डा. कोइरालाको आग्रह– अवसरवादीबाट जोगिनुस्

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले अवसरवादीबाट जोगिन आग्रह गरेका छन् । शुक्रबार काठमाडौँमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

कार्यक्रममा उनले आफू अवसरवादीबाट सावधान भइसकेको र सबै मानिसहरु साधवन हुनुपर्ने बताए ।

‘सावधान है एउटा कुरा, अवसरवादीहरुबाट जोगिनुहोला,’ उनले भने, ‘अवसरवादीहरुबाट सावधान हुनुहोस्, म त सावधान भइसकेँ । तपाईंहरु पनि सवधान हुनुस्, मैले भन्ने यति हो ।’

कोइरालाले कांग्रेस पार्टीभित्र आफूले धेरै कुरा गर्न चाहे पनि अवसरवादीहरु हावी हुँदा केही गर्न नसकेको बताए । कोइरालाले सबै स्वार्थ छाडेर ‘राष्ट्र पहिला’ भनेर अगाडि बढ्नुपर्ने समय आएको समेत बताए । उनले जातीय राजनीतिमा दलहरु केन्द्रीत हुँदै गएकोले श्रमिकका मुद्दाहरु ओझेलमा परेको बताए ।

‘मैले अहिले सकेको छैन, संविधानमा नै श्रम आयोग बनाउन मैले लडिरहने हो,’ उनले भने, ‘नेपाली कांग्रेसको विधानमा श्रमिकलाई केन्द्रीय समितिमा ल्याउने र सँगै संसदमा श्रमीकको पनि हामीले व्यवस्था गर्ने हो । यति मैले गर्नसके मलाई लाग्छ, मैले न्याय गरेको ठहरिन्छ, म कोसिस गर्दैछु, मेहनत गर्दैछु । तर आफू ठाउँमा भइसकेपछि मात्रै धेरै कुरा गर्न सकिँदो रहेछ, समय आउँदैछ, त्यो समयलाई तपाईहरुले पनि पर्खिनुहुनेछ, समय आएर म पुगेपछि गरिन भने तपाईहरुले औँला ठड्याउन सक्नुहुनेछ ।’

देशको अर्थतन्त्र धराशायी बन्ने अवस्थामा रहेको भन्दै नेता कोइरालाले नेपाललाई श्रीलंका र पाकिस्तान बन्न नदिने बताए ।

‘हामीसँग १० महिनाको लागि आवश्यक सञ्चिति रकम छ,’ उनले भने, ‘हामीले अन्य कुरा व्यवस्थित गर्न सकेका छैनौँ, राजस्व उठ्दैन, ऋण लिएर कर्मचारीलाई तलव खुवाइरहेका छौँ ।’

उनले सरकाले ल्याउन लागेका दूरसञ्चार विधेयकमा नेपाललाई अर्बौँ घाटा पार्न लागिएको भन्दै चिन्ता व्यक्त गरे ।

‘अहिले एउटा एक्ट आउँदैछ । ऐन आउने भनेर सुनिरहेका छौँ हामीले,’ उलने भने, ‘त्यो एक्टले ५० औँ अर्ब रुपैयाँ नेपाललाई नोक्शान हुने अवस्था छ । त्यो टेलिकमको कुरा गरेको हो । एनसेएलले २५ वर्षपछि छोड्नुपर्ने, एनसएलले दिनुपर्ने पैसा के छ ? उसले के बदमासी गरेर मिलाउँदैछ ? यस्ता कुरा भन्नुपर्छ तपाईंहरुले ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *