शोक बिदाको समयमा प्रधानमन्त्री र गृहमन्त्री कुर्सीको भागबन्डामा, ओलीको घरमा भने भोज

काठमाडौं । आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना हुँदा ७२ जनाले ज्यान गुमाए । जसमा १५ जना विदेशी र बाँकी नेपाली छन् । आन्तरिकतर्फ अहिलेसम्मकै सबैभन्दा धेरै मानवीय क्षति भएको भन्दै सरकारले सोमबार शोक बिदा दिएको थियो । तर शोक बिदामा सातदलीय सत्तारुढ गठबन्धनका नेताहरु भने मन्त्रालय भागबन्डामा जुटे । सोमबार मध्यरातिसम्म प्रधानमन्त्री निवास बालुवाटारमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका नेताहरु मन्त्रालय भागबन्डामै व्यस्त रहे ।

एमाले अध्यक्ष केपी ओलीको घरमा दिवा भोज चल्यो । सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चिनियाँ राजदूतलाई भेटेपछि सिधै एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगे । उनले साढे चार घन्टा बालकोटमा बिताए । त्यही दिवा भोज लिए । बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रालयको भागबन्डामा सहमति जुटाउने भन्दै प्रचण्ड बालकोटबाट बाहिरिए ।

देशले शोक मनाइरँहँदा गृहमन्त्री रवि लामिछाने भने बिहानै डीआईजीहरुलाई भेला पारेर निर्देशन दिन व्यस्त रहे । आफू टेलिभिजनमा कार्यक्रम चलाउँदा सडक वा विमान दुर्घटना हुँदा उनले नेताहरुलाई सत्तोश्राप गर्थे । तर, अहिले उनी आफैं गृहमन्त्री छन् । तर विमान दुर्घटनामा परेका पीडितहरुको दुःखमा मलम लगाउनु त कता हो कता लामिछाने सत्ता र कुर्सीकै छिनाझिप्टीमा लागे ।

उनी मध्यरातसम्म बालुवाटारमा मन्त्रालय बाँडफाँटमा जुटेका थिए ।सोमबार राति सकिएको बैठकमा एमालेले आठ मन्त्री र एक राज्यमन्त्री, माओवादीले प्रधानमन्त्रीबाहेक चार मन्त्री र एक राज्यमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्री र एक राज्यमन्त्री, राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाउने समझदारी बनेको छ ।

जसपालाई दुईवटा मन्त्रालय प्रस्ताव गरे पनि तीनवटा मन्त्रालयमा अडान राखेर अध्यक्ष उपेन्द्र यादव बाहिरिएका छन् । नागरिक उन्मुक्ति पार्टीले तत्काल सरकारमा नजाने निर्णय लिएको छ । मंगलबार बिहान गठबन्धनको पुनः बैठक बस्नेछ र आवश्यक परे परिमार्जनसहित मन्त्रालय बाँडफाँटको अन्तिम टुंगो लगाइनेछ ।

बाँडफाँटअनुसार एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था र महिला मन्त्रालय लिने समझदारी छ । एमालेले यसअघि अर्थ मन्त्रालय लिइसकेको छ । त्यस्तै, माओवादीले प्रधानमन्त्रीबाहेक सञ्चार, संघीय मामिला र पर्यटन मन्त्रालय लिने समझदारी छ ।

माओवादीले भौतिक योजना मन्त्रालय लिइसकेको छ । रास्वपाले शिक्षा र श्रम मन्त्रालय पाएको छ । रास्वपाले गृह मन्त्रालयको जिम्मा लिइसकेको छ । राप्रपाले उपप्रधानमन्त्रीसहित ऊर्जा, सहरी विकास र खेलकुद मन्त्रालय पाएको छ । जनमत पार्टीको भागमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *