ललिता निवासमा माधव, गौरकाण्डमा उपेन्द्र अनुसन्धानमा तानिए प्रचण्ड सरकार संकटमा

काठमाडौं । वर्तमान गठबन्धन सरकार एकपछि अर्को लफडामा फस्दै गएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको आठ महिना भएको छ । तर अहिलेसम्म सरकारले रफ्तार लिन सकेको छैन । प्रमुख प्रतिपक्षी दल एमालेले संसद् चल्न दिएको छैन भने सत्तारुढ दलकै नेताहरू विभिन्न काण्डमा फस्दै गएकाले प्रचण्ड सरकारले पूर्ण कार्यकाल बिताउन नसक्ने सम्भावना बढ्दै गएको हो ।

सत्तारुढ दलमध्येको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानमा तानिएका छन् । सर्वोच्च अदालतले नीतिगत निर्णय गर्नेलाई पनि अनुसन्धानको दायरामा तान्न आदेश दिइसकेको छ । हाल उनी युरोप भ्रमणमा छन् । स्वदेश फर्केलगत्तै उनीसँग सिआईबीले बयान लिने भएको छ ।

माधव नेपालसँगै बाबुराम भट्टराई पनि अनुसन्धानको दायरामा परेका छन् । दुवैजना प्रधानमन्त्री हुँदा ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने नीतिगत निर्णय भएको पाइएको छ । बाबुरामको पार्टी नेसपा पनि सरकारमा सामेल छ । माधव नेपालले प्रचण्ड पहिले प्रधानमन्त्री हुँदा उनले प्रधानमन्त्री निवास बालुवाटारको मास्टर प्लान बनाएको र त्यसलाई नै सहयोग गर्ने गरी नीतिगत निर्णय गरेको भनेर अभिव्यक्ति दिइसकेका छन् । जसकारण प्रचण्डसँग माधवको सम्बन्धमा तिक्तता आइसकेको बुझ्न सकिन्छ । आफू अनुसन्धानमा तानिए माधवले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना उत्तिकै छ ।

अर्कोतिर जसपा अध्यक्ष उपेन्द्र यादवले त सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिइसकेका छन् । जसपाको बुधबार बसेको कार्यकारिणी समितिको बैठकले गौर हत्याकाण्डको अनुसन्धान अघि बढाए सरकारबाट बाहिरिने निर्णय गरेको हो । जसपाले १७ वर्षअघि भएको गौर हत्याकाण्डका विषयमा सरकारले पीडितसँग गरेको पाँचबुँदे सहमतिलाई लिएर असन्तुष्टि जनाएको छ ।

सत्ता गठबन्धन दलको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले गौर घटनाको विषयलाई लिएर सरकारले गरेको सहमतिको विरोध गरेका छन् । उनले १७ वर्षअघिको घटनालाई ब्युँताउने काम भएको भन्दै यसले गठबन्धन दलभित्रको सहयात्रालाई नै अप्ठ्यारो पार्नेसम्मको चेतावनी दिएका थिए । बैठकमा यादवले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग गौर घटनाको विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नसमेत मागेका थिए ।

गठबन्धनको बैठकलगत्तै अध्यक्ष यादवले पार्टी कार्यालय ललितपुरमा आफ्नो पार्टीका नेतासँग आन्तरिक छलफल गरेका थिए । घटनाको विषयमा सरकारले पीडित पक्षसँग सहमति गर्दा आफूहरुको धारणा नमागी एकपक्षीय ढंगबाट अघि बढेको भन्दै प्रधानमन्त्रीको कार्यशैलीको विरोध गरेका थिए ।२०६३ चैत ७ गते रौतहटको गौरमा तत्कालीन माओवादी र मधेसी जनअधिकार फोरमका कार्यकर्ताबीच झडप हुँदा २७ जना मारिएका थिए भने ११५ जना घाइते भएका थिए ।

पीडितले दिएको किटानी जाहेरीमा जसपा अध्यक्ष उपेन्द्र यादवको समेत नाम छ । त्यसैले उपेन्द्र छानबिनमा तानिए जसपा सरकारबाट बाहिरिने निश्चित छ । यसले प्रचण्ड अल्पमतमा पर्ने देखिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *