संखुवासभादेखि पर्सासम्मका नौ क्षेत्रमा कांग्रेसले सजिलै चुनाव जित्ने

काठमाडौं । सत्तारुढ गठबन्धनका कारण नेपाली कांग्रेसले ११ वटा निर्वाचन क्षेत्रमा सजिलै चुनाव जित्ने देखिएको छ ।
अघिल्लो संखुवासभामा एमालेका राजेन्द्र गौतमले कांग्रेसका दीपक खड्कालाई एक हजार एक सय ३० मतान्तरले पराजित गरे ।

गौतमले ३२ हजार सात सय ६९ र खड्काले ३१ हजार ६ सय ३९ मत ल्याएका थिए । यसपटकको निर्वाचनमा पनि गौतम र खड्का नै उम्मेदवार छन् । सत्तारूढ गठबन्धनको तर्फबाट स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मत कांग्रेसको ३० हजार आठ सय ४९, माओवादीको सात हजार एक सय २२ र एकीकृत समाजवादीको एक हजार एक सय एक मत छ । यस्तै, एमालेको ३२ हजार नौ सय ११ र जसपाको चार सय ७१ मत छ । त्यसैले खड्काले सजिलै जित्ने देखिन्छ ।

मोरङ ३ मा एमालेका भानुभक्त ढकालले कांग्रेसका सुनील शर्मालाई एक हजार नौ सय सात मतले पराजित गरेका थिए । ढकालले ४२ हजार चार सय १३ र शर्माले ४० हजार पाँच सय ६ मत ल्याएका थिए । यसपटकको निर्वाचनमा पनि ढकाल र शर्मा नै प्रतिस्पर्धामा छन् । राप्रपाकी रेखा थापाले पनि आफूलाई दाबेदारको रूपमा अघि सारेकी छिन् । स्थानीय तहमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार कांग्रेसको ३६ हजार नौ सय १६, माओवादीको सात हजार तीन सय ७३ र एकीकृत समाजवादीको एक हजार आठ सय ५५ मत छ । एमालेको ३७ हजार चार सय १०, राप्रपाको दुई हजार एक सय २१ र जसपाको चार सय ६३ मत छ । यस आधारमा शर्मा बलियो छन् ।

नवलपरासी २ मा अघिल्लो निर्वाचनमा एमालेका तिलबहादुर महतले कांग्रेसका विष्णुकुमार कार्कीलाई एक हजार तीन सय ३३ मतान्तरले पराजित गरेका थिए । महतले ३९ हजार ५३ र कार्कीले ३७ हजार सात सय २० मत ल्याएका थिए । यसपटकको निर्वाचनमा पनि महत र कार्की नै प्रतिस्पर्धामा छन् । गठबन्धन मात्र फेरिएको छ । गत स्थानीय तहमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार कांग्रेसको ३८ हजार ६ सय १९, माओवादीको एक हजार सात सय ४२ र एकीकृत समाजवादीको दुई सय १४ मत छ । एमालेको ४१ हजार सात सय ९८ र जसपाको तीन सय तीन मत छ । एमालेको असन्तुष्टिको फाइदा कांग्रेसका कार्कीले लिने देखिन्छ ।

मोरङ २ मा अघिल्लो निर्वाचनमा कांग्रेसका मीनेन्द्र रिजालले एमालेका ऋषिकेश पोखरेललाई एक हजार आठ सय पाँच मतान्तरले पराजित गरेका थिए । रिजालले ३५ हजार आठ सय १९ र पोखरेलले ३४ हजार १४ मत ल्याएका थिए । यसपटक कांग्रेसले सुजाता कोइरालालाई अघि सारेको छ । एमालेले भने पोखरेललाई नै उम्मेदवार बनाएको छ । गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार कांग्रेसको २८ हजार ६ सय १७, माओवादीको सात हजार दुई सय ७१, लोसपाको पाँच सय ६६ र एकीकृत समाजवादीको एक सय ८० मत छ । एमालेको ३१ हजार तीन सय ३० मत छ । राप्रपाको दुई हजार ६९ मत छ । त्यसैले सुजाताले चुनाव जित्ने देखिन्छ ।

सर्लाही ४ मा अघिल्लो निर्वाचनमा अमरेशकुमार सिंहले राजपाका राजेशकुमार मिश्रलाई एक हजार पाँच सय ३९ मतान्तरले पराजित गरेका थिए । सिंहले २९ हजार ६ सय ७५ र मिश्रले २८ हजार एक सय ३६ मत ल्याएका थिए । यस निर्वाचनमा कांग्रेसले नागेन्द्र कुमारलाई उठाएको छ । टिकट नपाएपछि सिंहले बागी उम्मेदवारी दिएका छन् । जसपाबाट राजेशकुमार मिश्र उम्मेदवार छन् । लोसपासहित सत्तारूढ गठबन्धनले कुमारलाई साथ दिएका छन् भने एमालेले मिश्रलाई समर्थन गरेको छ । गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार नागेन्द्र कुमारको पक्षमा कांग्रेसको २३ हजार एक सय ३१, माओवादीको १८ हजार ६ सय १५, लोसपाको १४ हजार सात सय ३१ र एकीकृत समाजवादीको ६ सय नौ मत छ ।

मिश्रको पक्षमा एमालेको ११ हजार ६ सय ७४ र जसपाको ६ हजार चार सय ३३ मत छ । जनमत पार्टीको दुई हजार ६ सय १२ र राप्रपाको तीन सय ९७ मत छ । नागेन्द्र सांसद बन्ने देखिन्छ ।रौतहट २ मा कांग्रेसका मोहम्मद अफ्ताब आलमले संघीय फोरमका किरणकुमार साहलाई एक हजार नौ सय ६९ मतान्तरले पराजित गरेका थिए । आलमले १८ हजार आठ सय ३३ र साहले १६ हजार आठ सय ६५ मत ल्याएका थिए ।

कांग्रेसले यसपटक रौतहट २ मा आलमका छोरा मोहम्मद फिर्दोष आलमलाई उम्मेदवार बनाएको छ । जसपाका शैलेन्द्र साह उम्मेदवार छन् । आलमलाई लोसपासहित सत्तारूढ गठबन्धनको साथ छ भने साहलाई एमालेले पनि समर्थन गरेको छ । गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार कांग्रेसको २० हजार चार सय सात, एकीकृत समाजवादीको १० हजार दुई सय ६७, माओवादीको आठ हजार दुई सय २३ र लोसपाको पाँच हजार दुई सय ७३ मत छ । यस्तै, एमालेको १६ हजार एक सय ५९ र जसपाको ११ हजार पाँच सय २४ मत छ । जनमत पार्टीको एक हजार दुई सय सात मत छ ।

काठमाडौं ६ मा कांग्रेसका भीमसेनदास प्रधानले माओवादीका झक्कु सुवेदीलाई एक हजार तीन सय मतान्तरले पराजित गरेका थिए । प्रधानले १६ हजार सात सय ८५ र सुवेदीले १५ हजार चार सय ८६ मत ल्याएका थिए । यसपटकको निर्वाचनमा पनि कांग्रेसले प्रधानलाई नै अगाडि सारेको छ । सुवेदीको पार्टी माओवादीको साथ पनि कांग्रेसलाई नै छ । एमालेले पूर्वआइजिपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ । गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार कांग्रेसको १७ हजार दुई सय ७७, माओवादीको दुई हजार चार सय ६२ र एकीकृत समाजवादीको एक हजार आठ सय ५९ मत छ । एमालेको १४ हजार तीन सय तीन मत छ भने राप्रपाको मत एक हजार आठ सय १६ छ । प्रधान फेरि सांसद बन्ने देखिन्छ ।

पर्सा २ मा अघिल्लो निर्वाचनमा तत्कालीन संघीय फोरमका विमलप्रसाद श्रीवास्तवले कांग्रेसका अजयकुमार चौरसियालाई एक हजार चार सय ६५ मतान्तरले पराजित गरेका थिए । श्रीवास्तवले २१ हजार एक सय ६९ र चौरसियाले १९ हजार सात सय चार मत ल्याएका थिए । यसपटक पनि कांग्रेसबाट चौरसिया नै उम्मेदवार छन् । जसपाबाट सुरेन्द्र कुर्मी प्रतिस्पर्धामा छन् । चौरसियालाई लोसपासहित सत्तारूढ गठबन्धन र कुर्मीलाई एमालेको समर्थन छ । गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार कांग्रेसको २० हजार आठ सय १९, लोसपाको तीन हजार तीन सय १३, एकीकृत समाजवादीको दुई हजार ९२ र माओवादीको एक हजार नौ सय ९५ मत छ । एमालेको १६ हजार नौ सय ३५ र जसपाको १५ हजार तीन सय २८ मत रहेको छ । चौरासियाले सजिलै चुनाव जित्नेछन् ।

पर्सा ३ मा अघिल्लो निर्वाचनमा तत्कालीन संघीय फोरमका हरिनारायण रौनियारले कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई एक हजार तीन सय ६७ मतान्तरले पराजित गरेका थिए । रौनियारले १५ हजार एक सय ६८ र चौधरीले १३ हजार आठ सय एक मत ल्याएका थिए । एमाले–जसपा गठबन्धनमा यो क्षेत्र एमालेको भागमा परेको छ । एमालेबाट राजकुमार गुप्ता उम्मेदवार छन् । कांग्रेसका सुरेन्द्र चौधरी प्रतिस्पर्धामा छन् । गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतअनुसार कांग्रेसको २४ हजार एक सय १९, लोसपाको दुई हजार आठ सय ८७, माओवादीको दुई हजार सात सय ८० र एकीकृत समाजवादीको एक हजार चार सय ६० मत छ । एमालेको २० हजार ६३ र जसपाको १० हजार सात सय ८७ मत छ । राप्रपाको पाँच सय १० मत छ । यसपटक सुरेन्द्र चौधरीले बाजी मार्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *