पूर्वी नेपालका यी नदीमा ठूलो बाढी आउने सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । बाढी पुर्वानुमान महाशाखाले पूर्वी नेपालका खोला तथा नदीमा बाढी आउने सम्भावना रहेको भन्दै सतर्कता अपाउन आग्रह गरेको छ ।

महाशाखाले आइतबार बुलेटिन जारी गर्दै पाँचथर, ताप्लेजुङ र संखुवासभासहित ८ जिल्ला भई वहने नदी/खोलामा बाढी आउने सम्भावना रहेको भन्दै उक्त नदी/खोला तटीय क्षेत्रमा बस्ने बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

यसमा पनि पाँचथर र ताप्लेजुङ भई वहने नदीमा बाढीको जोखिम उच्च छ भने बाँकी जिल्ला भई बग्ने नदीमा मध्यम जोखिम रहेको बाढी महाशाखाले जनाएको छ । यस्तै महाशाखाले आजदेखि ३ दिनसम्म बाढीको जोखिम रहेका नदीको विवरण पनि दिएको छ ।

महाशाखाका अनुसार आज (आइतबार), भोलि (सोमबार) र पर्सि (मंगलबार) तमोर, अरुण र कन्काई नदीको बहाव उल्लेख्य बढ्ने तथा तमोर र कन्काई नदीको जलसतह सतर्कता तह आसपास रहने सम्भावना छ । तसर्थ यी नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक छ ।

वर्षायाम सुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरोबाट जनधनको क्षति हुन थालेको छ । पाँचथर, ताप्लेजुङ र संखुवासभामा मात्र बाढी र पहिरोमा परी २६ जना बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ । ती जिल्लामा पुल, घरलगायत भौतिक संरचनामा पनि व्यापक क्षति पुगेको छ भने विद्युत ठप्प बनेको छ । केहि ठाउँमा यातायात अवरुद्ध भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *