सहमति कार्यान्वयन नभएपछि सत्ता गठबन्धनमा बस्नुको औचित्य छैन ःनेकपा एस

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नपाएको झोंकमा नेकपा एकीकृत समाजवादीले कांग्रेससमेतको समर्थनमा मुख्यमन्त्री दाबी गरेका नागरिक उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई सघाउने अडानलाई कायम राखेको छ । विगतको सहमति कार्यान्वयन नहुने हो भने सत्ता समीकरणमा बसिरहनुको औचित्य नहुने समाजवादीको चेतावनी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिक उन्मुक्ति पार्टी (रञ्जिता श्रेष्ठ) पक्षका कैलाश चौधरीलाई मुख्यमन्त्री दावी गर्न सघाएर आफ्नो दललाई मुख्यमन्त्री दिने सहमतिको उल्लंघन गरेको एकीकृत समाजवादीले जनाएको छ । सो पार्टीको काठमाडौंमा उपलब्ध केन्द्रीय सचिवालय सदस्यहरुको बैठकमा अध्यक्ष माधवकुमार नेपालले ओली र दाहालले सहमतिको उल्लंघन गरेको जानकारी गराएका थिए । उनले वाग्मती प्रदेशमा माओवादीको नेतृत्वमा सरकार गठन गर्ने बेला सुदूरपश्चिममा एकीकृत समाजवादीलाई दिने सहमति भएको उल्लेख गर्दै सुदूरपश्चिम सरकारमा मुख्यमन्त्री पार्टीको बटम लाइन भएको बताएका थिए । ‘केपी ओली र प्रचण्डले सुदूरपश्मि सरकार गठन गर्ने बेला मुख्यमन्त्री हामीलाई दिने वचन दिनुभएको थियो’ नेपालको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘हाल आएर सहमतिको उल्लंघन भयो । उनले आफ्नो दलले वाध्य भएर नागरिक उन्मुक्तिको (रेशम) पक्षका लक्ष्मणलाई मुख्यमन्त्री दावी गर्न सहयोग गरेको बताएका थिए । ‘सुदूरको मुख्यमन्त्री हाम्रो बटमलाइन हो’ उनको भनाइ थियो । सचिवालय सदस्यहरुले सत्ता समीकरणमा भएको सहमति अनुसार एकीकृत समाजवादीलाई कुनै पनि पद नदिने हो भने सहकार्यमाथि आशंका उत्पन्न हुने बताएका थिए । उनीहरुले एमाले अध्यक्ष ओलीको दवावका कारण सुदूरपश्चिमका मुख्यमन्त्री आफ्नो दललाई नदिएको दावी गरे । ओलीको कारण दाहालले पनि उन्मुक्ति रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीलाई समर्थन गरेको नेताहरुले बताएका छन् । समाजवादीको सचिवालय बैठकले तत्काल सुदूरपश्चिमको आफ्नो अडानलाई कायम राख्ने निष्कर्ष निकालेको छ । सो पार्टीका उपाध्यक्ष बेदुराम भुसालले गठबन्धनमा सहमति गर्दै जाने, तर कार्यान्वयन नगर्ने प्रवृत्तिले सहकार्यमा प्रश्न उठ्ने बताए । ‘वाग्मती सरकार बनाउने बेला सुदूरपश्चिम मुख्यमन्त्री हाम्रो दललाई दिने सहमति भएको थियो । तर अहिले आएर उल्लंघन भयो,’ उनले भने, ‘सुदूरपश्चिमको मुख्यमन्त्री हाम्रो बटमलाइन हो । सरकारले विश्वासको मत लिइसकेपछि एकीकृत समाजवादीको भूमिकालाई अवमूल्यन गरेको आरोप उनको थियो । ‘सत्ता समीकरण निर्माण गर्ने बेला भएका सहमति कार्यान्वयन नगर्ने हो भने गठबन्धनमा किन बस्ने ? भन्ने प्रश्न छन्,ु उनले भने, ‘अझै पनि सहमति कार्यान्वयन गर्न सकिने ठाउँछ । समीकरणमा भएका सहमति कार्यान्वयन नभएपछि बाध्य भएर कांग्रेसले समर्थन गरेको नागरिक उन्मुक्तिका उम्मेदवारलाई समर्थन गरेको उनको भनाइ छ । ‘सुदूरपश्चिममा सहमाति कार्यान्वयन नहुने हो भने त्यसको असर अरु प्रदेश र संघमा पनि पर्न सक्छ,’ उनले भने, ‘हाम्रो जोड सहमति कार्यान्वयन होस् भन्ने हो । उपाध्यक्ष भुसालले अब सहमतिका कार्यान्वयनका लागि सत्तारुढ दलबीच लिखित सहमति हुनुपर्ने बताए । ‘मौखिक सहमति कार्यान्वयन भएनन्, अब हामी लिखित र व्यवहारमै सहमति गर्ने पक्षमा छौँ, उनले सचिवालय बैठकको निष्कर्ष सुनाए । उता उन्मुक्तिको ‘घर झगडा’ का कारण उत्पन्न संकटलाई समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल गृहकार्य थालेका छन् । ‘नागरिक उन्मुक्ति घर झगडा मिलाएर सत्ता समीकरणतिर ल्याउन प्रधानमन्त्रीको पहल छ ।

‘त्यसो भयो भने एमाले, माओवादी र उन्मुक्तिको बहमुतको सरकार सहजै बन्छ । सुदूरपश्चिमको ५२ सदस्यीय प्रदेशसभामा कांग्रेस १८, माओवादी केन्द्र ११, एमाले १०, उन्मुक्ति पार्टी ७, एकीकृत समाजवादी ४, राप्रपा र १, १ सिट छ । नागरिक उन्मुक्तिमा रञ्जिताको पक्षमा २ र रेशम पक्षमा ५ सांसद विभाजित छन् । राष्ट्रिय सभा उपाध्यक्ष आफूलाई दिन ओली र दाहाल सुरुमा सकरात्मक भए पनि चुनावको ठिक अघि कुरा फेरेको दावी समाजवादीको छ । राष्ट्रिय सभा उपाध्यक्ष एमालेकी विमला घिमिरे निर्वाचित भइसकेकी छन् । एमालेका एक पदाधिकारीले सत्ता गठबन्धनलाई कमजोर पार्न सुदूरपश्चिम प्रदेश निर्माणबाट सुरु भएको बताए । एमालेका एक पदाधिकारीले सत्ता गठबन्धनलाई कमजोर पार्न सुदूरपश्चिम प्रदेश निर्माणबाट सुरु भएको बताए । उनले सुदूरपश्चिममा दोस्रो चरणमा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने समझदारी भए पनि सुरुमै पाउनु पर्ने अडान अस्वभाविक भएको बताए । ‘सुदूरपश्चिममा आफ्नो सरकार नबन्ने भएपछि उन्मुक्तिकै अर्को पक्षलाई समाजवादीले समर्थनको गर्नु गठबन्धन कमजोर पार्ने मनसाय देखिन्छ’ ती नेताले भने, ‘यो गठबन्धनलाई कमजोर पार्ने चलखेलको रुपमा बुझ्नुपर्छ । सत्ता गठबन्धनमा १० सिट सांसद रहेको नेकपा (एस) दाहाल नेतृत्वको सरकार ढुक्क हुने आधार बनेको छ । एमालेको ७६ (सभामुख र एक निलम्बनबाहेक) रास्वपाको २१, जसपाको १२, नेकपा (एस) को १० र नागरिक उन्मुक्तिको ५ गरी दाहाल सरकारलाई १ सय ५६ सांसदको समर्थन छ । सोमबारनै एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार संसदीय दलको बैठकमा एकीकृत समाजवादीले अवसरवादी चरित्र देखाएको आरोप लगाएका छन् । सुदूरपश्चिम प्रदेश सरकार गठनका प्रक्रियमा समाजवादीले कांग्रेस नेतृत्वको समीकरणलाई सहयोग गरेर दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको बताए ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठकमा ओली सुदूरपश्चिम प्रदेश सरकार गठनको विषयमासमाजवादीले लिएको नीति टिप्पणी गरेका हुन् । ’एस भन्ने पार्टी छ एउटा । त्यस पार्टीले हामीसँग हुँदा पहिलो कार्यकाल नागरिक उन्मुक्तिलाई दिन नसक्ने, हामी भन्दा पृथक हुने हो भने, अर्को गुटबाट जाने र कांग्रेससँग नजिक भएर कांग्रेसलाई जिताउने हिसाबले जाने हो भने यो समीकरणलाई कमजोर बनाउने’ उनको भनाइ थियो, ‘यसलाई असफल बनाउने हो भने नागरिक उन्मुक्तिलाई पहिलो कार्यकाल दिन पनि सहमत हुने । एकीकृत समाजवादी के नामको पार्टी, त्यसले अराजनीतिक निर्णय लियो । उनले एकीकृत समाजवादीलाई कम्युनिष्ट साईनबोर्ड राखेर व्यवहार अर्कै प्रदर्शन गरकोे आरोप लगाए । ‘नेकपा राख्ने अगाडि र काम चाँहि अरुको हितमा गर्ने र समाजवादको पक्षधरहरूलाई कमजोर पार्ने खालको भूमिका बाहिर देखियो, सडकमा देखियो,’ उनको भनाइ छ, ‘यसैले कुनै फरक पार्नेवाला छैन । एकीकृत समाजवादीको कदमले एमाले माओवादी, रास्वपालगायतले लिएको राजनीतिक कोर्समा आशंका पैदा गर्न लागेको पनि ओलीको भनाइ थियो । एकीकृत समाजवादीका नेताहरूले आन्तरिक बैठकहरूमा गर्ने बार्गेनिङ सार्वजनिक भएको पनि उनको भनाइ थियो ।

अहिले यतिबेला आन्तरिक रुपमा त्यसमा विपक्षहरूको आशा पलाउने गरी जनतामा आशंका, अन्यौल र निराशा केही मात्रामा भएपनि पैदा हुनेगरी त्यस पार्टीले कदम चाल्यो’ ओलीको आरोप थियो, ‘आन्तरिक रुपमा त्यसका बोली, व्यवहार, बार्गेनिङ सबै त्यस्तै खालको थिए तर हिजो बाहिर नै प्रकट भयो । माओवादीका एक वरिष्ठ नेताले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई विश्वासमा नलिई अघि बढ्न खोज्नु जोखिम हुने बताए । ‘सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा देखिएको संकेत सत्ता समीकरणका लागि राम्रो होइन’ उनको भनाइ थियो । एमाले, माओवादीसहित नयाँ समीकरण बनेपछि ओली र दाहालले नेपाललाई सरकारमा ल्याउन घरमै पुगेका थिए । त्यसबेला दुबै नेताले संघ र प्रदेश सरकारको नेतृृत्वमा रोलक्रम अनुसारै सम्मानजनक रुपमा अघि जाने बताएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *