एसीसी प्रिमियर कप: नेपालले आज साउदी अरेबियासँग खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा आज साउदी अरेबियासँग खेल्दैछ । खेल मध्यहान्न ११ :४५ मा अल अमरेत क्रिकेट ग्राउन्ड-२ मा हुनेछ ।

नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ समुह विजेता बन्दै सेमिफाइनलमा पुगीसकेको छ । साउदी अरेबिया ३ खेलमा २ मा हार र एकमा जितसहित २ अंकका साथ तेस्रो स्थानमा छ । नेपाललाई हराउन सके ४ अंकका साथ सेमिफाइनल खेल्ने साउदीको बलियो सम्भावना छ । नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो । साउदीले हङकङविरुद्ध २०२ रन बनाउँदै ५५ रनको जित हात पारेको थियो । मलेसियासँग १२ रन र कतारसँग १५ रनले हारेको थियो ।

नेपालले सेमिफाइनलमा यूएईसँग खेल्ने सम्भावना छ । समूह बी मा ओमान ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । कुवेत ३ खेलमध्ये २ मा जित र एउटामा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । यूएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ । बहराइन ३ खेल र कम्बोडिया २ खेलमा अंक विहीन हुँदै पुछारमा छन् ।

सेमिफाइनल शुक्रबार, तेस्रो स्थानको लागि शनिबार र फाइनल खेल आइतबार हुनेछ । प्रतियोगिता विजेताले टी-२० एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोली एसीसी इमर्जिङ टिम्स एसिया कप पनि खेल्न पाउनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *