महिलाविरुद्ध हुने सबै प्रकारका विभेद अन्त्य गर्न जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस शुक्रबार नेपालमा ‘महिलामा लगानी स् सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नारासहित मनाइँदैछ ।

प्रधानमन्त्री प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा महिला अधिकारकर्मीलगायत महिला हक अधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा कार्य गर्दै आएका सम्पूर्ण संघसंस्था तथा व्यक्तिहरूमा शुभकामना व्यक्त गरिएको छ । यसवर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको लागि संयुक्त राष्ट्र संघले ‘इन्भाइट इन हुमेन एक्सेलेरेट’ भन्ने नारा तय गरेको छ । प्रधानमन्त्री प्रचण्डले महिलाको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक हक अधिकार सुनिश्चित गर्न आफ्नो जीवन अर्पण गर्ने सम्पूर्ण शहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ । राष्ट्रपति, उपराष्ट्रपतिदेखि स्थानीय सरकार तथा राज्यका सम्पूर्ण अङ्गहरूमा महिलाहरूको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गरेको छ । सम्पत्तिमा समान अधिकारको प्रत्याभूति, प्रतिस्पर्धात्मक क्षमताको विकास, आत्मनिर्भरता, रूढीवाढी चिन्तन र मान्यतामा गुणात्मक हेरफेर आएको छ। महिलाको हक हित र अधिकारको संरक्षण एवम् प्रवर्द्धन, महिला सहभागिता, महिला सशक्तिकरण र समानताको लागि सरकारले विभिन्न नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरेको छ । देशको समृद्धिमा महिलाको योगदानको कदर गर्दै राज्यका विभिन्न संरचनामा महिलाको भूमिका विस्तार गर्न सरकारले विशेष जोड दिएको छ ।’

प्रधानमन्त्री प्रचण्डले तीनै तहका सरकार, निजी क्षेत्र, गैरसरकारी क्षेत्र तथा सरोकारवाला निकायबाट महिलाको क्षमता विकास, श्रम, सीप र सिर्जनालाई विकास प्रक्रियामा आवद्धता, लैङ्गिक मूलप्रवाहीकरण र सशक्तिकरणको लागि अधिकतम लगानी गर्न आवश्यक रहेकोमा जोड दिएका छन् ।

महिलामा गरिने लगानीले महिलासँगै परिवार, समाज हुँदै समग्र राष्ट्रलाई नै समृद्धिको मार्गमा पु¥याउनुका साथै लैङ्गिक समतामूलक राष्ट्र निर्माणमा समेत सहयोग पु¥याउने विश्वाससमेत प्रधानमन्त्रीले विश्वास व्यक्त गरेका छन् ।

उनले भनेका छन् । ‘विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूले समेत लैङ्गिक समानता र महिलाको सशक्तिकरणलाई विशेष जोड दिएको विषय सर्वविदितै रहेको छ । शिक्षा, स्वास्थ्य, रोजगारी, गरिबी निवारण, जीविकोपार्जनमा सुधार, सामाजिक सुरक्षा, पूर्वाधार तथा प्रविधिमा पहुँच लगायतका विषयमा महिला लक्षित कार्यक्रमहरूमा लगानीलाई थप प्रभावकारी बनाउन आवश्यक देखिन्छ ।’ प्रधानमन्त्री प्रचण्डले महिलाको अर्थपूर्ण सहभागिता, प्रतिनिधित्व र नेतृत्व विकासमा जोड दिँदै महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र शोषणको अन्त्य गर्न जरुरी रहेको बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *