नेपाललाई ५०औँ अर्ब नोक्सान पारिँदैछ : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले ड्राफ्ट गरिरहेको दूरसञ्चार ऐनका कारण नेपाललाई ५० औँ अर्ब रुपैयाँ नोक्सान हुने दाबी गरेका छन् ।

शुक्रवार काठमाडौँमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले हाल निजी स्वामित्वमा रहेको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल २५ वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउनुपर्ने भए पनि भित्रभित्रै विभिन्न चलखेल गरी सरकारको स्वामित्वमा नआउने काम भइरहेको बताए । यसबारे खबरदारी गर्न पनि उनले सबैलाई आग्रह गरे ।

‘अहिले एउटा एक्ट आउँदैछ,’ उनले भने, ‘ऐन आउने भनेर सुनिरहेका छौँ हामीले । आइसकेको छैन, हामीले संसदमा त सुनेका छैनौँ तर त्यो एक्टले ५० औं अर्ब रुपैयाँ नेपाललाई नोक्सान हुने अवस्था छ । त्यो टेलिकमको कुरा गरेको हो । एनसेलले २५ वर्षपछि छोड्नुपर्ने, एनसेलले दिनुपर्ने पैसा के छ ? उसले के बदमासी गरेर मिलाउँदैछ ? यस्ता कुरा भन्नुपर्छ तपाईंहरुले ।’

उनले देशको अर्थतन्त्र धराशायी रहे पनि नेपाललाई श्रीलंका र पाकिस्तान बन्न नदिने प्रतिवद्धता जनाए । उनले नेपालसँग अहिले १० महिनासम्मका लागि पुग्ने सञ्चिति रकम रहेको बताए । नेता कोइरालाले पछिल्लो समय राजस्व उठ्न नसक्दा कर्मचारीलाई ऋण खोजेर तलब खुवाउने काम भइरहेको पनि उनले बताए ।
‘अर्थतन्त्र धराशायी बन्ने अवस्थामा छ, भोलि के हुन्छ हामीलाई हामी थाहा छैन,’ उनले भने, ‘ तर हामी पक्कै पनि पाकिस्तान र श्रीलंका हुन दिँदैनौँ, हुँदैन ।’
उनले अहिले नेपालसँग १० महिनाको लागि आवश्यक विदेशी विनिमयको सञ्चिति रहेको बताए ।

नेता कोइरालाले संविधानमा नै श्रम आयोग बनाउनको लागि आफू लडिरहने प्रतिवद्धता जनाए। उनले नेपाली काँग्रेसको विधानमा श्रमिकलाई केन्द्रीय समितिमा ल्याउने र संसदमा श्रमीकको पनि व्यवस्था गर्नसके आफ्नो एउटा सपना पूरा हुने र त्यसका लागि आफू लडिरहेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *