दुर्गा प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे गृहले बनायो समिति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रयोग गर्ने अनुमति पाएको हात हतियार छानबिन गर्न सरकारले छानबिन समिति बनाएको छ ।

शुक्रबार गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएको छ । समितिमा गृह मन्त्रालयका उपसचिव (कानून) का ऋषि पौडेल, नेपाल प्रहरीका प्रहरी उपरिक्षक सन्तोष भट्टराई, र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य रहेका छन् । जिल्ला प्रशासन कार्यालय, झापाबाट २०७५ असार २१ मा दुर्गाप्रसाद प्रसाईको नाममा इजाजतपत्र नम्बर १०१३१ मा जारी भएको २२ बोर ए३५४७५२ नम्बरको हतियारको इजाजतपत्र तथा त्यसको नवीकरण सम्बन्धमा छानबिन गरी दोषीमाथि कारबाहीको सिफारिस गर्न समितिलाई कार्यादेश दिइएको छ । गत ५ गते सर्वोच्च अदालत परिसरमा हतियारसहित दुर्गा प्रसाईंको अंगरक्षक दीपक खड्का र रामकुमार धिमाल पक्राउ परेका थिए । उनीहरुले दुर्गा प्रसाईंले अनुमति लिएको हतियार बोकेका थिए ।

‘सर्वोच्च अदालतबाट कानूनविपरीत इजाजतपत्र जारी भएको देखिन आएकोले सो इजाजतपत्र के कसरी नवीकरण भएको हो भन्ने सम्बन्धमा आवश्यक छानविन गर्न तथा अदालत, न्यायिक निकाय वा अन्य संवेदनशील क्षेत्रमा कुनै पनि हतियार लिई प्रवेश गर्न नपाउने सम्बन्धमा आवश्यक व्यवस्था गर्नु भनी आदेश जारी भएको सन्दर्भमा व्यक्तिसँग रहेका हातहतियारको दुरुपयोग हुन नदिन र सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि गर्नुपर्ने कामका विषयमा कार्य प्रारम्भ गरेको मितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्न छानबिन समिति गठन गरिएको छ,’ मन्त्रिस्तरीय निर्णयमा भनिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *