परम्परागत घर र साँस्कृतिक सम्पदा टेकोको भरमा

ललितपुर । पाटन दरबार क्षेत्र आसपासमा केही परम्परागत घर र साँस्कृतिक सम्पदा टेकोको भरमा अड्डिएका छन् ।

ऐतिहासिक सम्पदा र पुराना कलात्मक शैलीका संरचनालाई आधुनिक संरचनाले विस्थापित गर्न थालेपछि त्यस्ता संरचना लोप हुँदै जान थालेका छन् ।

यहाँ अधिकांशले समयानुसार पुराना घरलाई भत्काएर नयाँ र आधुनिक शैलीका घर निर्माण गरेकाले परम्परागत पुराना घर निकै कम मात्रै देखिन्छन् ।

पाटन क्षेत्र आसपासका साँगुरा गल्लीमा टेकोले अडिएका पुराना र कलात्मक शैलीका घरको अवलोकन गर्दै विदेशी पर्यटकले तस्बिर खिचिरहेका देखिन्छन् ।

पारिवारिक भागबण्डाका साथै साँगुरो गल्लीका कारण भत्काउन नमिलेका घरहरु बाँकी छन् । दिनप्रतिदिन जीर्ण अवस्थामा रहेका कतिपय घरमा घाँस उम्रेका, पानी चुहिने र बस्नै नमिल्नेगरी भत्केका छन् । पुरानो भएकाले घरधनीले पनि संरक्षणमा खासै चासो गरेको देखिँदैन ।

मङ्गलबजार, गाबललगायत क्षेत्र आसपमासका ऐतिहासिक घरलाई विसं २०७२ को भूकम्पपछि टेको लगाएर अड्डयाइएका छन् ।

कलात्मक रुपमा निर्माण गरिएका ती घरमा परेवा र भङ्गेराले गुँड बनाएका देखिन्छन् । राणाकालीन समयमा निर्माण गरिएका सांस्कृतिक सम्पदा तथा परम्परागत घरलाई विसं १९९० को भूकम्पले केही क्षति गरेको थियो ।

विसं २०७२ को गोर्खा भूकम्पले क्षति पुर्‍याएको आठ वर्ष बितिसक्दा पनि ती संरचनालाई टेकोको भरमा जबरर्जस्ती अड्याइएका छन् ।

ललितपुर महानगरपालिका तिछुँ गल्ली जोम्बाहालका स्थानीय ८३ वर्षीय जुलमला चित्रकारले भने, “बाजेको पालामा निर्माण भएका घर निकै बलिया हुँदा रहेछन् ।

२०७२ सालको भूकम्पको कारण धेरै घर ढलेपनि केही परम्परागत घर ढलेका छैनन् ।” उनले अहिले आफ्नो घर पनि टेकोको भरमा अड्डाइएको बताए ।

“दिनप्रतिदिन जीर्ण बन्दै गएको घर कतिखेर ढल्छ पत्तो नहुने भएकाले, म अहिले अर्को घरमा बस्छु ।

यो पुरानो घरमा कोही बस्दैन रित्तो छ”, चित्रकारले भने । उनका अनुसार यस क्षेत्रमा दिनप्रतिदिन परम्परागत संरचना भत्काएर नयाँ संरचना निर्माण हुँदैछन् ।

“यही क्रममा नयाँ र आधुनिक संमचना निर्माण हुँदै जाने हो भने हामी नेवार समुदायको कलात्मक शैलीमा निर्माण भएका घरलाई कुनै दिन म्युजियममा खोज्नुपर्छ होला?”, चित्रकारले दुखेसो गरे । सरकारले परम्परागत घरको संरक्षण गरी उचित व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।

सरकारले भूकम्पपीडितको लागि केही रकम अनुदान दिने निर्णय गरे पनि अनुदानमा दिने थोरै रकमले घर भत्काउन मात्रै पुग्ने स्थानीय अरुण बर्जाचार्यले बताए ।

“घर भत्काउन मात्र पुग्ने रकम अनुदानमा दिइन्छ । घर भत्काउनु मात्र समस्याको समाधान नभएकाले भूकम्पको अनुदानसमेत लिएको छैन”, उनले भने ।

बर्जाचार्यका अनुसार पाटन क्षेत्र आसपासका विभिन्न गल्लीमा रहेका कलात्मक शैलीका अधिकांश घर टेकोको घरमा छन् ।

“नयाँ घर निर्माणका लागि आर्थिक अभाव हुने तथा अंशबण्डाका लागि लागि झनझटिलो प्रक्रिया भएकाले पनि अधिकांश घर टेकोको भरमा अडिएका छन्”, उनले भने ।इतिहास बोकेका सांस्कृतिक सम्पदा र परम्परागत घरलाई कसरी जगेर्ना गर्ने र लोप हुनबाट कसरी जोगाउने भन्नेमा यहाँका नेवार समुदाय चिन्तित छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *