तेस्रो राष्ट्रपतिको खोजी, को बन्ला ?

काठमाडौं । दोस्रो कार्यकाल पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी निकट भविष्यमै घर फर्कंदैछिन् । उनी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति पनि हुन् । गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा।रामवरण यादवले पनि करिब सात वर्ष शीतल निवासमा बिताएका थिए ।

अब तेस्रो राष्ट्रपतिको खोजी सुरु भएको छ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले नै नयाँ सरकार बनाउने लगभग निश्चित छ, तर गठबन्धनको आकार प्रस्ट भइसकेको छैन । पाँचदलीय चुनावी गठबन्धनको बहुमत नभएकाले अन्य दललाई पनि समेट्ने कोसिस चलिरहेको छ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा आउन खोजिरहेका छन् । त्यसकारण पावर सेयरिङका विषयमा औपचारिक रूपमा छलफल भएको छैन ।

गठबन्धनमा आबद्ध दललाई मनाएर आफ्नो नेतृत्वमा सरकार र कांग्रेसबाटै राष्ट्रपति बनाउने प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको योजना छ । प्रधानमन्त्री देउवा सकेसम्म सांसद नभएको व्यक्तिलाई राष्ट्रपतिमा पठाउने पक्षमा छन् । सरकार निर्माणका लागि एक मत पनि महत्त्वपूर्ण रहेकाले संसद् बाहिरबाट राष्ट्रपति बनाउने पक्षमा उनी रहेको स्रोतले जनाएको छ ।

कम्युनिस्ट व्यक्ति राष्ट्रपति हुँदा सरकार सञ्चालनमा कतिसम्म सकस हुँदो रहेछ भन्ने राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्टि गरेकी छन् । उनले कम्युनिस्ट प्रधानमन्त्री हुँदा एउटा व्यवहार र कांग्रेस प्रधानमन्त्री हुँदा फरक व्यवहार गर्दै आएकी छन् । यही कारण पनि प्रधानमन्त्री देउवा कांग्रेसबाटै राष्ट्रपति बनाउने मनस्थितिमा देखिएका हुन् । कांग्रेसमा पनि अरु राजकीय पद बाँडफाँड गरेर भए पनि राष्ट्रपति आफैंले राख्नुपर्ने आवाज प्रबल बन्दै गएको छ ।

नेताहरूका अनुसार अबको सरकार गठनको समीकरण बनेसँगै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख र सातै प्रदेशमा मुख्यमन्त्री पद बाँडफाँट हुनेछ ।

राष्ट्रपति कसको भागमा पर्छ भन्ने निश्चित भइनसके पनि आकांक्षीले दौडधुप गरिरहेका छन् । आकांक्षीमध्ये धेरैजसो नेता आफ्नो राजनीतिक जीवनको उत्तरार्द्धमा रहेकाले यसपटक सकेसम्म उच्च संवैधानिक पद प्राप्तिका लागि अन्तिमसम्म प्रयास गर्ने तयारीमा रहेको देखिएको छ । कांग्रेसबाट राष्ट्रपति भएमा रामचन्द्र पौडेल सबैभन्दा अगाडि छन् ।

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ तीन प्रतिशत मत नपुर्‍याएपछि एकीकृत समाजवादी राष्ट्रिय दल बनेको छैन, जसले नेपालमाथि दबाब बढेको छ । १० सिटमा सीमित भएका कारण एकीकृत समाजवादीको राजनीतिक दाबी कमजोर भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्री आफू बन्न नसके राष्ट्रपति पाउनुपर्ने दाबी गर्दै आएका छन् । त्यसका लागि अहिलेदेखि नै उनले तीन नेतालाई प्रोजेक्सन गरिरहेका छन् ।

माओवादीका अग्निप्रसाद सापकोटा, कृष्णबहादुर महरा र नन्दबहादुर पुन राष्ट्रपति बन्न कसरतमा लागेका छन् । सापकोटा र महरा दुवै विवादास्पद नेता हुन् । बरु बाबुराम भट्टराईलाई राष्ट्रपति बनाउन माओवादीमै पनि बहस सुरु भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *