डा.आरजु राणा – कांग्रेसको अगुवाइबाटै मुलुकमा लोकतन्त्र स्थापना भएको हो

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले कांग्रेसले लिएको विचार र सिद्धान्तकै कारण मुलुकमा लोकतन्त्र स्थापना भएको बताएकी छन् ।

कांग्रेसको भातृ सङ्गठन तरुण दलको केन्द्रय कार्यसमिति सदस्यहरुको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले भनिन्, “विगतमा नेपाली कांग्रेसले लिएको सिद्धान्तकै कारण आज मुलुकमा लोकतन्त्र स्थापना भएको हो र लोकतान्त्रिक शासन व्यवस्थाका कारण नै देश विकासले गति लिएको हो ।”

डा राणाले नेपालमा विसं २००७ सालको क्रान्तिदेखि विसं २०४६ मा प्रजातन्त्रको पुनस्र्थापना र विसं २०६२/६३ को जनआन्दोलनको नेतृत्व एवं अगुवाई नै नेपाली कांग्रेसले गरेको स्मरण गर्दै पार्टीको यो गौरवशाली इतिहासलाई मनन् गरेर तरुण दलका कार्यकर्ताहरु लाग्नुपर्ने बताइन् ।

नेपालमा लोकतान्त्रिक शासन व्यवस्थाका लागि विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले समय समयमा लडेका र जसका कारण नेपाली नागरिकले अहिलेको गणतान्त्रिक व्यवस्था प्राप्त गर्न सकेका पनि उल्लेख गरे । डा राणाले कांग्रेसका नेताहरुको योगदान र आदर्शको अनुशरण गरी लोकतन्त्र र विधिको शासनका लागि लाग्न नेपाल तरुण दलका समग्र सदस्यहरुलाई आग्रह पनि गरिन् ।

कांग्रेस पार्टी र मुलुकको भविष्य नै तरुण दलमा आवद्ध देशका समग्र युवाहरुको हातमा रहेको भन्दै कांग्रेसका नेताहरुले देखाएको मार्गमा हिँड्न सबै तरुण सदस्यहरुलाई सुझाव पनि दिए ।

प्रतिनिधिसभा सदस्य समेत रहेकी राणाले नेपाली कांग्रेससँग विकास र समृद्धिको स्पष्ट नीति रहेको र कांग्रेसले लिएकै नीतिबाट मुलुक विकासको गतिमा अघि बढेको पनि उनले बताइन् ।

नेपाल तरुण दलको अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा नेपाल तरुण दलको केन्द्रीय समितिका सदस्यहरुले आज डा देउवासँग अन्तरक्रिया गरेका थिए ।

सो अवसरमा डा राणाले हालै सदस्य थप भएको तरुण दललाई चुस्त एवं सक्रिय बनाई अघि बढ्न अध्यक्ष गुरुङलाई आग्रह पनि गराए थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *