सरकारले कृषि बीमाको अनुदान नदिएसम्म दावी भुक्तानी गर्न सक्दैनौं ः बीमक संघ

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले कम्पनीहरुले नेपाल सरकारबाट कृषि बीमाको अनुदान रकम नपाएसम्म दावी भुक्तानी गर्न नसक्ने बताएका छन् । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले सरकारबाट रकम नपाएसम्म कृषि बीमा गर्ने बीमितहरुलाई दावी भुक्तानी गर्न नसक्ने बताएको हो । कम्पनीहरुमा नगद प्रवाहको अभाव भएकोले दावी भुक्तानी गर्न सहज नभएको कम्पनीहरुको गुनासो छ । गत बैशाख १० गते बसेको संघको पूर्ण बैठकमा भएको निर्णयअनुसार विज्ञप्ति जारी गर्दै संघले कम्पनीहरुले नेपाल सरकारले भूक्तानी गर्नु पर्ने अनुदान रकम यथाशक्य उपलब्ध गराउन अनुरोध गरेको छ । ‘नेपाल सरकारले भूक्तानी गर्नु पर्ने अनुदान रकम यथाशक्य उपलब्ध गराउन यसै प्रेस विज्ञप्ती मार्फत अनुरोध गर्दछौं अन्यथा नगद प्रवाहको अभावमा बीमकहरुलाई दावी भूक्तानी गर्न असहजता हुने व्यहोरा सम्पूर्ण सरोकारवाला निकायलाई जानकारी गराउँदछौं,’ संघमार्फत जारी विज्ञप्तिमा भनिएको छ( ‘यसबाट कृषि बीमा गर्ने बीमितहरु तथा दावीकर्तामा पर्न जाने असरप्रति क्षमाप्रार्थी छौं ।

सरकारले कृषि बीमाशुल्कमा तोकेको अनुदान रकम बीमा कम्पनीहरुलाई दिन हालसम्म करिब दुई अर्ब रुपैयाँ बाँकी रहेको छ । उक्त अनुदान रकम उपलब्ध गराउन सरकार कृषि तथा पशुपंछि मन्त्रालय, कृषि विभाग र नेपाल बीमा प्राधिकरणलाई पटक पटक मौखिक तथा लिखित अनुरोध गर्दा समेत हालसम्म प्राप्त नभएको कारणले बीमा कम्पनीहरु अत्यधिक जोखिममा रहेका संघले जानकारी गराएको छ । साथै, कृषि बीमाको एकातर्फ अनुदान प्राप्त नहुने र अर्को तर्फ दावीको भूक्तानी तत्काल गर्नु पर्ने परिस्थितिका कारण बीमकहरुको नगद प्रवाहमा समस्या भएको कम्पनीहरुको गुनासो छ । कृषि बीमा सम्बन्धमा सरकारले मिति २०६९ साल देखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशुल्कमा क्रमशः अनुदान दिँदै आएको छ । विगत १० वर्षदेखि बीमा कम्पनीहरुले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशिका बमोजिम कृषि बीमालेख जारी गर्ने, क्षति हुँदा क्षतिको दावी भूक्तानी गर्ने तर सरकारले तोकेको अनुदान सामान्यतया १ वर्ष पछिमात्र पाएको कम्पनीहरु बताउँछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *