नवलपरासी क्षेत्र नं २ : त्रिपक्षीय प्रतिस्पर्धा

नवलपुर । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको अन्तिम समय आइपुग्दा पश्चिम नवलपरासीमा उम्मेदवारहरुले चुनावी अभियान तीव्र बनाएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारले आज र भोलि मात्रै निर्वाचनको प्रचारप्रसार गर्न पाउने भएपछि अहिले नेता तथा उम्मेदवार घरदैलोसहित मत माग्ने काममा व्यस्त छन् ।

मङ्सिर ४ नजिकिनै लाग्दा क्षेत्र नं २ को चुनावी रौनक अझै तातेको छ । यस क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपासहितका दलबाट १० तथा स्वतन्त्र आठ गरी १८ जनाको उम्मेदवारी परेको छ । पश्चिम नवलपरासी क्षेत्र नं २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल, जनता समाजवादी पार्टी (जसपा) को समर्थनमा नेकपा (एमाले) बाट उम्मेदवारी दिनुभएका दीपेन्द्र अधिकारी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधानबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

यो निर्वाचन क्षेत्रमा रामग्राम नगरपालिका, सुनवल नगरपालिका, पाल्हीनन्दन गाउँपालिकाका सबै वडा तथा सरावल गाउँपालिकाको तीन वटा वडा रहेका छन् । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार निर्वाचित भएका थिए भने अन्य पालिका प्रमुख तथा अध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका थिए । नवलपरासी २ मा जम्मा एक लाख २२ हजार छ सय ८० मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी सुजाता खत्रीले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका उम्मेदवार कँडेल यस क्षेत्रबाट छैठौँपटक संसदीय निर्वाचनको दौडमा हुनुहुन्छ । वि.सं २०५१ देखि २०७४ सम्म भएका पाँचवटा निर्वाचनमध्ये तीनवटा निर्वाचनमा कँडेल विजयी हुनुभएको छ । तीन दशकयता निरन्तर चुनाव लड्दै आउनुभएका नेता कँडेललाई सत्ता गठबन्धन दलको साथ रहेको छ । कँडेल २०५६ र २०५८ सालमा दुई पटक गृहराज्यमन्त्री बन्नुभएको थियो ।

वि.सं २०५१ मा तत्कालिन सद्भावना पार्टीका दुर्गा चौधरीलाई पराजित गरेर संसद् यात्रा सुरू गर्नुभएका कँडेल त्यसपछिका निर्वाचनमा उम्मेदवार बन्दै आउनुभएको छ । २०५६ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ध्रुवबहादुर प्रधानलाई पराजित गर्नुभएको थियो । वि.सं २०६४ मा साविक नवलपरासीको क्षेत्र नम्बर ५ बाट उम्मेदार बन्नुभएका उहाँ तत्कालीन मधेसी जनअधिकार फोरमका रामवचन चौधरीसँग पराजित हुनुभयो । वि.सं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र परिवर्तन गरेर तत्कालीन नवलपरासी–४ बाट उम्मेदवार बन्नुभएका कँडेल एमालेका नेता बैजनाथ चौधरीसँग पराजित हुनुभयो ।

वि.सं २०७४ मा उहाँले तत्कालीन वामगठबन्धनबाट माओवादीका उम्मेदवार घनश्याम यादवलाई पराजित गरेर पुनः संसद् भवन प्रवेश गर्नुभएको थियो । यहाँ एमालेले जसपा र राप्रपाले लोसपासँग तालमेल गरेका छन् ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणामअनुसार यहाँ अन्य दलको तुलनामा कांग्रेस बलियो देखिएको छ । यस क्षेत्रमा पर्ने पालिकामा वडाध्यक्षले पाएको मतभार अनुसार नेपाली कांग्रेसका वडाध्यक्षले पाएको मत २५ हजार छ सय ८६ हुन रहेको छ । माओवादी केन्द्रको नौ हजार एक सय ५१, नेकपा (एकीकृत समाजवादी) को आठ सय ८५ र राष्ट्रिय जनमोर्चाको ८५ गरी सत्ता गठबन्धनको मत ३५ हजार आठ सय नौ देखिन्छ ।

यहाँ एमालेका वडाध्यक्षले पाएको मत २३ हजार तीन सय ४२ तथा जसपाका वडाध्यक्षले पाएको मत सात हजार तीन सय १३ रहेको छ । त्यसैगरी, राप्रपाका वडाध्यक्षले आठ हजार आठ सय ७७ तथा लोसपाका वडाध्यक्षले चार हजार पाँच सय ८० मत प्राप्त गरेका छन् । वडाध्यक्षले पाएको मतलाई विश्लेषण गर्दा यहाँ कांग्रेसका उम्मेदवारको मत एमाले–जसपाको तालमेल भन्दा पाँच हजार एक सय ५४ ले बढी तथा राप्रपा–लोसपाको तालमेल भन्दा झण्डै तीन गुणाले बढी छ ।

यस क्षेत्रबाट उम्मेदवारी दिनुभएका एमालेका अधिकारी पार्टीका जिल्ला अध्यक्ष एवं निवर्तमान लुम्बिनी प्रदेशसभा सदस्य हुनुहुन्छ । नवलपरासीबाट यसअघि तीन पटकसम्म चुनाव लडेर पराजित हुनुभएका प्रधान राप्रपाका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *