वाणिज्य बैंकले घोराहीका उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र दाङ जिल्लाको घोराही उपमहानगरपालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहीबार सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले हस्ताक्षर गरेका छन् ।
सम्झौता पछि उपमहानगरपालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोही उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ । सम्झौताले नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ संशोधन समेत अन्तर्गतको कर्जा कार्यान्वयनमा सहयोग पुर्याउने बैंकले जनाएको छ । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले युवामा उद्यमशीलताको विकास गरी राष्ट्रिय उत्पादन र रोजगारीमा जोड्न सघाउ पुर्याउने बताए । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले उद्यमशीलताको विकास भई सानो सानो आम्दानीका लागि वैदेशिक रोजगारीमा जाने संस्कारको न्यूनिकरण हुने बताए ।
उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अबलम्बन गरेको सहुलियतपूर्ण कर्जा प्रवाहको पृष्ठभूमिको बारेमा बताउँदै उत्पादन, रोजगारी र आय श्रृजना गरी आर्थिक विकासमा योगदान पुर्याइरहेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *