भाटभटेनीको वीरगन्जमा २४ औँ सुपर स्टोर खुल्दै


काठमाडौं । भाटभटेनीले मुलुकको अर्थव्यवस्था कोरोनाकालको भन्दा डरलाग्दो हुँदै गर्दा र उद्योगी व्यवसायी बैंकको ऋण तिर्न नसक्ने अवस्थामा पुग्दै गर्दा पनि देशको सबैभन्दा ठूलो डिपार्टमेन्टल स्टोर चेन भाटभटेनीले रोजगारी प्रवर्द्धन र व्यवसाय बढोत्तरीको काममा रोक लगाएको छैन । देशका प्रमुख सहरमा अहिले सटर खाली गरेर व्यवसायी पलाएन हुने अवस्था आएको छ । काठमाडौं, पोखरा, चितवन, विराटनगर, बुटवलगायतका क्षेत्रमा बैंक र वित्तीय संस्थाविरुद्धका साना ठूला आन्दोलन भइरहेका छन् । सरकारले लक्ष्य अनुसारको राजस्व उठाउन सकिरहेको छैन ।
अहिले बजारमा जस्तो संकट देखिएको छ, हामी पनि त्यही संकटबाट गुज्रिइरहेका छौँ, भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भने, यो संकटको बेलामा हामी अघि सरेनौँ भने मुलुक झनै डरलाग्दो अवस्थामा फस्ने देखिरहेका छौँ । जस्तोसुकै संकटका बेला पनि हामी पछि हट्न हुँदैन, मिल्दैन । त्यसैले, गाह्रासाह्रो भए पनि हामीले स्टोर विस्तारको काम रोकका छैनौँ । वीरगन्जमा २४ औँ स्टोर तयार पारेको र बिहीबार यसको समुद्घाटन हुने पूर्वसन्ध्यामा गुरूङ भन्छन्, आर्थिक समस्या परेको बेलामा चुपचाप बस्नु हुँदैन, आर्थिक क्रियाकलापलाई गति दिएर मात्र यो संकटबाट मुक्ति पाउन सकिन्छ । आर्थिक संकटका बेलामा देशलाई चाहिने भनेकै रोजगारीका अवसर हुन । जति बेरोजगारी कम हुन्छ, जनतालाई त्यतिनै सहज हुन्छ । संकटको बेलामा पनि रोजगारी सिर्जना गर्न सकिएको छ, यसमा मलाई खुसी लागेको छ । रु. २५० करोड लागतमा तयार भएको वीरगन्जको स्टोरमामात्रै करिब दुई सय जनाले रोजगारी पाउने उनी बताउँछन् । अहिले मात्र होइन, जुनबेला मुलुक कोरोनाले आक्रान्त भइरहेको थियो त्यो बेला पनि कर्मवीर गुरुङ व्यवसाय विस्तार गर्ने काममा अहोरात्र खटिरहेका थिए । कोरोनाकालपछि अहिलेसम्म पाँचठाउँमा भाटभटेनी सुपर स्टोर तयार गरेर सञ्चालनमा आइसकेका छन् । इटहरी, हेटौंडा, काठमाडौंको टोखा, ललितपुरको सानागाउँ र धनगढी यो बीचमा सञ्चालनमा आएका स्टोर हुन् । कोरोनाकालपछि अहिलेसम्म हामीले एक हजार बढी रोजगारी सिर्जना गरिसकेका छौँ, गुरुङले भने, त्यसमा पनि ९५ प्रतिशत महिलालाई रोजगारी दिएका छौँ । भाटभटेनीले अहिलेसम्म ६ हजार पाँच सयलाई रोजगारी प्रदान गरेको उनले बताए । हामीले २०८० भित्रै जनकपुर, झापाको विर्तामोड, दमकलगायतका क्षेत्रमा स्टोर सञ्चालनमा ल्याउने तयारी गरेका छौँ, रोजगारी सिर्जना गर्दै जाने हो । युवालाई स्वेदशमै रोकेर रोजगारी दिनुपर्छ भन्ने मेरो मान्यता हो, संकटलाई पार लगाउँदै अघि बढ्नुको विकल्प छैन । हामी कोरोनाकालमा पनि ग्राहकको घरदैलोमा पुगेर सेवा दिनुपर्छ भनेर लागेका थियौँ । दियौँ पनि, अब पनि रोकिनुहुँदैन । भाटभटेनीले तराई क्षेत्रमा सुपर स्टोर खोल्दै जाँदा छिमेकी देशका उपभोक्ता पनि सामान किन्न र सहज शपिङको मज्जा अनुभव गर्न नेपाल आउन थालेका छन् । विराटनगर, भैरहवा, नेपालगन्जमा भारतीयहरू सर–सामान किन्न र मनोरन्जन गर्नका लागि नेपाल आउने चलन सुरु भएको छ । वीरगन्ज, जनकपुर, बिर्तामोड र दमकका स्टोरमा पनि यो क्रम जारी रहने अनुमान भाटभटेनी व्यवस्थापनले गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *