चार मन्त्रालयका लागि एक दर्जन मन्त्रीका आकांक्षी भएपछि प्रचण्ड तनावमा

काठमाडौं । अहिलेको सरकार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको भए पनि यसको रिमोट बालकोटमा छ । एमाले अध्यक्ष केपी ओलीले जे चाह्यो त्यही हुने अवस्था छ । त्यसैले पनि प्रचण्डलाई आफूखुसी ढंगले चल्न सजिलो छैन ।

नेपालको संविधानमा प्रधानमन्त्रीसहित २५ जनाभन्दा बढी बनाउन मिल्दैन । २२ मन्त्रालय छन् । दुई राज्यमन्त्रीले गर्दा २४ हुन्छ । एक प्रधानमन्त्री हुँदा २५ हुन्छ । प्रचण्डले आफूसँग अहिले १८ वटा मन्त्रालय राखेका छन् । नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, रवि लामिछाने र अब्दुल खानलाई मन्त्रालयको पनि जिम्मा दिइएको छ । तीनजना अहिले पनि विना विभागीय मन्त्री छन् । उनीहरूलाई कुनै मन्त्रालय दिइएको छैन ।

संसद् बैठक पुस २५ गते बोलाइएको छ । बैठकले पहिले सभामुख चयन प्रक्रिया थाल्नेछ । त्यसपछि मात्र प्रचण्डले विश्वासको मत लिने र मन्त्रिपरिषद् विस्तार गर्ने अनुमान गरिएको छ । त्यसअघि पनि प्रचण्डले विश्वासको मत लिन सक्नेछन् । तर त्यो ओलीको इच्छामा भर पर्छ ।

अहिले मन्त्री बन्नका लागि माओवादीमा मारामार छ । प्रचण्डको नेतृत्वमा यो नै अन्तिम सरकार हुन सक्ने देखिएकाले माओवादीमा मन्त्री बन्नेको दौडधूप बढेको हो । माओवादीमा कम्तीमा १२ सांसद मन्त्रीको आकांक्षी छन् । प्रत्यक्ष निर्वाचित अधिकांश, केही समानुपातिक र राष्ट्रिय सभा सदस्यले पनि मन्त्रीका लागि लबिङ गरेका छन् । माओवादीबाट वर्षमान पुन, शक्ति बस्नेत, महेन्द्र यादव, रेखा शर्मा, हितराज पाण्डे, महेन्द्र शाही, अमनलाल मोदी, सुदन किराती, हितबहादुर तामाङ, माधव सापकोटा, सूर्यमान दोङ र हरि चौधरी आकांक्षी देखिएका छन् ।

माओवादीले अब चार मन्त्री मात्र पाउने छ । त्यसमा एउटा बाबुराम भट्टराई निकट महीन्द्र राय यादवलाई छुट्याउनुपर्ने हुन्छ । बाँकी तीनमा रेखा शर्मा, सुदन किराँती र वर्षमान पुन हुने स्रोतले बतायो । पुन रोल्पाबाट निर्वाचित सांसद हुन् । पार्टीमा उनी उपमहासचिव छन् । उनी पूर्वमन्त्री हुन् । उनले शान्ति तथा पुनर्निर्माण, अर्थ, ऊर्जा मन्त्रालय सम्हालिसकेका छन् । पुनले उपप्रधानमन्त्रीसहित गृह वा अर्थ मन्त्रालयको जिम्मा लिन चाहेका थिए ।

तर, दुवै मन्त्रालय अर्कैले लिइसकेका छन् । पुन प्रो–चाइनिज नेता हुन् । उनकै भूमिकाका कारण प्रचण्ड प्रधानमन्त्री बनेको चर्चा छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *