हात्तीको आक्रमण बढ्दैछ, रोक्ने उपाय के ?

काठमाडौँ । जङ्गली हात्तीको आक्रमणबाट नेपालमा वर्षेनी नागरिकको ज्यान जाने क्रम बढेको छ । यही भदौ १३ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट १८ वर्षीया मीना जोशीको ज्यान गयो । घरनजिकै हात्ती देखेपछि भाग्ने क्रममा बाँसको झाडीमा हात्तीले जोशीलाई आक्रमण गरेको थियो । वर्षेनी जङ्गली हात्तीको आक्रमणबाट नागरिकको अकालमै ज्यान गएको भए पनि मानवीय क्षति न्यूनीकरण गर्नका लागि हात्ती नियन्त्रणको उपाय नखोजिएको हात्ती पीडितको आरोप छ ।

संरक्षित क्षेत्र (निकुञ्ज–आरक्ष) र नजिकको बस्ती क्षेत्रमा हात्तीको आक्रमणबाट पछिल्लो १७ वर्षमा कम्तीमा दुई सयको मृत्यु भएको पाइएको छ । निकुञ्ज–आरक्ष रहेकोभन्दा बाहिरका जिल्लामा हात्तीको आक्रमणबाट धेरै मानिसको मृत्यु हुने गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विभागका अनुसार हालसम्म झापामा मात्रै ३७ को मृत्यु भएको छ । यसैगरी बर्दियामा ३५, चितवनमा २०, सप्तरी र बारामा १३–१३, सर्लाहीमा १२, पर्सामा ११, सुनसरी र उदयपुरमा नौ÷नौ धनुषा र सिन्धुलीमा आठ/आठ मोरङमा सात, सर्लाही र रौतहटमा छ÷छ, मकवानपुरमा तीन र कञ्चनपुरमा यही भदौ १३ गते एकको ज्यान गएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डिलबहादुर पुर्जापुनका अनुसार पछिल्ला वर्षमा हात्ती, बाघ र गैँडालगायत वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । यसरी ज्यान गुमाउने व्यक्तिका परिवारलाई राहतस्वरुप रु १० लाख दिने नीतिगत व्यवस्था गरिएको भए पनि हात्ती नियन्त्रणको उपायमा भने ध्यान पुग्न सकेको छैन ।

घाइते हुने व्यक्तिहरका साथै बाली र घरगोठमा क्षति पुगेका परिवारलाई पनि १० देखि ३० हजारसम्म क्षतिपूर्तिको व्यवस्था गरिएको छ । मानवीय बस्तीमा पसेर पटक–पटक वितण्डा मच्चाएकामध्ये अहिलेसम्म विभिन्न स्थानमा आठ वटा हात्तीको घाँटीमा रेडियो कलर जडान गरेर सरकारले तिनीहरुको आउजाउ अनुगमन गरिरहेको सूचना अधिकारी पुर्जापुनले बताउनुभयो । हात्तीका लागि उपयुक्त बासस्थान पछिल्लो समय विभिन्न कारणले खण्डीकृत हुँदै गएको तथा हात्ती हिँड्ने बाटो (करिडोर) कृषिकर्म, सहरको विस्तारलगायतका कारण अतिक्रमणमा परेका कारण जङ्गली हात्ती मानवीय वस्तीमा पस्ने र बितण्डा मच्चाउने गरेको अनुमान गरिएको छ । सरकारले अघि बढाएको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, विद्युत् प्रसारण लाइन, सिँचाइ, सडक विस्तारलगायतले बासस्थान खल्बलिएपछि हात्तीको ओहोर–दोहोरमा समस्या आएको बिज्ञहरुको बुझाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *