एमाले सक्ने, माओवादीको बीउ जोगाउने नारायणकाजीको रणनीति

काठमाडौं । एकपछि अकोृ काण्डमा भिभिआईपी पक्राउ पर्न थालेपछि एउटा कित्तामा भुइँचालो गएको छ । त्यसैले अहिले सबैको ध्यान गृहमन्त्री नारायणकाजी श्रेष्ठतर्फ सोझिएको छ ।

सबैतिरबाट चासो र चिन्ता उत्पन्न हुन थालेपछि श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देश र जनताको हितविरुद्ध आफ्नो ब्यक्तिगत फाइदाको लागि किर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्नबाहेक निर्दोष कोही तर्सनु पर्दैन । दोषी र अपराधीलाई भने छुट हुनेछैन । अनि धनी र गरिब, सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुन सक्दैन । त्यस्तो अपेक्षा नगरौं ।’

गृहमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमा लेखेलगत्तै एमाले प्रचार विभाग उपप्रमुख गगन विष्टले सोमबार उनलाई काउन्टर जवाफ दिएका छन् । विष्टले सामाजिक सञ्जालमा गृहमन्त्री श्रेष्ठले एमालेलाई भ्रष्टाचार प्रकरणमा सिध्याउने र माओवादीको बीउ जोगाउन लागिपर्ने गोप्य मन्त्रणा गरेको लेखेका छन् । श्रेष्ठले आफू निकट केही पत्रकारलाई लञ्च दिँदै आफू नभएको भए माओवादीको संगठन नै सकिने उल्लेख गरेको विष्टले उल्लेख गरेका छन् । एमाले नसच्चिने हो भने भ्रष्टाचारको मुद्दा लगाएर ठेगान लगाउने चेतावनी दिएको विष्टले लेखेका छन् ।

‘गृहमन्त्री नारायणकाजी श्रेष्टले आफ्ना नजिकका केही सञ्चारकर्मीलाई निवासमा बोलाए भनेछन्– म नभएको भए माओवादी पार्टी टिक्ने थिएन। मैले नै माओवादीलाई टिकाएको छु। गृहमन्त्री श्रेष्टले प्रमुख प्रतिपक्ष दलमाथि विषवमन गर्न बोलाएको छलफलमा एमाले नसच्चिने हो भने भ्रष्टाचारको मुद्दा लगाएर सबैलाई जेल हाल्छु भनेछन्। सुराकी खर्चबाट दिवाभोज दिएका श्रेष्टले सबै मेरा कारणले राम्रो काम भएको भन्नसमेत पछि परेनछन् ।

भ्रष्टाचारीमाथि कारवाही गर्छु भन्दै श्रेष्टले एमालेलाई नछाड्ने बताउँदै बिष ओकल्नसमेत पछि परेनन्,’ विष्टले लेखेका छन्, ‘गृहमन्त्रीज्यू तपाईले नछोड्दा एमाले सकिने, छोड्दा एमाले रहने भन्ने होइन, आफ्नो काम गर्दै जानुहोस्। तर कमानसिङ लामाको करोडौं कुम्लाएर भिकारी बनाएको र भर्खरै एक हाइड्रोपावरबाट स्वार्थ लिन विदेशमा गएर डिल गरेको कुरा नबर्सिनुहोला ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *