रामपुरमा अव्यवस्थित जग्गादर्ता सुरु

काठमाडौँ । अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि पाल्पाको रामपुरमा जग्गादर्ता सुरु गरिएको छ । बिहीबारदेखि यहाँ सुरु भएको जग्गादर्तामा पहिलो दिन १७ जनाले जग्गादर्ता गराएका छन् ।

रामपुर नगरपालिका वडा नं ५, ६ र ७ का सात सय ८३ घरघडेरीको विवरण तयार भएको छ । हाललाई सो घरघडेरीको जग्गाधनी पुर्जा वितरणका लागि दर्ता अगाडि बढाइएको राष्ट्रिय भूमि आयोग जिल्ला समितिका सदस्य कृष्णप्रसाद अधिकारीले जानकारी दिए । “निर्वाचन आयोगले अहिले लालपुर्जा वितरणको काम तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ”, उनले भने, “निर्वाचनअगावै जग्गाधनी पुर्जा वितरण गर्न मिल्ने भएमा आउँदो असोज ३ गते संविधान दिवसका दिन वितरण गर्नेछौँ, नमिलेमा आन्तरिक गृहकार्य गरेर सबै विवरण तयार पारेर राख्ने र निर्वाचनपश्चात् वितरण गर्नेछौँ ।”

उनका अनुसार जग्गा दर्ताका लागि पुरानो गठन आदेशमा उल्लेख भएअनुसार मालपोत कार्यालयमा रजिष्टेशन प्रयोजनका लागि गरिने मूल्याङ्कनलाई आधार मानेर शुल्क तोकिएको छ । राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैंकमा रकम जम्मा गरेको भौचरको आधारमा श्रीमान् श्रीमती स्वयं उपस्थित भएर जग्गादर्ता गर्ने कार्य भएको छ ।

निर्वाचन आयोगले भने लालपुर्जा वितरणको काम तत्काल रोक्न उक्त आयोगलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा स्वच्छता र निष्पक्षताका लागि भन्दै आयोगले उक्त आयोग र मातहतका निकायबाट हुने लालपुर्जा वितरणको काम चुनाव नसकिएसम्म बन्द गर्न निर्देशन दिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्नेलगायत सम्पूर्ण कार्य तत्काल स्थगित गरी यथार्थ जानकारी दुई दिनभित्र उपलब्ध गराउन राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *