जनताको शासक होइन, सेवक बनेर काम गर्ने छु: कुश ढकाल

सधैं समाज सेवामा लागि पर्ने स्थापित नेता हुन् कुशकुमार ढकाल । काठमाडौमा जन्मिएका उनी काठमाडौं महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष उम्मेदवार हुन् । ढकाल यसअघि पनि वडा नं. २९ को वडा अध्यक्ष थिए । राजनीतिलाई सेवा भाव ठान्ने ढकाल इमानदार नेता र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । उनी जनप्रतिनिधिले पार्टीभन्दा माथि उठेर विसुद्ध सेवा भावले जनताको काम गर्नुपर्ने ठान्दछन् । आगामी ३० गते हुनलागेको स्थानीय निर्वाचनसँग केन्द्रित रहेर अध्यक्ष उम्मेदवार ढकालसँग सत्याग्रह साप्ताहिक र काठमान्डौन्युज डटकमका लागि कालिका महतले गरेको कुराकानीको सम्पादित अंश:

वडा अध्यक्ष नै किन दोहोरिएर उठ्नुभयो ?
दोहोरिनु मेरो रहर भन्दा पनि नेपाली कांग्रेस पार्टी र वडावासीको चाहना हो । हामीले यस वडामा विकास निर्माणका काम लगभग अघिल्लो कार्यकालमा सकेका छौं । हाम्रो पाँच वर्षे कार्यकालमा यस वडामा परेका योजना, आयोजना, विकास निर्माणका लगभग पूरा भइसकेको छ । अबको काम भनेको सुशासनको हो । त्यसको हरेक टोलमा सीसीक्यामेरा राख्ने योजना छ । त्यसपछि फोहोर व्यवस्थापनको कुरा छन् । त्यसको लागि फ्रीमा फोहोर उठाउने व्यवस्था गर्दैछौं । हामीले यसको उठान पहिला पनि गरेका थियौं । महानगरका मेयर एमालेका भएकाले सफल हुन पाएन । अब यसपालि काठमाडौं महानगरको मेयरसहित हामीले जित्दै छौं । नेपाली कांग्रेसको मेयर आइसकेपछि हरेक घरको फोहोर हामी फ्रीमा उठाउँछौं ।

महानगरमा सिर्जना सिंहसँगै वडामा कांग्रेसको जित भइसकेपछि काठमाडौंको मुहार फेरिन्छ हो ?
हो । अघिल्लो कार्यकालमा एमालेका विद्यासुन्दर शाक्य मेयर हुनुहुन्थ्यो । त्यसबेला एमालेले जितेका वडाबाहेक अन्यमा नियमित बाहेक थप काम हुन पाएनन् । अब सिर्जना सिंहको नेतृत्वमा हरेक वडामा कांग्रेसको जित भइसकेपछि काम गर्न सहज हुन्छ । त्यसपछि काठमाडौं महानगरपालिकालाई सुरक्षित, व्यवस्थित र हरियालीयुक्त बनाउने छौं । धुलो र हिलोरहित काठमाडौं बनाउने छौं । फोहोर व्यवस्थापनमा अहिले जसरी वडावासीले रकम तिर्नुभएको छ । त्यसलाई हामी नेतृत्वमा आइसकेपछि महानगरपालिकाले निःशुल्क रुपमा सेवा विस्तार गर्ने छ । शहरमा हरियाली बढाउने, ट्राफिक व्यवस्थापन गर्ने, शान्ति सुरक्षालाई चुस्तदुरुस्त बनाउनेलगायतका काम गर्ने छौं । खानेपानी र ढलनिकासलाई व्यवस्थित बनाउन विशेष पहल गर्ने छौं ।
यी त समसायिक कुरा भए, दोहोरिएर आइरहँदा तपाईंका नयाँ नारा के छन् त ?
म चुनाव आयोभन्दा नचाहिने, नहुने र असम्भव कुरालाई नारा बनाउँदिन । यहाँ वडा अध्यक्ष भएर गर्न बाँकी काम भनेको फ्री वाइफाइको कुरा त्यो म निर्वाचित भएर आएपछि पहिलो काम हुने छ । हरेक टोलमा सीसीक्यामेराको व्यवस्था गर्छु । बिजुली सबै ठाउँमा पुगेकै छ । त्यसलाई लोडसेडिङ मुक्त गराउने काम हो । यहाँको महत्वपूर्ण जनतालाई एकदमै समस्या भनेको फोहोर व्यवस्थापन हो । त्यसलाई वडाबाट फ्रीमा उठाने र रिसाइकिल गरेर वर्गीकरण गर्ने काम गर्दछौं । अहिले महानगरपालिकाले फोहोर घरमै व्यवस्थापन गर्ने ढ्वाङको व्यवस्था गरेको छ । त्यसमा आफ्नो घरको फोहोर आपैm मल बनाउने । त्यो मल पनि महानगरपालिकाले किनिदिने । जुन मल बनाउन मिल्दैन त्यो थोरै हुन्छ । जुन प्लास्टिकजन्य पदार्थ हुन्छ त्यसलाई पनि महानगरपालिकाले किनिदिने व्यवस्था मिलाइने छ ।

पार्टीबाट सर्वसम्मत टिकट पाउनुभयो कि रस्साकस्सी भयो ?
सर्वसम्मत ढंगले पाएको होइन । मसँगै टिकटको लागि ८÷९ जना आकांक्षी हुनुहुन्थ्यो । पार्टीले मलाई विश्वास गरेर दियो । मसँग टिकटको प्रतिपर्धी साथीहरु मलाई पार्टीले दिकट दिएपछि घरदैलो कार्यक्रममा एकजुट भएर लाग्नुभएको छ । त्यो हिड्नुपनि पर्छ किन भने म मात्रै चुनाव लडेको होइन । नेपाली कांग्रेस पार्टी लडेको हो । पहिला अकांक्षा राख्नु स्वाभाविक हो । मैले टिकट पाइसकेपछि उहाँहरुको राम्रो साथ, सहयोग र समर्थन मिलेको छ । सबै चुनाव प्रचार अभियानमा सहभागी भएका छौं ।

सिंहदरबार जोडिएको वडालाई त नमुना वडा बनाउनु पर्यो नि के छ योजना ?
झन्डै १६ वर्ष हाराहारी जनप्रतिनिधि बिहीन भएको स्थानीय तहमा हामी वडा अध्यक्ष भएर आएका थियौं । त्यो बीचमा कर्मचारीहरुले वडा कार्यालयलाई जंगली पाराको बनाइसकेका थिए । त्यसलाई हामी आएर वडा कार्यालय जस्तो बनायौं । अहिले विस्तारै सुधार गर्दैछौं । अब आगामी नयाँ कार्यकालमा सबै कुरा पारदर्शी बनाएर जाने छौं । वडा कार्यालयलाई जनतामैत्री बनाएर अगाडि बढ्ने छौं ।

स्थानीय तहहरु भ्रष्टचारी भए भन्ने आरोप छ नि के भन्नुहुन्छ ?
मेरो वडामा त्यस्तो केही भएन । कुनै विकास योजनामा विवाद भएन । कतिपय ठाउँमा त्यस्ता गुनासाहरु आएका छन् । कागजी फाइल सिस्टमले गर्दा केही अनियमितता भएको हो । यो सिस्टमलाई विस्टारै विस्थापित गरेर सबै काम इन्टरनेशको माध्यमबाट हुनुपर्छ । हामी विजयी भएर आइसकेपछि अब कागजी फाइलको स्टिमै हडाउने योजनामा छौं । त्यो भएपछि सबै जनताका कामहरु इन्टरनेटको माध्यमबाट हुन्छ । त्यसपछि अनियमितता भन्ने कुराको कल्पना पनि गर्दसकिँदैन । कागजी फाइलको कारण भ्रष्टाचार बढेको हो । त्यसलाई हटाउने हो भने धेरै अनियमितता घट्छ ।

इन्टरनेट सेवाबाट कार्यसम्पादन गर्ने त पहिलादेखि भन्नुभएको नि अहिलेसम्म लागु भएको छैन ?
वडाले मात्रै नमिल्ने तत्कालीन मेयर विद्यासुन्दर शाक्यलाई भनेको उहाँले मान्नु भएन । अब आउने मेयरले गर्नुहुन्छ । त्यसको प्रस्ताव हामी लान्छौं । मेयरले कार्यान्वयन गर्नुहुन्छ । अब नेपाली कांग्रेसबाट नेतृत्व गरेर सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयर जित्नुहुन्छ । त्यसपछि हामीले चिताएको र ताकेको काम गर्न सकैले रोक्न सक्दैन । पहिलाका मेयरले हामीले गर्न खोजेका कामहरु धेरै रोकिदिनुभएको थियो । अब त्यो समस्याबाट मुक्त हुन्छौं ।

कांग्रेसले विकासका काम गर्दैन भन्ने आरोप छ नि तपाईंहरुले कसरी राम्रो काम गरेको बताउनुभयो ?
चुनावका बेला त्यस्ता आरोपहरु आइरहन्छ । तर, यो देशमा जति पनि दीर्घकाली विकास योजनाका काम भएका छन् ती सबै नेपाली कांग्रेसको अगुवाइमा भएको छ । त्यसको उदाहरण कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टले मेलम्चीको पानी काठमाडौं ल्याउने भन्दा सबैले हासोमा उडाएका थिए अहिले त्यो पानी काठमाडौं आइसकेको छ । भट्टराईको पालामा सुरु भएका पानी आज उपत्यकावासीको भान्सामा आइपुगेको छ । त्यस्तै काठमाडौंका भित्री सडकमा ट्राफिक जाम भयो । शहर अस्तव्यस्त भयो भनेर नेपाली कांग्रेसका नेता पीएल सिंह काठमाडौंको मेयर हुँदा बागमती, विष्णुमतिलगायतका सहायक नदीमा करिडोर बनाउने योजना ल्याउनुभयो । त्यो काम गर्ने क्रममा बीचमा अनेक आरोहअबरोह आए । तर, राम्रो थालनी थियो त्यसैले आज सम्पन्न भएको छ । खुल्ला सडक, नदी छेउछाउमा हरियाली बनेको छ । त्यसैले उपत्यकाभित्रका नदीकिनारामा करिडोरको व्यवस्था कांग्रेस नेता पीएल सिंहको पालामा थालनी भएको हो ।

काठमाडौंमा ढलका समस्या ज्यूकात्यूँ रहे यसलाई कसरी व्यवस्थित बनाउने ?
काठमाडौंमा ढल व्यवस्थापनमा ठूलो चुनौति छ । हिजो कुनै मास्टर प्लानबिना बनाइकाले यस्तो अवस्था सिर्जना भएको हो । त्यो समस्या २९ नम्बर वडामा मात्रै नभएर सम्पूर्ण महानगरमै छ । अब हामी निर्वाचित भएर आइसकेपछि दीर्घकालीन ढल व्यवस्थापनको लागि जोडतोडले लागिपर्ने छौं ।

जनतामैत्री प्रतिनिधि भएनन् भन्ने गुनासो छ नि कसरी आस्वस्त पार्नुहुन्छ ?
त्यसको लागि महानगरपालिकाले पोलिसी बनाउनुपर्छ । अनि हरेक वडा कार्यालयमा लागु गर्नुपर्छ । एउटा वडाले मात्रै गरेर हुँदैन । त्यसकारण पनि महानगरसहित हामीले जित्न जरुरी छ । त्यसमा सबै नागरिकले सहयोग गर्नुपर्छ । त्यसपछि हामीले नागरिकको इच्छा, आकांक्षा र चाहनाअनुसारको सेवा दिन सक्षम हुन्छौं । महानगर एउटा वडा अर्कै पार्टीको भयो भने पनि विकास निर्माणमा हानथाप भएर वाधा उत्पन्न हुन्छ । त्यो काम अहिले जनताको हातमा छ उहाँहरुले चुनावमा विचार पु¥याएर मतदान गर्नुभयो भने समस्या समाधान हुन्छ । म दोहोरिएर त्यत्तिकै आएको छैन केही न केही नयाँ काम गर्ने र यो वडालगायत काठमाडौं महानगरलाई विश्वकै नमुना शहर बनाउने प्रतिबद्धताका साथ आएको छु ।

विगत पाँच वर्षमा तपाईंलाई यी काम गर्न कसले रोक्यो ?
मैले पहिला पनि भनिसकेको छु । त्यसबेला महानगरको मेयर विद्यासुन्दर शाक्य एमालेबाट विजयी भएर आउनुभएको थियो । त्यसकारण नियमित बाहेकका काम हुन सकेनन् । अर्को कोभिडका कारण पनि झन्डै साढे दुई वर्ष विकास निर्माणहरु ठप्प रहे । टुलटुलेबाहेक काम हुन पाएन । तेस्रो संघीयता आइसकेपछि पहिलो कार्यकाल भएकाले स्थानीय कानुन बन्नै एक÷डेढ वर्ष लाग्यो । अबको कार्यसमितिलाई काम गर्न सजिलो भएको छ । विजयी भएर आएको भोलिपल्टबाट काम शुरु हुन्छ । निर्माणका काम सकिएका छन् । अब त्यसलाई व्यवस्थित ढंगले अगाडि बढाउने मात्रै हो । त्यसकारण जनताको इच्छा, आकांक्षा र चाहना अनुसार काम गरेर नमुना वडा बनाउन सक्छौं । त्यसको लागि अहोरात्र लागिपर्ने छु । कुश ढकाल तपाईंहरुको शासक होइन सेवक भएर काम गर्न दोहोरिएर वडा अध्यक्ष उठेको हो । अहिले तपाईंहरुले सहयोग गरेर मलाई काम गर्ने मौका दिनुहोस् । चुनाव जितेर आइसकेपछि पाँच वर्ष तपाईंहरुको सेवाक बनेर म काम गर्छु । आफ्नै वडा कार्यालय भबन बनाउने योजना छ । त्यो भवनबाट तपाईंहरुको कार्यसम्पादन हुने छ । त्यसको लागि सम्पूर्ण वडावासीसँग प्रतिवद्धता गर्न चाहन्छु ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *