आज असारको १५ दही–चिउरा खाने दिन , दही–चिउरा खानुका फाइदा

काठमाडौँ । आज असारको १५ गते अर्थात् खेतीपाती गर्ने महत्वपूर्ण दिनको रूपमा नेपाली समाजमा यो दिन प्रचलित छ ।

नेपालमा असार १५ लाई सरकारले समेत धान दिवस भनेर धान रोप्ने वा मुठी रोपेर मानो उब्जाउ गर्ने पर्वका रूपमा मनाउन अपील गरेको छ । परम्परादेखि नै असारमा खेतीबाली लगाउने, धान रोप्ने हिलो छुनुपर्ने मान्यतामा असार १५ लाई नेपाली समाजमा मनाउने गरिन्छ । यही दिनलाई दही–चिउरा खाने दिन भनेर पनि बुझिन्छ ।

दिनभर काम गर्ने र खाजाको रूपमा दही–चिउरा खानुपर्छ भन्ने मान्यता नेपाली समाजमा प्रचलित छ । दही–चिउरा नै किन खाने र यसको प्रचलन किन चलाइएको हो । वर्षायाममा दही र चिउरा खानु फाइदाजनक छ कि छैन ।

दही

प्राचीनकालदेखि नै प्रयोगमा ल्याइएको पौष्टिकताले भरिपूर्ण स्वादिलो दुग्धजन्य पदार्थ हो, दही । दूधलाई विभिन्न फाइदाजनक ब्याक्टेरियाले प्रशोधन गरी जमाएर दही बनाइदिन्छ । दूधमा पाइने सुगरलाई ब्याक्टेरियाले ल्याक्टिक एसिडमा परिणत गराई दूधको प्रोटिन तयार गर्दा दही बन्न जान्छ । दही गाई, भैंसीे, बाख्रा, ऊँट, याक र केही वनस्पतिको दूधबाट समेत तयार गर्न सकिन्छ ।

दही बनाउनको लागि सर्वप्रथम दूधलाई तताउनुपर्छ, चिसो भएपछि त्यसमा प्राकृतिक ब्याक्टेरियाले आफ्नो काम सुरु गर्न थाल्छन् र केही घण्टापछि दहीमा परिणत गरिदिन्छन् । वनस्पतिजन्य दूधमा भटमास, धान, नट्स, बदाम तथा नरिवल आदिबाट समेत दही तयार गरिन्छ । यस्तो दही जनावरजन्य दूधमा पाइने ल्याक्टोज एलर्जी हुनेहरूको लागि र भेगान वर्गको लागि लाभदायक हुन्छ ।

दही प्रशोधित दुग्ध पदार्थ हो जुन निकै स्वादिलो र स्वस्थकर हुन्छ । यसमा उच्च गुणस्तरको चिल्लो, प्रोटिन, क्याल्सियम, पोटासियम, पानी, कार्बोहाइड्रेट्स, फस्फोरस, सेलेनियम र विभिन्न भिटामिनहरू पाइन्छन् । यसलाई खानाले हाड मजबुत हुने, रक्तचाप कम हुने, कोलेस्ट्रोल कम हुने, पाचन राम्रो हुने, प्रतिरोध क्षमता बढ्ने जस्ता फाइदा हुन्छन् ।

दही खानुका फाइदा

सादा, कम चिल्लो र चिनी नराखेको दही स्वास्थ्यको लागि राम्रो हुन्छ । यस्तो दही खाँदा हुने फाइदा धेरै छन् ।

१ दहीमा प्रोटिन उच्च मात्रामा पाइन्छ । यसलाई खाँदा ऊर्जा दिने, भोक लाग्ने क्रम कम हुने र अन्त्यमा तौल समेत कम बनाउँछ ।

२ डिप्रेसन र चिन्ता घटाउँछ प्रोबायोटिक्स्मा हुने कीटाणुले चिन्ता र डिप्रेसन घटाउँछन् ।

३ रगतमा हुने खराब कोलेस्ट्रोल घटाउँछ ।

४ विभिन्न मुटुको रोगका साथै रक्तचाप घटाउँछ ।

५ सङ्क्रमण कम गराई रोग विरुद्ध लड्ने क्षमता बढाउँछ ।

६ डण्डीफोर, एक्जिमा लगायत अन्य छालाका समस्यामा उपयोगी हुन्छ ।

७ कोषहरूको विभाजन, कार्य र क्षमतामा वृद्धि ल्याई बुढो हुनबाट बचाउँछ । साथै यसमा पाइने विभिन्न भिटामिन तथा खनिज तत्वहरूले हाड कमजोर हुने वा मक्किने रोग (ओस्टोपोरोसिस्) लाई पनि निको बनाउँछन् ।

८ पाचन राम्रो बनाउने र स्नायु सम्बन्धी विकृति कम गर्ने जस्ता काम पनि गर्छ ।

९ दही हाम्रो शरीरलाई चाहिने लगभग धेरै किसिमका पौष्टिक तत्वहरू (क्याल्सियम, भिटामिन बी कम्प्लेक्स् र खनिज) ले भरिपूर्ण हुने भएकोले यो खानाले रोग विरुद्धको प्रतिरोध क्षमता बढाई सम्पूर्ण स्वास्थ्यलाई सामान्य रूपमा राख्न सहयोग गर्छ ।

१० दही खानाले पाचन प्रणालीलाई राम्रो बनाउँछ जसले गर्दा ग्यास्ट्राइटिस्, वायु गोला, पखाला वा कब्जियत हुन पाउँदैन र भएमा निको हुन्छ ।

दही खान नहुने अवस्था

दही खाँदा कसैलाई सुरुका केही दिनसम्म पाचन गडबड हुने, ग्याँस चल्ने, सामान्य पेट दुख्ने आदि प्रतिअसर हुन्छन् भने पछि–पछि यी समस्या घट्दै जान्छन् । यदि दही खाँदा अन्य समस्या देखापर्ने गरेका छन् भने दहीका प्रतिअसर पनि हुनसक्छन् । उदाहरणका लागि दूधको एलर्जी हुने वा ल्याक्टोज पाचन गर्न नसक्ने समस्या भएका व्यक्तिले कुनै पनि दुग्ध पदार्थ र दही समेत खानुहुँदैन ।

निम्न अवस्थामा दही खानु हानिकारक हुन्छ

१ ल्याक्टोज पचाउन नसक्ने अवस्था कसैकसैको शरीरमा ल्याक्टोज तत्वको अभाव भएको अवस्थामा दूधमा भएको ल्याक्टोज सुगर पच्दैन जसले गर्दा पेटका विभिन्न समस्या देखिन्छन् । यदि त्यस्ता व्यक्तिमा ल्याक्टोज इन्जाइमको अभाव छ भने दही वा कुनै पनि दुग्ध पदार्थ खाँदा पेट दुख्ने, पखाला लाग्ने जस्ता लक्षण देखिन्छन् ।

दही र चिउराका साथ केरा, आँप वा अन्य फलफूल पनि मिसाएर खाएमा अझ राम्रो हुन्छ, किनकि यसबाट थप शक्ति र अन्य तत्वहरू पनि प्राप्त हुन्छ ।
२ दूधको एलर्जी स् दुग्ध पदार्थमा पाइने केसिन र ह्वे जस्ता प्रोटिनको कसैलाई एलर्जी हुनसक्छ । यस्तो अवस्थामा छाला चिलाउने, विभिन्न प्रतिक्रिया देखिने र कहिलेकाहीं मृत्युजन्य अवस्था (एनाफाइलेटिक शक्) आउन सक्ने हुँदा त्यस्ता व्यक्तिले दही लगायत दुग्ध पदार्थ खानुहुँदैन ।

३ चिनी राखेको दही स् दहीमा चिनी राखेर खाँदा बढी मात्रामा सुगरको तह बढ्न सक्ने भएकोले यस्तो दही खाएमा मोटोपन, मधुमेह तथा अन्य स्वास्थ्य समस्याको सम्भावना पनि हुने हुँदा दहीमा चिनी राखेर खानु राम्रो हुँदैन ।

४। विरुद्ध आहार स् चिया, कफी, दूध, पनीर, खीर, काँक्रा, खरबुजा, मेवा आदि दहीसँग विरुद्ध आहार हुने भएकोले यस्ता पदार्थ दहीको साथमा खानुहुँदैन ।

चिउरा

धानलाई भिजाएर हल्का सुकाएर चिउरा तयार गर्ने मिल वा ओखलमा कुटेर मात्र चिउरा तयार गरिन्छ । यो नेपाली परम्परागत र लोकप्रिय खाद्यपदार्थ हो । चिउरा खान पनि स्वादिलो हुनुका साथै यसमा प्रशस्तै पौष्टिक तत्वहरू पाइन्छन् ।

मुख्यगरी चिउरामा भिटामिन, खनिज, फाइबर, कार्बोहाइड्रेट र प्रोटिन पनि पाइन्छ । चिउरा पकाउनु नपर्ने भएकाले तयारी खानाका रूपमा र अन्य खाद्य पदार्थसँगै खान सकिन्छ । यसमा बढी मात्रामा कार्बोहाइड्रेट पाइने हुँदा शक्तिको मुख्य स्रोत हुनसक्छ । चिउरा खाँदा डम्म अघाएको महसुुस हुने र अडिलो बनाउँछ । यसका साथै चिउरा तयार गर्दा फलामको मिलमा कुटिने हुँदा आइरन तत्व पनि पाउन सकिने भएकाले चिउराको बढी नै फाइदा रहेको छ ।

दही र चिउरासँगै मिसाएर खाँदा हुने थप फाइदा

नेपाली परम्परामा दही र चिउरा मिसाएर खाने प्रचलन रहेको छ । दही–चिउरा खाने दिन भनेर असार १५ लाई भनिएको भएतापनि दही–चिउरा खाजाको रूपमा खाने प्रचलन नै रहेको छ । दही र चिउरा मिसाएर खाँदा थप फाइदा पाउन सकिन्छ । गर्मी याममा बढी पसिना जाने, बढी परिश्रमका साथ काम गर्नुपर्दा शक्ति खपत हुनेहुँदा दही–चिउरा मिसाएर खाँदा पानीको मात्रा पनि परिपूर्ति हुन्छ, शीतल हुन्छ, तिर्खा मेटिन्छ, डम्म अघाइन्छ र पुनः काम गर्न सकिन्छ । खेर गएको शक्ति आपूर्ति हुन्छ र शरीरमा आवश्यक अन्य तत्व पनि प्राप्त गर्न सकिन्छ ।

दही र चिउराका साथ केरा, आँप वा अन्य फलफूल पनि मिसाएर खाएमा अझ राम्रो हुन्छ, दही–चिउरा तयार गर्न पनि सजिलो हुने किनकि कामको चाप परेको बखत यो राम्रो खाजाको रूपमा हुनसक्छ भने बढी परिश्रम गर्नुपर्ने, बढी पसिना आउने, गर्मी हुने बखतमा दही–चिउरा खानु स्वास्थ्यका लागि अति लाभदायक छ ।

विभिन्न गुणले भरिपूर्ण दही र चिउरा खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । जसको सेवनले शीतलता दिन्छ र छिटो प्यास लाग्दैन । दहीमा पाइने प्रोबायोटिक्स्को गुणले गर्दा पाचन प्रणालीमा हुने लाभदायक ब्याक्टेरियाको सङ्ख्या बढ्न गई पाचन प्रणालीमा लाग्ने तमाम रोगहरू समाधान हुन्छन् ।

दही खाँदा समय मिलाउनुपर्ने हुन्छ । बिहानको खानामा दही, मही, कम नुन राखेको अचार आदि खानुपर्छ र राम्रोसँग पाचन हुने गर्छ । दही–चिउरा खान असार १५ गते नै कुर्नुपर्दैन र यसलाई कहिलेकाहीं स्वस्थकर खाजाको विकल्पका रूपमा समेत खाँदा फाइदा नै हुन्छ र आफ्नो स्वास्थ्यको ख्याल गरेर खानु नै उत्तम हुन्छ ।

नेपालि परम्पमाको रुपमा रहेको आजको दिन अथवा असार १५ बिशेष आज दही–चिउरा खाने दिन को रुपमा पनि लिन सकिन्छ र दही–चिउरा स्वास्थ्यको लागि पनि फाइदाजनक रहन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *