ज्येष्ठ नागरिकको सहारा बन्दै सेवा केन्द्र

सुदूरपश्चिम । ज्येष्ठ नागरिक लालबहादुर ओली घरमा एक्लोपन महसुस हुनथालेपछि धनगढीस्थित श्री जानकीयज्ञ ज्येष्ठ नागरिक दिवासेवा केन्द्रमा पुगेर भजनकीर्तनमा रमाइरहनुहुन्छ । सेवाकेन्द्रमा आयोजना हुने भजनकीर्तन, प्रवचन र देउडा गीतमा रमाउन ९४ वर्षीय उहाँसहितका वृद्धवृद्धा पुग्नुहुन्छ । उहाँले भन्नुभयो, “दैनिक दिवासेवा केन्द्रमा पुगेर गीत र भजन सुन्न पाउँदा रमाइलो लाग्छ, आफ्नै उमेरका नागरिकसँग भलाकुसारी पनि गर्न पाइन्छ ।” पचास वर्षअघि श्रीमतीको निधन भएर एक्लोपन महसुस गर्नुभएका उहाँका घरमा छोराबुहारी, नातिनातिना हुनुहुन्छ ।

त्रीयासी वर्षीय भूमिनन्दन जोशी पनि दिउँसोको समयमा दिवासेवा केन्द्रमा पुग्नुहुन्छ । “भजनकीर्तन र देउडा लगायतका गीत सङ्गीतको धुन बज्दा उत्साह र उमङ्ग थपिन्छ”, उहाँले भन्नुभयो, “आफ्नो दिनको सहारा नै यो सेवाकेन्द्र बनेको छ ।” धनगढीकै ८२ वर्षीया चन्द्रा रोस्यारा सेवाकेन्द्रमा भइरहने गतिविधिले मनमा शान्ति हुने गरेको अनुभव सुनाउनुहुन्छ ।

उहाँले भन्नुभयो, “जीवन ठिकै चलेको छ, घरमा पनि सबैले स्याहार र माया गरिरहन्छन् ।” दिवासेवा केन्द्रमा दैनिक कम्तीमा आठ÷दश जना र बढीमा २५ जनासम्म ज्येष्ठ नागरिक पुग्ने गरेको बताइएको छ । हारमुनियम, तबला, खैँजडी, मिजरा, मादलको धुनमा भजनकीर्तन गाउँदा सहभागी ज्येष्ठ नागरिकमा उत्साह र उमङ्ग थपिने गरेको देखिन्छ ।

त्यसक्रममा उहाँहरुले जीवनमा भोगेका सुखदुःखका घटनाका बारेमा आपसमा भलाकुसारी पनि गर्नुुहुन्छ । धनगढी उपमहानगरपालिका–२ को पुरानो भन्सार रोडछेउको श्री रामजानकी मन्दिर परिसरको एक भवनमा सञ्चालनमा रहेको उक्त सेवा केन्द्रले वृद्धवृद्धाका लागि दिउँसोको समयमा भजनकीर्तनसहितको गीतसङ्गीतको व्यवस्थापन गरेर मनोरञ्जन दिँदै आएको हो । भेला हुने ज्येष्ठ नागरिकका लागि खाजा र चियाको व्यवस्था गरिएको हुन्छ ।

सेवा केन्द्रमा व्यवस्थापनको जिम्मेवारीमा रहनुभएकी दुर्गादेवी महराले सेवा केन्द्रले दिइरहेको सेवाबाट ज्येष्ठ नागरिकका अलावा आफूलाई पनि सन्तुष्टि भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “खाजा र चियाको व्यवस्थापसँगै मनोरञ्जन दिने व्यवस्थाले बुढेसकालमा उहाँहरुलाई राम्रै भएको छ ।” घरमा अभाव, असुरक्षा र एक्लोपनमा बाँचिरहेका कतिपय ज्येष्ठ नागरिकले उचित माया र सहारा नपाउँदा वृद्धाश्रममा बस्नुपर्ने बाध्यता देखिन्छ ।

वयस्क उमेरमा जस्तो बुढेसकालमा खानेलाउने र बाँच्ने तरिका पनि फेरबदल आउने गर्दा ज्येष्ठ नागरिकलाई माया र साहारा निरन्तर चाहिन्छ । कतिपय घरपरिवारबाट उचित व्यवहार र माया नपाउँदा जीवनको उत्तरार्धमा वृद्धवृद्धा पीडित हुने गरेका घटना सुनिन्छन् । वृद्धवृद्धालाई दिउँसोको सयम बिताउन पाउने उचित ठाउँको अभाव महसुस हुँदा समाजसेवी रमणचन्द्र श्रेष्ठसहितको पहलमा विसं २०७१ मा श्री जानकी ज्येष्ठ नागरिक दिवासेवा केन्द्र स्थापनाको योजना बनेको थियो ।

“महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सुरुको अवस्थामा ज्येष्ठ नागरिक शीर्षकमा रु दुई लाख बजेट प्राप्त हुँदा प्रारम्भिक काम सुरु गर्यौ”, केन्द्रका संरक्षकसमेत रहनुभएका श्रेष्ठले भन्नुभयो, “पछि स्थानीय समाजसेवी ईश्वरमान श्रेष्ठ, श्रीमान् श्रेष्ठ, त्रैलोक्यमान श्रेष्ठ र सुवर्णमान श्रेष्ठसहितका सहोदर दाजुभाइले आप्mना स्वर्गीय आमाबुबाको स्मृतिमा यो भवन निर्माणलाई पूर्णता गरिदिनुभयो ।”

दुई तले दिवासेवा केन्द्र भवनको पहिलो तल्लामा भजनकीर्तन र प्रवचनका कार्यक्रम भइरहन्छन् । दोस्रोे तल्लामा धार्मिक पुस्तकालय सञ्चालन गरिएको छ । भवन निर्माणमा प्रदेशसभाका सदस्य डिल्लीराज पन्त र उपमहानगरपालिका कार्यालयबाट पनि सहयोग प्राप्त भएको संरक्षक श्रेष्ठले बताउनुभयो ।

ज्येष्ठ नागरिक सङ्घ कैलालीका पूर्वअध्यक्ष दिव्यप्रसाद पन्तले समाजका पथप्रर्दशक ज्येष्ठ नागरिकलाई आफू एक्लिएको अनुभव र मानसिक चिन्ता महसुस हुन नदिनका लागि दिवासेवा सञ्चालनमा सङ्घले पनि सक्दो सहयोग पु¥याइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “घरमा छोराबुहारी, नातिनतिना, छाडेर एकान्त ठाउँ ९वृद्धाश्रम०मा बस्नु पर्दा धेरै ज्येष्ठ नागरिकमा मानसिक पीडा र चिन्ता हुनेगरेको स्थलगत अध्ययनका क्रममा देखिएकोले अब यसको विकल्प खोज्नुपर्ने देखिएको छ ।” उक्त केन्द्रले वृद्धवृद्धालाई पटपटक तीर्थाटनमा समेत लैजाने गरेको छ । यसबाहेक बत्ती कात्ने, जनै बनाउने, कामका साथै च्याउ, प्याज, फलफूलका बेर्ना बनाउने तालिमसमेत दिने गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *