आजदेखि रामचन्द्र पौडेलको शीतल निवास यात्रा

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल सोमबारदेखि शीतल निवास छिर्दै छन् । उनलाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सोमबार दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ गराउँदै छन् ।

त्यसपछि राष्ट्रपति पौडेल आजैबाट देशको राष्ट्रपति पदमा आसीन हुनेछन् । उनी बिहीबार राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा ३३ हजार ८ सय २ मतभार पाएर निर्वाचित भएका थिए । संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्ष तोकिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज दिउँसो १ बजे हुने शपथ कार्यक्रममा पौडेललाई भण्डारीबाट पद हस्तान्तरणसँगै भण्डारीको बिदाइ कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । शपथपछि आजै पौडेल शीतल निवास सर्नेछन् भने वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आजै बालुवाटारस्थित जेठी छोरी उषाकिरण भण्डारीको निजी निवासमा सर्ने भएकी छन् । बूढानीलकण्ठ–२ चपलीस्थित भण्डारीको निजी निवास मर्मत गर्न दुई महिना लाग्ने भएकाले उनी छोरीकै घरमा सर्न लागेकी हुन् ।
राष्ट्रपति निर्वाचित भएलगत्तै पौडेलले नेपाली कांग्रेसको वरिष्ठ नेता, सांसद र साधारण सदस्य सबै पदबाट राजीनामा दिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेलको राजीनामा स्वीकृत गरिसकेका छन् । पार्टी नेतृत्व र राज्यको कार्यकारी भूमिका निर्वाह गर्न नपाए पनि पौडेलले देशकै सर्वोच्च पदमा आसीन हुने मौका पाएका छन् । जुन दुर्लभ नेताको भाग्यमा लेखिएको हुन्छ ।
२०६४ को संविधानसभा निर्वाचनपछि देशले पहिलो राष्ट्रपति नेपाली कांग्रेसका नेता रामवरण यादव पाएको थियो । अहिले अर्का नेता पनि कांग्रेसबाटै चुनिएका छन् । यसले पनि नेपालमा कांग्रेसको भूमिका कस्तो रहेछ भन्ने छर्लंग पार्छ । पौडेलसामु अब संविधानको संरक्षक र राज्यको अभिभावकको जिम्मेवारी थपिएको छ । यो पाँच वर्षे कार्यकालमा उनी आफ्नो जिम्मेवारीमा सफल हुने आमदेशवासीले अपेक्षा गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *