वाइवाइले नेपाल र भारतमा सँगै आईपीओ जारी गर्ने

काठमाडौं । चौधरी ग्रुपले उत्पादन गर्दै आएको वाइवाइ चाउचाउले नेपाल र भारतमा सँगै साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । डलर अर्बपति विनोद चौधरीको कम्पनीले सन् २०२६ भित्र नेपाल र भारत दुवै देशमा आईपीओ निष्काशनको तयारी गरिरहेको हो । सीजी फुड्स इन्डियाले वाइवाइको आईपीओ निष्काशनको तयारी गरिरहेको हो । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्माण चौधरीले नेपाल र भातरमा एकै साथ आईपीओ ल्याउने योजनासहित काम अघि बढाइरहेको बताए । ‘सन् २०२६ भित्र नेपाल र भारतमा एकै साथ आईपीओ निष्काशन गर्ने योजनसहित काम अघि बढाइरहेका छौं । सन् १९८४ देखि देशभर बिक्री सुरु भएको वाइवाइले अहिले विश्वका कयौं देशमा उत्पादन थालेको छ । वाइवाइले भारतमा नेस्ले लिमिटेडको म्यागी र आईटीसीको यिप्पी चाउचाउसँग प्रतिस्पर्धा गर्छ । सीजी फुड्स इन्डियाका ग्लोबल प्रमुख कार्यकारी अधिकृत (सीईओ) मानवेन्द्र शुक्लाले आउँदो दुई वर्षमा नयाँ उत्पादन बजारमा ल्याउँदै कम्पनी आईपीओ जारी गर्ने आकारमा पुग्ने बताएका छन् । ‘हामीसँग केही छ, जुन बजारमा अझै नक्कल भएको छैन’ शुक्लाले भनेका छन् । आधा दशकदेखि देशकै ठूलो व्यावसायिक घराना चौधरी ग्रुपका प्रमुख विनोद चौधरीले केही सार्वजनिक कार्यक्रमहरुमा आफ्नो लोकप्रिय उत्पादन ‘वाइवाइ’ चाउचाउले सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्काशन गर्ने बताउँदै आएका थिए । २०७६ साल मंसिर २९ गते पोखरामा भएको लिटरेचर फेस्टिवलमा पनि चौधरीले वाइवाइको आईपीओ ल्याउने बताएका थिए । ‘वाइवाइ चाउचाउ एक दिन स्टक एक्सचेञ्चमा सूचिकृत हुन्छ,’ चौधरीले भनेका थिए, ‘नेपालको पहिलो कम्पनी न्यूयोर्कको स्टक एक्सचेन्जमा सूचिकृत होस्, त्यसमा नेपाली सहभागी हुन सकुन भन्ने अपेक्षा रहेको छ । नेपालमा त निश्चिय नै हुन्छ । यसअघि पनि उनले विभिन्न फोरमहरुमा वाइवाइको आईपीओ निकाल्ने बताउँदै आएका थिए । वाईवाई चाउचाउ विश्वभर राम्रो ब्राण्ड बन्ने क्रममा छ । सन् १९८४ देखि मुलुकभर बिक्री सुरु भएको वाइवाइले नै चौधरी ग्रुपका अध्यक्ष चौधरीलाई डलर अर्बपति बनायो । उत्पादन सुरु भएको चार दशकदेखि वाइवाइ नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्रान्डमा छ ।

वाइवाइ अहिले दुई दर्जन फ्लेबरमा प्रत्येक दिन १५ लाख प्याकेटभन्दा बढी उत्पादन भइरहेको छ । नेपाल धितोपत्र बोर्डले बुक बिल्डङ र प्रिमियममा आईपीओ निकाल्ने व्यवस्था पनि गरेको छ । जसअनुसार वाइवाइले आफ्नो ब्राण्ड भ्यालू तय गरेर प्रिमियममा आईपीओ निकाल्न सक्छ । वाइवाइ नेपालको प्रिमियम र लोकप्रिय ब्राण्ड हो । जसअनुसार यसको मूल्य उच्च हुनसक्छ । तर, त्यसका लागि सिजी फुड्स प्रालि पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण हुनुपर्छ । त्यसपछि मात्रै आईपीओ निकाल्न पाउँछ। वाइवाइ उत्पादन गर्ने सीजी फुड नेपाल प्रालिले एकैवर्ष ८ अर्बको व्यापार गरेको छ । आन्तरिक तथा बाह्य बजारमा पनि ठूलो सञ्जाल रहेको सीजी फुड नेपालले सन् २०२२ मा ८ अर्ब १ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२१ मा ७ अर्ब २३ करोड ४० लाख रुपैयाँ, सन् २०२० मा ५ अर्ब ६६ करोड ४० लाख रुपैयाँ र सन् २०१९ मा ६ अर्ब ८९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । थाइल्यान्डको थाइ प्रिजभ फुड फ्याक्ट्रीको सहकार्यमा चौधरी ग्रुपले सन् १९८४ देखि उत्पादन सुरु गरेको थियो । सीजीले उक्त कम्पनीमार्फत् वाइवाइसँगै रियो र क्विक ब्रान्डमा विभिन्न प्रकारका वस्तु बिक्री वितरण गर्दै आएको छ । कम्पनीमा निर्वाण चौधरीको ७६ प्रतिशत हिस्सा रहेको छ भने एम,एस एपोलो इन्भेष्टमेन्ट प्रालिको २० प्रतिशत, वरुण चौधरीको ४ प्रतिशत र राहुल चौधरीको ०.२ प्रतिशत हिस्सा छ ।

नेपालमा वाइवाइ चाउचाउ, चाउचाउको पर्यायवाची शब्द हो । पहाडदेखि तराईसम्म नेपालभर वाइवाइका प्रोडक्टहरु व्यापकरुपमा उपभोग भइरहेका छन् । नेपालीको घरघरमा वाइवाइको उपस्थिति र लोकिप्रियता पाउनुमा ‘वाइवाइ बिलेनियर’ भनेर चिनिने चौधरीको प्रमुख भूमिका छ । चार दशकदेखि ‘नम्बर वान’ चाउचाउ ब्रान्ड रहिरहनुका ७ कारणहरु यस्ता छन् । सन् १९५० दशकपछि नेपालमा पर्यटन क्षेत्र उल्लेख्यरुपमा विकास हुँदै गयो । त्यसपछि सन् १९६० र सन् १९७० को दशकमा नेपालीहरु विभिन्न कारणले विदेश यात्रामा निस्किन सुरु गरे । त्यसपछि नेपालमा विदेशी पर्यटक र मालसामान आयात हुन थाले । त्यसमध्ये एक चाउचाउ पनि थियो । यसैक्रममा गन्डकी नुडल्सले रारा चाउचाउ ९सेतो चाउचाउ० उत्पादन सुरु गर्यो । नेपालको पहिलो चाउचाउका रुपमा रारा आएपछि सिजीले नेपालको पहिलो (ब्राउन) चाउचाउको रुपमा ल्यायो वाइवाइ । यो तत्कालै लोकप्रिय भयो र २० वर्षदेखि बजार दबावमा राखेको भारतको म्यागी चाउचाउलाई प्रतिस्थापन गर्यो । वाइवाइ आएपछि नेपालमा प्रत्येक पसलमा चाउचाउ उपलब्ध भयो । यसलाई खाजाको रुपमा प्रयोग हुन थाल्यो ।

तर, यसलाई टक्कर दिने प्रतिस्पर्धीहरु भने बलियोरुपमा आउन सकेनन् । जस्तो कि रुची, मायोज र रमपम चाउचाउले सुरुमा राम्रो सफलता पाए तर अन्ततः असफल भए । प्रतिस्पर्धामा वाइवाइले अन्य सबैलाई हराउन सफल भयो । वाइवाइ चाउचाउ उत्पादन सुरु हुनुभन्दा पहिला नेपालमा भातरबाट म्यागी चाउचाउ आयात हुन्थ्यो । ब्राउन चाउचाउमा वाइवाइ नेपालको पहिलो चाउचाउ हो । नेपालमा पहिलो चाउचाउको रुपमा आएको वाइवाइले त्यसको फाइदा लिन सफल भयो । यदि कुनै पनि वस्तु पहिलो पटक उत्पादन भएमा उसले सजिलै ब्रान्ड बनाउन सक्छ । यस्तो उत्पादनले बजारमा जानुभन्दा पहिला नै ग्राहकको मन तान्न सफल हुन्छ । वाइवाइ पनि त्यस्तै मन जित्ने ब्रान्डमा पर्छ । नेपालमा कुनै पनि वस्तु बजारमा आएपछि यसको मूल्य प्रमुख विषय बन्छ । वाइवाइको लोकप्रियतामा पनि मूल्यले प्रमुख भूमिका खेलेको छ । ग्राहकले यो चाउचाउ वर्षौंसम्म सुलभ मूल्यमा पाएका छन् । अहिलेसम्म कसैले पनि वाइवाइको गुणस्तर बारेमा असन्तुष्टी जनाएका छैनन् ।

नेपालीले हरेक दिनरात यसको खपत गरिरहेका छन्। वाइवाइ चाउचाउप्रति नेपाली सहानुभूति राखेका छन् । नेपालमा वाइवाइको सफलतापछि यसले आफ्नो ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको छ । चौधरीका अनुसार दुवई एयरपोर्टमा आफ्नो लगेज पर्खिरहेको बेलामा वैदेशिक रोजगारीमा त्यहाँ पुगेका नेपालीहरुले कार्टुनका कार्टुन वाइवाइ बोकेको देखेपछि अन्तर्राष्ट्रिय बजारमा लैजाने आइडिया आएको बताएका छन् । वाइवाइ मन पराउने ति नेपालीले विदेशमा किन्न खोजेमा पाउँदैनथे । अहिले वाइवाइ भारत, काजक्स्तान, बंगलादेश, इजिप्ट र युरोपमा पुगेको छ । यो नै आफ्नो जीवनको सबैभन्दा ठूलो खुसीको क्षण भएको बताउँछन् । नेपालमा मोडलको प्रयोग गरेर विज्ञापन गर्ने कम्पनीहरुमध्ये वाइवाइ पनि हो, जसले गर्दा यो धेरै प्रभावकारी भयो । चाउचाउ बजारमा प्रतिस्पर्धी कम्पनीहरु थपिएपछि यसले विज्ञापन र मार्केटिङलाई एक ठूलो हतियारको रुपमा प्रयोग गर्यो । जसले गर्दा बजारमा प्रतिस्पर्धा गर्न र बजार हिस्सा बढाउन सहयोग गर्यो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *