कांग्रेसको भोट बाडिँदा काठमाडौं क्षेत्र नम्बर २ मा कुन्ती पोख्रेल बलियो उम्मेदवार

काठमाडौँ । काठमाडौं क्षेत्र नंबर २ को चुनावी प्रतिस्पर्धा पेचिलो ढंगले अघि बढेको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नंबर २ मा नेकपा एमालेबाट मणीराम फुँयाल, कांग्रेस–माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट ओनसरी घर्ती र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्तीदेवी पोखरेल मुख्य चुनावी प्रतिस्पर्धामा छन् । यस्तै केही स्वतन्त्र उम्मेदवारपनि चुनावी मैदानमा छन् तर उनीहरुको नगन्य प्रभाव रहेको स्थानीयको भनाइ छ ।

गत स्थानीय तहको मत हेर्दा यो क्षेत्रमा एमाले पहिलो दल, कांग्रेस दोश्रो, एकीकृत समाजवादी तेश्रो दल, राष्ट्रिय प्रजातन्त्र पार्टी चौथो दल र माओवादी केन्द्र पाँचौ दलको रुपमा देखिएका थिए । काठमाडौं क्षेत्र नं २ मा काठमाडौं महानगरका वडा नं ९ र ३२ वडा पर्छ भने कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं ४, ५, ६, ७, ८ र ९ अनि शंखरापुर नगरपालिकोको पुरै क्षेत्र पर्छ ।

शंखरापुर नगरपालिका गत स्थानीय तहको निर्वाचनमा राप्रपाले जितेको क्षेत्र हो । नगरप्रमुख र ३ वटा वडा राप्रपाले जितेको हो । साँखु क्षेत्र जोगमेहेर श्रेष्ठको पालादेखि नै राप्रपाको गढको रुपमा रहेको छ । यस्तै कागेश्वरी मनोहरा नगरपालिकामा पनि राप्रपाले आफ्नो उपस्थिति बाक्लो बनाउँदै लगेको छ भने कांग्रेस र एमालेको पनि राम्रो पकड रहेको छ । काठमाडौं क्षेत्र नंबर २ मा २०७० सालको दोश्रो संविधान सभा चुनावमा माधव नेपालले सो क्षेत्र छोडेर रौतहट रोजेपछि भएको उपनिर्वाचनमा निर्वाचित भएका कांग्रेसका दीपक कुइकेल बाहेक हालसम्म स्थानीय नेताले चुनाव जित्ने अवसर पाएका छैनन् ।

यो क्षेत्रमा दोश्रो शक्तिका रुपमा रहेको कांग्रेसको आफ्नो उम्मेदवार नहुदा मत बाँडिन सक्ने स्थानीय नेताहरु बताउँछन् । शंखरापुरमा कांग्रेसको एक समूह बिचार, एजेण्डाको हिसावले कम्युनिस्ट पार्टीभन्दा राप्रपासँग नजिक रहेकोले उनीहरुको भोट राप्रपालाई आउने राप्रपाका पूर्व केन्द्रीय सदस्य मिजेन्द्रकाजी श्रेष्ठ बताउँछन् । उसो त जोगमेहर श्रेष्ठको पालादेखि नै काठमाडौंको साँखु राप्रपाको गढको रुपमा रहेको छ । नगरपालिका बन्नुअघि साँखुका २ वटा गाउँविकास समिति राप्रपाले जित्दै आएको थियो ।

स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार नहुँदा कम्युनिस्टलाई भोट हाल्नुभन्दा राप्रपालाई भोट हाल्छौं भनेर कांग्रेसको धेरै भोट राप्रपालाई गएको थियो । गठबन्धनको उम्मेदवारलाई कांग्रेसको भोट नगन्यमात्रामा जाने र त्यो भोट राप्रपालाई फाइदा हुने कांग्रेसका स्थानीय नेताहरु बताउँछन् । नाम उल्लेख नगर्ने सर्तमा क्षेत्र नम्बर २ का कांग्रेसका प्रभावशाली एक नेताले कांग्रेसको थोरै मत मात्र गठबन्धनलाई जाने उल्लेख गरे । कांग्रेसको आफ्नो उम्मेदवार नहुँदा उनीहरुको मत राप्रपा र एमालेका उम्मेदवारलाई बाँढिने उनको तर्क छ । उनले भने–‘कांग्रेसका कतिपय मान्छेहरु भोट हाल्न पनि जाँदैनन् । कतिपय मान्छे भोट हाल्न गए भनेपनि पार्टीले भनेको ठाउँमा भोट हाल्ने ग्यारेन्टी छैन् । स्वतन्त्र उम्मेदवार त हिजो पनि उठेका थिए, उनीहरुलाई नगन्य मत मात्र जान्छ । सबै ठाउँमा बालेन्द्र र साम्पाङ जस्ता उम्मेदवार पनि छैनन् ।’

उनले उम्मेदवारको व्यक्तित्व तथा स्थानीयताका आधारमा कतिको प्रभावशाली छ सो आधारमा मात्र गठबन्धनमा एउटा दलको मत अर्को दलमा ‘ट्रान्सफर’ हुने उल्लेख गर्दै काठमाडौं २ मा स्थानीय उम्मेदवार मतदाताको रोजाईमा पर्ने भएकोले एमाले र राप्रपाले मत तान्न सक्ने बताउँछन् । उनले भने–‘कम्युनिस्ट पार्टीलाई सर्लक्क काँग्रेसको भोट जाँदैन । कांग्रेसभित्रका इमान्दार कार्यकर्ता, वीपीको सिद्धान्त मानेर निष्ठाको राजनीति गर्नेले देउवाले आदेश दिएको भरमा सर्लक्क माओवादी र नेकपा एस पार्टीलाई भोट हाल्लान् भन्ने लाग्दैन् । कांग्रेसको भोट हल्का रुपमा मात्र जान सक्छ । मुख्य त उम्मेदवारको व्यक्तित्वले पनि भोट तान्छ ।’

काठमाडौ क्षेत्र नं २ मा रहेको शंखरापुर नगरपालिकामा गत स्थानीय तहको चुनावमा पनि मेयर र उपमेयर पदमा कांग्रेस र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो । तर त्यहाँ उपमेयरलाई एकीकृत समाजवादीको भोट र कांग्रेसको पूरै भोट जाँदा कांग्रेसले उपमेयर जितेको थियो तर एकीकृत समाजवादीका मेयरका उम्मेदवारलाई कांग्रेसको पूरै भोट नजाँदा पराजित हुनु परेको थियो । प्रतिनिधि सभाको चुनावमा पनि कांग्रेसको पुरै भोट गठबन्धनलाई नजाने ति नेताको तर्क छ ।

उनले भने–‘स्थानीय चुनावमा शंखरापुर नगरपालिकामा सफ्ट कम्युनिष्ट रहेको एकीकृत समाजवादीको मेयरको उम्मेदवार एलपी श्रेष्ठलाई त कांग्रेसले भोट हालेनन् भने हार्डलाइनर कम्युनिष्टलाई भोट हाल्छन् भन्ने विश्वास गर्न गाह्रो छ । हिजो उनीहरुले सताएका नाङ्लेभारे देखिका कांग्रेसी कार्यकर्ताले कसरी भोट हाल्लान रु शंखरापुर नगरपालिकामा कम्युनिष्ट भन्दा राप्रपा हाम्रो निकट हो भनेर धेरै कांग्रेसले राप्रपाका उम्मेदवारलाई भोट हाले । अहिलेपनि मतपत्रमा कांग्रेसको चिन्ह नभएपछि ति भोटरहरुले माओवादीलाई नै हाल्लान भन्ने लाग्दैन । ति भोट राप्रपामा कि एमालेमा जाने संभावना देख्छु । कांग्रेसको थोरै मत मात्र माओवादीलाई जान्छ जस्तो लाग्छ ।’

उनले अगाडि भने –‘कांग्रेसका नेता कार्यकर्ताहरु जुलुस र समारोहमा गएका छन् तर भित्री रुपमा म माओवादीलाई भोट हाल्छु भन्ने मान्छे निकै थोरै छन् । अहिले माओवादीकी उम्मेदवार पनि बाठी रैछिन, पुरै कांग्रेसले भाषण गरेजस्तै वीपीको सबै पुस्तक पढेको छु भनेर भाषण गर्दिरैछिन् तर भाषण सुनेको आधारमा सबै कांग्रेसले भोट दिन्छन् भन्ने छैन ।’

यसरी कांग्रेसको मत बाँडिएमा काठमाडौं २ मा राप्रपा बलियो शक्तिका रुपमा अघि बढ्ने उनको भनाई छ । धर्मनिरपेक्षताको विरोधी रहेका कांग्रेसको भोट पनि राप्रपाले तान्न सक्ने स्थानीय नेताहरु बताउँछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *