तीन प्रदेशमा एमालेको सरकार बन्ने निश्चित, अन्यमा कसको सम्भावना ?

काठमाडौं । आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वर्तमान पाँच दलीय सत्ता गठबन्धन छाडेर प्रधानमन्त्री बनेसँगै एमाले सत्तापक्षमा आएको छ । ४ मंसिरमा सम्पन्न आम निर्वाचनबाट प्रतिपक्षमा पुगेको एमालेलाई प्रचण्डको एक निर्णयले सत्तामा पुर्याएकाे हाे । यससँगै ७ प्रदेशमध्ये तीन प्रदेशमा एमालेको सरकार बन्ने निश्चित जस्तै छ ।

प्रदेश १, कर्णाली र गण्डकीमा एमालेको सरकार बन्ने देखिएको हो । प्रदेश १ मा हिक्मत कार्की, कर्णालीमा यमलाल कँडेल र गण्डकीमा खगराज अधिकारी मुख्यमन्त्री बन्नेछन् ।

उनीहरु तीनै जना एमाले स्थायी कमिटी सदस्य भएकाले मुख्यमन्त्री बन्ने निश्चित छ । कँडेललाई यसअघि मुख्यमन्त्री बन्ने बेला आफ्नै पार्टीका सांसदहरुले फ्लोर क्रस गरेर माओवादीका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

तर, मधेस प्रदेशमा जसपा र जनमतको टकराव पर्ने देखिएको छ । १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि ५४ सांसद आवश्यक पर्छ । प्रदेशसभामा २३ सांसदसहित नेकपा एमाले प्रदेशसभाको सबैभन्दा ठूलो दल बनेको छ भने २२ सांसद रहेको कांग्रेस दोस्रो स्थानमा छ । जसपा १६, जनमत पार्टी १३, लोसपाका ९, माओवादी केन्द्रसँग ८ र एकीकृत समाजवादीसँग ७ सांसद छन् ।

मधेस प्रदेशसभामा ६ जना स्वतन्त्र सांसद छन् । त्यस्तै राप्रपाका २, संघीय समाजवादी पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले एक–एक सांसद पाएका छन् । ५४ सांसद आवश्यक पर्नेमा एमाले, माओवादी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति, जनमत मिल्दा ६३ सांसद पुग्छन् । एमालेले प्रदेश १, कर्णाली र गण्डकी प्रदेशको नेतृत्वमा पाउँदा जनमत र जसपाको दाबी रहने देखिन्छ ।

यस्तै, सुदुरपश्चिममा माओवादीको खगराज भट्ट मुख्यमन्त्री बन्ने सम्भावना छ । बागमती पनि माओवादीले पाउने सम्भावना छ । बागमतीमा माओवादीका शालिग्राम जमरकट्टेल र सरल सहयात्री पौडेलबीच कडा टक्कर छ । यदि माओवादीले लुम्बिनी पाएमा बागमती एमालेले पाउनेछ । लुम्बिनीमा सत्ता समीकरण मिलाउँदा एमाले, माओवादी या नागरिक उन्मुक्ति पार्टीमध्ये एकले पाउने सम्भावना छ ।

जनमतबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस भने सत्ता बाहिर प्रतिपक्षमा बस्न पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *