महाकालेश्वरमा पूजा गरेकाले प्रचण्डले पशुपतिमा अनिवार्य दर्शन गर्नैपर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चार दिने भारत भ्रमणका क्रममा मध्यप्रदेशको उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरे । उनीसहित अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्ति बस्नेत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र उद्योगमन्त्री रमेश रिजालले मन्दिरमा पूजाअर्चना गरेका थिए ।

प्रचण्डले नेपालबाट करिब पाँच करोड मूल्यबराबरको विभिन्न जातका रुद्राक्ष लिएर गएका थिए । नयाँ दिल्लीबाट विशेष विमानमार्फत डेढ घन्टाको यात्रापछि महाकालेश्वर मन्दिरमा पूजापाठ गरेका प्रचण्डले त्यसक्रममा गेरुवस्त्र धारण गरेका थिए । जसको अहिले व्यापक आलोचना भइरहेको छ । उनी शनिबार नै स्वदेश फर्किसकेका छन् ।

महाकालेश्वर मन्दिरमा दर्शनपछि पशुपतिनाथको दर्शन नगरी पूर्ण नहुने ज्योतिषी सुरेशचन्द्र रिजालको भनाइ छ । प्रचण्डले अहिलेसम्म पशुपतिको दर्शन गरेका छैनन् । उनले कहिले दर्शन गर्ने भन्ने पनि उनको सचिवालयले केही जानकारी गराएको छैन । तर ज्योतिषी रिजाल यदि प्रचण्डले पशुपतिको दर्शन नगरेमा महाकालेश्वरमा पूजा गरे पनि सम्पूर्ण कर्म भष्म हुने बताउँछन् ।

‘महाकालेश्वरको मुख्य प्रसाद नै चिताको खरानी हो । भारतको उज्जैनस्थित महाकालेश्वर मन्दिर दर्शनपश्चात भगवान् पशुपतिनाथको दर्शन नगरी पूर्ण नहुने हुँदा प्रधानमन्त्रीसहित सम्पूर्ण दर्शनार्थीहरुले अनिवार्य पशुपतिनाथको दर्शन गर्नुपर्ने नियम रहेको छ । महाकालेश्वर ज्योतिर्लिंगको मुख्य प्रसाद नै चिताबाट निकालिएको भस्म अर्थात् खरानी हो । यद्यपि पूजा पूर्ण नभए सम्पूर्ण कर्म भस्म समान हुने छ,’ रिजालले भनेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *