सुप्रिम सहकारी प्रकरण अदालतमा, लामिछानेका नाममा पटक पटक रकम लिएको भेटियो

काठमाडौं । सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलबाट उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा पटक पटक रकम आएको अभियोजनसहितको मुद्दा अदालत पुगेको छ । ग्यालेक्सी टेलिभिजनको सञ्चालकको रुपमा रहेका लामिछानेको नाममा दुईपल्ट गरेर करिब चार करोड रुपैयाँ आएको देखिन्छ । जिल्ला सरकारी वकिल कार्यालयलले जिल्ला अदालत रुपन्देहीमा दायर गरेको अभियोजनमा उल्लेख भएअनुसार ग्यालेक्सी टेलिभिजनको एक लाख ८० हजार कित्ता सेयर बराबर एक करोड ८० लाख र थप ऋण वापत दुई करोड रुपैयाँ लामिछानेको नाममा गएको देखिएको छ । गोर्खा मिडिया नेटवर्कको ग्लोबल आइएमई बैंकको खाता नम्बर ००१–००१–०१५–००००२२४ मार्फत् रवि लामिछानेको नाममा जम्मा हुँदा सेवा शुल्क कट्टी गरेर एक करोड ९६ लाख रकम जम्मा भएको देखिएको हो ।

उक्त रकम २०७७ साल चैत १८ गते जम्मा भएको अभिलेख सरकारी वकिल कार्यालयले अदालत पेश गरेको अभियोजनमा उल्लेख छ । उक्त सहकारीबाट पटक पटक गरेर गोर्खा मिडिया प्रालिमा रकम आएको देखिएको छ । तर लामिछानेलाई भने प्रतिवादी बनाइएको छैन । लामिछाने निकट स्रोतले दिएको जानकारीअनुसार ऋण लिँदैमा प्रतिवादी बनाइहाल्नुपर्छ भन्ने लाग्दैन । ओखलढुंगाका गितेन्द्रबाबु राई (जीबी), स्याङ्जाका ओमप्रकाश गुरुङ, रोल्पाका दिपेशकुमार पुनलगायतका २८ जनालाई प्रतिवादी बनाइएको छ । पुन पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् । अहिलेसम्म उक्त सहकारी प्रकरणमा तीनजना पक्राउ परेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *