चाडपर्व लक्षित बजार अनुगमन तीव्र बनाउँदै सरकार


प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा दसैँ र तिहारको समयमा उपभोक्तालाई ठगिन नदिन भन्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । वाणिज्य विभागको नेतृत्वमा ६ वटा सरकारी निकायको संयुक्त १० वटा टोलीले दसैँ र तिहार लक्षित बजार अनुगमन गरिरहेको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए । उनले चाडपर्व लक्षित बजार अनुगमनमा वाणिज्य विभागले नेतृत्व गरिरहेको र यसमा स्थानीय तहको समेत सहभागिता रहेको जानकारी दिए । वाणिज्य विभागसँगै, पशु सेवा विभाग, यातायात व्यवस्था विभाग, औषधि व्यवस्था विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोली फिल्डमा खटिएको भट्टराईको भनाइ छ । यसबाहेक, वाणिज्य विभागको टोलीले दैनिक बजार अनुगमनसमेत गरिरहेको उनले बताए । ‘असोज २ गतेदेखि संयुक्तरूपमा बजार अनुगमन भइरहेको छ, उनले भने, ‘दैनिक ४५ देखि ५० वटासम्म फर्म अनुगमन भइरहेको छ । उनका अनुसार दसैँ र तिहारको समयमा उपभोक्तालाई ठगिन नदिनलाई सरकार लागिपरेको छ । विशेषगरी दसैँ र तिहारको समयमा व्यापारीहरूले कालोबजारी गर्ने, मूल्यवृद्धि गर्ने र उपभोक्तालाई विभिन्न बहानामा ठग्ने गर्छन् । प्रधानमन्त्री देउवाले यसअघि अनुगमनको अधिकार पाएका सबै सरकारी निकाय, उद्योग वाणिज्य महासंघ, साना तथा घरेलु उद्योग महासंघ, चेम्बर अफ कमर्स र उद्योग परिसंघका प्रतिनिधि बोलाएर बजारको ठगी रोक्न निर्देशन दिएका थिए । उक्त छलफलमा अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसमेत सहभागी थिए । खासगरी, हाल देशमा बजार अनुगमन गर्ने अधिकार पाएका ९२५ वटा निकाय छन् । ७५३ वटा स्थानीय तहलाई बजार अनुगमनको विशेषाधिकार दिइएको छ । यस्तै, प्रदेश सरकार अन्तर्गतका वाणिज्य विभाग, ७७ वटा जिल्ला प्रशासन कार्यालय, ७३ वटा इलाका प्रशासन कार्यालय र संघीय सरकार अन्तर्गतका ९ वटा विभाग छन् । तर पनि बजारमा उपभोक्ता ठगिने क्रम जारी छ ।
खासगरी, पर्याप्त निकाय भए पनि ती निकायसँग विज्ञ कर्मचारी नहुँदा बजार अनुगमन फिक्का बनिरहेको छ । यस्तै, बजार अनुगमन गर्ने यति धेरै निकायबीच आवश्यक समन्वय नहुँदासमेत समस्या भइरहेको छ । यसैगरी, असोज २ गतेबाट सुरू भएको दसैँ र तिहार लक्षित बजार अनुगमनका क्रममा ४२८ वटा फर्मको अनुगमन गरिएको उनले बताए । अनुगमनका क्रममा १२१ वटा फर्मलाई १८ लाख ५० हजार रुपैयाँ जरिबाना गरिएको समेत भट्टराईले जानकारी दिए । यस्तै, यस अवधिमा संयुक्त बजार अनुगमन टोलीले १ लाख ६९ हजार रुपैयाँ म्याद गुज्रेका वस्तु नष्ट गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *