प्रधानमन्त्रीद्वारा अमेरिका जाने टोलीको आकार घटाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन निर्देशन दिएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रचण्ड २९ भदौमा अमेरिका जाँदैछन् । भ्रमणको एजेन्डाबारे परामर्श लिन आइताबार बोलाइएको बैठकमा भ्रमण टोलीको आकार ठूलो भएको भन्दै प्रश्न उठेको थियो । लगत्तै प्रधानमन्त्रीले भ्रमण टोली सानो बनाउन मुख्य सचिवलाई निर्देशन दिएका थिए । ‘प्रधानमन्त्रीले त्यही छलफलमा प्रतिवद्धता जनाउनु भएको थियो, त्यसअनुसार मुख्य सचिवलाई निर्देशन दिनु भएको छ,’ स्रोतले भन्यो ।

यससँगै प्रधानमन्त्रीका सल्लाहकारुको भ्रमण रोकिएको छ । यसअघि मुख्य राजनीतिक सल्लाहकार, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिवसमेत गरी २४ जना भ्रमण टोलीमा थिए । यसअघि अमेरिका जाने भनेर निर्णय भएका मुख्यसचिव अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीको नामसहित प्रधानमन्त्री कार्यालयका केही सहसचिव र उपसचिवको नाम पनि भ्रमण टोलीको सदस्यबाट कटौतीमा परेको छ। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल पनि हटाइएको छ। परराष्ट्रमन्त्री एनपी साउद, उनका स्वकीय सचिव दीपक जोशी, परराष्ट्र सचिव भरतराज पौड्याल, सहसचिव सेवा लम्साललगायत प्रतिनिधि भ्रमण दलमा रहने बताइएको थियो ।

अब प्रधानमन्त्रीले सानो टिम बनाउन गरेको आग्रहका आधारमा यी मध्ये कति पर्छन् भन्ने टुंगो लागेको छैन ।
अब प्रधानमन्त्री प्रचण्ड, प्रधानमन्त्रीका छोरी गंगा दाहाल, सुरक्षा स्टाफ (पिएसओ) परराष्ट्रमन्त्री, परराष्ट्र सचिव र प्रधानमन्त्रीका फोटो पत्रकारलाई मात्र समेटेर भ्रमण टोली बनाइएको छ ।

बाँकी टोलीका सदस्यहरु कटाएर सानो बनाउने गृहकार्य छ । ‘मुख्य सचिवले ५ सदस्यीय बनाउने भन्नुभएको छ’ एक अधिकारी भन्छन्, ‘कोको भन्ने टुंगो लागेको छैन ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *