सुन तस्करी प्रकरण : हालसम्म को-को परे पक्राउ ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर बाहिरएको अवस्थामा बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा हालसम्म २५ जना पक्राउ परेका छन् । बिहीबार भारतमा एक जना पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या २५ पुगेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दिल्लीस्थित नेपाली राजदूतावासका कन्सुलर प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीसँगको समन्वयनमा सुन तस्करीमा संलग्न आरोपित किशोर बस्नेतलाई पक्राउ गरि काठमाडौं ल्याएको छ । त्यस्तै सीआईबीले बुधबार मात्रै गणेश पौडेललाई पक्राउ गरेको थियो । त्यसअघि सीआईबीको टोलीले भदौ १ गते दुई चिनियाँ नागरिक याओ पुचेङ्ग, लि वेन सुङ्गलाई पक्राउ गरेको थियो । उनीहरु दुबै जनालाई सीआईबीको टोलीले त्यतिबेला काठमाडौंबाटै पक्राउ गरेको थियो। यसअघि साउन ३१ गते नै सीआईबीको टोलीले ४ चिनियाँलाई पक्राउ गरेको थियो। टियान मि, विङ टङ, डिङ सेग्फा, लि नेङकाईलाई पक्राउ गरेको थियो।

सुन बरामद भएको घटना सार्वजनिक भएको भोलिपल्टै चीन भाग्न लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ४ गते लिन चुवान भनिने जिक्वान लिनलाई पक्राउ गरेको थियो। सुन बरामद भएकै रात साउन २ गते राजस्वको टोलीले ६ जनालाई पक्राउ गरेको थियो।

भन्सार पास गराएर ट्याक्सीमा राखेर गन्तव्यतर्फ लैजाँदै गर्दा विभागको टोलीले ट्याक्सी चालक अशोक रानामगरलाई नियन्त्रणमा लिएको थियो । लामा बा २ ज २३२४ नम्बरको ट्याक्सी चालक हुन् । उनकै ट्याक्सीमा राखेर सुन भन्सार कार्यालयबाट बाहिर निकालिएको थियो । उनीसँगै सुन आएको रेडी ट्रेडका सञ्चालक दोलखा घर भइ काठमाडौं बस्दै आएका २१ वर्षीय दीलिप भुजेल पनि पक्राउ परेका थिए । भुजेलको रेडी ट्रेडमार्फत् स्कुटर तथा मोटरसाइकलको ब्रेक प्याडको रुपमा उक्त सुन भित्रिएको थियो ।

त्यसैगरी दोलखा मेलुङ गाउँपालिका–३ घर भइ काठमाडौंको स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, भोजपुरको अरुण गाउँपालिका–४ घर भइ काठमाडौंको बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र तिब्बतियन मुलका भारतीय नागरिक दिल्ली घर भइ हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षीय थाप्तेन छिरिङ, भन्सार एजेन्ट राजेन्द्र राई गरी ६ जना पक्राउ परेका थिए ।

साउन ४ गते राति नै राजस्वको टोलीले तीन जना कार्गो कम्पनीको सञ्चालकहरू राजनराज श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्टलाई पक्राउ गरेको थियो। साउन ७ गते ३ भन्सार कर्मचारी र ३ भन्सार एजेन्ट पनि पक्राउ परेका थिए। विमानस्थल भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल, एक्स–रे अपरेटर सरोज श्रेष्ठ गरी तीन भन्सार कर्मचारी पक्राउ परे। त्यसैगरी भन्सार एजेन्टहरू सुदर्शन गौतम, रुक्मणी सुब्बा र यादव पराजुली पक्राउ परेका थिए ।

साउन १० गते नुवाकोट घर भएका सुरेन्द्र तामाङ पक्राउ परे । साउन १४ गते भने राजस्वको टोलीले ठमेलस्थित भियना होटलका सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये रुक्मणीलाई हाजिरी जमानीमा छाडिएको छ ।
क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ–काठमाडौं उडानबाट ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएपछि राजस्वको टोलीले अपरेशन चलाएको थियो ।

सुरुमा राजस्वले अनुसन्धान गरे पनि प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि अहिले सीआईबीले यो प्रकरणको अनुसन्धान गरिरहेको छ । यो सुन तस्करी प्रकरणको अनुसन्धानमा सीआईबीले विशेषगरी प्राविधिक पक्षलाई केन्द्रमा राखेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *