जोशीको निक ट्रान्सफर्मरको अन्तर्राष्ट्रिय व्यापार


काठमाडौं । नेपाल ईकरात इन्जिनियरिङ कम्पनी लिमिटेड (निक)’ ले पुनः भुटानमा ट्रान्सफर्मर निर्यात सुरु गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९) महामारीको अन्त्य भएपछि ३ वर्षदेखि रोकिएको निर्यात सुचारु गरेको हो । कोरोना महामारीको अन्त्यसँगै विद्युतीकरणको काममा तीव्रता आएपछि भुटान पावर कर्पोरेशन लिमिटेड बिपिसीले ट्रान्सफर्मर खरिदका लागि ठेक्का आह्वान गरेको थियो । त्यसमा भारतलगायतका विभिन्न देशलाई पछि पार्दै निक बोलपत्रमा छनोट भएको थियो । ठेक्का पाए अनुसार ट्रान्सफर्मर उत्पादन गरी निर्यात सुरु भइसकेको निकका प्रबन्ध सञ्चालक कुशकुमार जोशीले बताए । ठेक्का सम्झौता अनुसार १४ करोड १४ लाख ३८ हजार रुपैयाँ (१० लाख ७१ हजार अमेरिकी डलर) बराबरको १५ केभिएदेखि १२५० केभिए क्षमतासम्मका १६० ट्रान्सफर्मरहरूको निर्यात सुरु भएको निकका जोशीले बताए । ‘अन्तर्राष्ट्रिय बजारमा पनि नेपालमा उत्पादित वस्तुहरूको प्रतिस्पर्धा छ, उनले भने, ‘नेपाली उद्योगले समेत निर्यात क्षेत्रबाट पर्याप्त विदेशी मुद्रा आर्जन तथा देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान गर्न सक्छ ।

सरकारले निर्यात करमा छुट दिएमा तथा अन्य सहुलियत प्रदान गरेमा भुटान लगायत दक्षिण एसियाली मुलुकमा समेत ट्रान्सफर्मर निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने उनको भनाइ छ । स्वदेशी बजार विस्तार गर्नुका साथै विदेश निर्यातमा समेत फराकिलो सम्भव्यता अध्ययन गरिरहेको जोशीले जानकारी दिए । निक र बिपिसबीच ट्रान्सफर्मर निर्यात गर्ने विषयमा २०७९ साल मंसिर २ गते (२०२२ नोभेम्बर १८) ठेक्का सम्झौता भएको थियो । सम्झौतामा सन् २०२३ मार्चभित्र निर्यात गर्नुपर्ने सर्त थियो । निकले यसअघि भुटानसहित बंगलादेशमा पनि यहाँ उत्पादित ट्रान्सफर्मर निर्यात गर्दै आएको थियो । केही अत्यावश्यक कच्चा पदार्थ विदेशबाट आयात गरी आफ्नो हेटौंडास्थित फ्याक्ट्रीमा उत्पादन गरेर स्वदेश तथा विदेशमा व्यापार व्यवसाय गर्दै आएको निकले ट्रान्सफर्मरमा देशलाई आत्मनिर्भर बनाउन सकिने गरी काम गरिरहेको छ । निकले स्वदेशभित्र पनि व्यापकरूपमा आफ्नो व्यवसाय विस्तार गरिरहेको छ ।

निकले प्राधिकरणका विभिन्न ठेक्कामा ९ हजार वितरण ट्रान्सफर्मर बिक्री गर्न ठेक्का पाएकोमा अहिलेसम्म ७ हजार हस्तान्तरण गरिसकेको जानकारी दिएको छ । वार्षिक १८ हजार थान ट्रान्सफर्मर उत्पादन क्षमता रहेको निकले स्वदेशभित्र ग्रामीण विद्युतीकरण, जलविद्युत आयोजना निर्माण क्षेत्र, सामुदायिक तथा सार्वजनिक संस्थाहरूसम्म ट्रान्सफर्मर व्यवसायको पहुँच पुर्याएको छ । निकले सन् १९९२ देखि ट्रान्सफर्मर उत्पादन तथा बिक्री, निर्यात गर्दै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *