बाबुरामले दिए चीन भ्रमण जान लागेका प्रधानमन्त्री प्रचण्डलाई ३ सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ३ बुँदे सुझाव दिएका छन् ।

आइतबार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, कुटनीतिज्ञसँग प्रधानमन्त्रीले चीन भ्रमणका सन्दर्भमा सिंहदरबारमा सुझाव माग गरेका थिए । सुझाव छलफल कार्यक्रममा उपस्थित हुन नसकेकोमा क्षमा माग्दै डा.भट्टराईले आइतबार साँझ सामाजिक सञ्जालमार्फत सुझाव दिएका छन् । बहुदलीय लोकतन्त्रमा दलहरूबीच अरू विषयमा मतभिन्नता भएपनि परराष्ट्र सम्बन्धको विषयमा राष्ट्रिय सहमति कायम गर्ने र त्यसलाई सबैले सधैं पालना गर्ने परम्परा बसाल्न आग्रह गर्दै बाबुरामले दलीय,गुटीय र निजी स्वार्थनिम्ति राष्ट्रिय हित विपरित कसैले पनि कुनै पनि विदेशी शक्तिसँग खुला वा अपारदर्शी सहमति तथा सम्झौता गर्न नहुने सुझाव दिएका छन् ।

त्यसैगरी दोस्रो सुझावको रुपमा बाबुरामले एसिया नै मुख्य केन्द्र हुनेगरी मडारिन लागेको नयाँ शितयुद्ध (वा उष्णयुद्ध ?) को सन्दर्भमा नेपालले आफ्नो विशिष्ठ भू–सामरिक अवस्थितिलाई ध्यान दिँदै नेपालमा भारतको सुगौली–सन्धीदेखिको प्रभुत्वलाई कायम गर्ने चाहना, चीनको नयाँ विश्वशक्तिको रूपमा यस क्षेत्रमा पनि प्रभाव विस्तार गर्ने चाहना र अमेरिका–यूरोप–जापानको चिनियाँ प्रभावलाई यस क्षेत्रमा विस्तारित हुनबाट रोक्ने चाहनालाई गहिरोसँग पर्गेलेर आफ्नो राष्ट्रिय हित अनुकूलको रणनीति तय गर्नुपर्ने बताएका छन् ।

बाबुराम भन्छन्,‘हामीले एकातिर कसैको परम्परागत प्रभुत्वलाई अन्त्य गरेर आफ्नो पूर्ण स्वाधीनता/सार्वभौमिकता/भौगोलिक अखण्डता कायम गर्नु छ भने अर्कोतिर कराइबाट उम्केर भुंग्रोमा खस्ने खतराबाट पनि मुक्त हुनु छ । यो डोरीमाथिको हिँडाइ नै आजको हाम्रो एकातिर ठूलो चुनौती र अर्कोतिर ऐतिहासिक अवसर दुवै हो । यसनिम्ति यथाशीघ्र देशका शीर्षस्थ नेताहरू र विविध क्षेत्रका विज्ञहरूको विचारमन्थनबाट राष्ट्रिय रणनीति तय गरौं र जनप्रतिनिधि तथा आम जनसमुदायको समेत सुझाव र सहमतिमा दृढतापूर्वक कार्यान्वयन गरौं ।’

प्रधानमन्त्री दाहाललाई तेस्रो सुझावको रुपमा बाबुरामले तत्काल चीन भ्रमणको सन्दर्भमा पहिले भएका सहमति कार्यान्वयन गर्ने र मुख्यतः चीनको विशाल बजारसँग जोडिने भौतिक तथा अन्य पूर्वाधार छिटो निर्माण गर्ने कुरामा विशेष जोड दिनुपर्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *