचलो र संसदलाई यसको सम्बन्धमा खासै चासो देखिदैन । मानव जीवनमाथि गंभीर संकट खडा गरेको यो प्रदुषित हावालाई नियन्त्रण गर्ने प्रविधि नभए पनि यसबाट बचाउन सरकारले सशक्त कदम चाल्न सक्छ । स्कुल कलेज बिदा गर्ने , अत्यावश्यक सेवा वाहेकका सरकारी कार्यालय बन्द गरी दिउँसो मानिसहरुलाई घरबाहिर ननिस्कन सुझाउने र सार्वजनिक स्थानमा फोहोर जलाउन रोक्ने काम गर्न सक्छ । तर अन्तराष्ट्रिय रुपमै चर्चित भएको यो खतरनाक प्रदुषणको बारेमा हाम्रो सरकार र संसदले थाहै नभए जस्तो देखिन्छ ।

उपत्यकाका दुईटा महानगरपालिका र नगरपालिकाहरुलाई समेत मानव स्वास्थ्यमाथि घातक असर गर्ने यो प्रदुषणको सम्बन्धमा जानकारी नै नभए जस्तो देखिन्छ । विश्वका सर्वाधिक अस्वस्थकर वायुको बहाव हुने शहरहरुमा काठमाण्डौँ उपत्यका पहिलो स्थानमा देखिएको छ । त्यसपछि मात्र पाकिस्तानको लाहोर र भारतको नयाँदिल्ली परेका छन् । विश्वको वायुप्रदुषणको अवस्थाको रियल टाइममा मापन गर्ने स्वीट्जरल्याण्डको आइक्यु एयरका अनुसार हिजो बिहान आठ बजे काठमाण्डौँ उपत्यकाको वायुप्रदुषण संसारकै पहिलो सुचीमा छ । आइक्यु एयरका अनुसार काठमाण्डौँको एयर क्वालिटि इन्डेक्स र (एक्युआई) २४१ छ । जबकि सोही समयमा पाकिस्तानको लाहोरको २०६ र भारतको नयाँ दिल्लीको २०४ एक्युआई छ । २०० भन्दामाथि एक्युआई हुनु भनेको डरलाग्दो अवस्था हो । त्यसले मानव स्वास्थ्यमाथि अत्यन्तै घातक असर गर्छ । राजधानीका सवारीसाधनले उत्प्रर्जन गर्ने प्रदुषित धुवाँ , जताततै सडक र खाली चौरहरुमा पाल्टी तथा अन्य फोहोर जलाउने, राजधानी वरीपरी र देशैभरि भएका बनजंगलमा आगलागीका घटना र महिनौदेखि ठुलो वर्षा र हावाहुरी नचल्नुले प्रदुषण बढाउनमा मुख्य भुमिका खेलेका छन ।

राजधानीमा भएको डोजर आतंकका कारण जताततै सडक भत्काउने गर्दा उडेको धुलोले आकाश ढाक्ने त्यसले बाक्लो भित्र राजधानी शहरनै हराउने स्थितिमा पुग्नुले यो अवस्था उत्पन्न भएको हो । यस वेला जनप्रतिनिधि , वातावरण विद , वौद्धिक जमात र मिडियाकर्मीले प्रभावकारी भुमिका खेलेर स्वस्थ्य संकटमा परेकाहरुलाई राहात प्रदान गर्न सक्नुपर्ने हो तर स्थानीय सरकार , जनप्रतिनीधि , प्रदेश र संघीय सरकार , वातावरण मन्त्रालय वातावरण सम्बन्धि काम गर्ने संघसंस्था र अभियान्ताहरु हराए जस्तै भएका छन् । त्यसले राजधानीमा मानवीय स्वास्थ्यको जोखिम डरलाग्दो अवस्थामा पुगेको छ । जनतालाई समयमै सचेत गराउने र सम्बन्धित निकायले प्रभावकारी कदम नउठाउने हो भने भयङकर दुस्परिणाम निस्कन सक्छ । बेलैमा ध्यान देउँ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *