तीन दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगको सिफारिस

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । २, ४ र ५ मंसिरमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिन आयोगको प्रस्ताव गरेको हो । ३ मंसिर शनिबार पर्छ ।

केही दिनअघि नै आयोगले यससम्बन्धी निर्णय गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको आयोगले जनाएको छ । बिदाबारे मन्त्रिपरिषद्बाटै निर्णय हुनुपर्ने प्रावधान रहेको छ ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले मतदानको दिनमात्र बिदा दिएको थियो । यसपटक आइतबार मतदान हुँदै छ । आयोगको सिफारिस कार्यान्वयन भएमा शनिबारसमेत गरी लगातार चार दिन बिदा हुनेछ ।

अधिकांश मतदानस्थल विद्यालयमा भएकाले पूर्वतयारीका लागि पनि दुई दिनअघि नै सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव आयोगले गरेको जनाएको छ । तीन दिन बिदा दिँदा मतदाता आफ्नो मतदानस्थलसम्म पुग्न र फर्कन सहज भएकाले उक्त प्रस्ताव गरिएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगको सिफारिसअनुसार बिदासम्बन्धी निर्णय हुने गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए । निर्वाचनमा कति दिन बिदा दिनेबारे अहिलेसम्म निर्णय भइनसकेको उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *