देशमा गृहमन्त्री पनि छन !

धुपको सिजन छ , पानी नपरेको पनि धेरै समय वितिसकेको छ । धुलो, आँधीहुरी, आगलागी आदिका कारण अनेक समस्याको सामना गर्नुपरिरहेको छ । प्राकृतिक प्रकोपसँग मानिसको केही लाग्दैन भन्ने सहज अभिव्यक्ति दिएर पन्छिने प्रवृति पुरानै हो । सरकार जनप्रतिनिधि र सरोकारवाला निकायले दैवी प्रकोप भनेर पन्छिने गरेका घटनाले नेपाल सरकारको औचित्यमाथि प्रश्न उठाउने काम गरेको छ । सरकार के को लागि हो , प्राकृतिक प्रकोपबाट जनतालाई पूर्णरुपले रक्षा गर्न नसकेपनि सम्भावित दुर्घटनाबाट बचाउन अनेक उपाय गर्न सक्छ । प्रभावकारी कदम उठाउन सक्छ । नेपालमा बर्षायाममा बाडीपहिरो, डुवान जस्ता घटनाले देशनै आक्रान्त बन्छ तर सरकार पीडितहरुप्रति हरदम उदासिन नै रहन्छ । प्रत्येक वर्ष यस्ता घटनाको बढोक्तरी भइरहेको छ ।

आगलागी भएपछि इनार खन्ने प्रवृतिले गर्दा पीडितहरु झनझन पीडामा पर्ने गरेको अनि सरकार टुलुटुलु हेरेर रमाइलो मान्ने , सरकारी खर्चमा हेलिकप्टरमा शयर गर्ने काममा मन्त्री , नेता र प्रशासकबीच प्रतिस्पर्धा नै चल्छ । तर ठुलठुल्ला कुरा गर्ने , आफु बाहिर हुँदा जिम्मेवारीको डिङहाक्नेहरु झन गैरजिम्मेवार , मनमोजी र वेपर्वाह भएको देखेर जनता निराश हुँदैछन् । अहिले काठमाडौँ उपत्यका संसारकै प्रदुषित शहर बनेको छ । सरकारको नालायकीपनका कारण सडक खन्ने धुलाम्मे छोड्ने , जथाभावी सार्वजनिक क्षेत्रमा खुल्लारुपले फोहोर थुपार्ने, प्ल्स्याटिक पोल्ने गर्दा यहाँका जनताले सासफेर्न समेत नसक्ने अवस्था उत्पन्न भएको छ । समयमा नै सडक धुलाम्मे अवस्थाको अन्त्य गर्ने फोहोर व्यवस्थापन गर्ने, हरियाली बढाउने , पानीको श्रोत बचाउनेतिर सरकारको ध्यान नै गएको छैन । देशभरि हजारौँ किलोमिटर जंगलमा आगलागी भयो । आगो निभाउन गएको चार जना नेपाली सेनाका जवानको मृत्यु भयो । अहिले पनि ठाउँठाउमा आगो लागेर जंगल धुँवा र अग्नी ज्वालाको चपेटामा फसेको छ । तर मुलुकमा सरकार नै नभएजस्तो स्थिति छ । नचाँहिदो बकवासमा महारथप्राप्त गृहमन्त्री त आफ्नो जिम्मेवारी समेत थाहा पाउने अवस्थामा छैनन् । देश आगोको लप्कामा त्यतिकै छ , गृहमन्त्री चुनावी हनिमुन ट्रिपमा छन् । झण्डै महिनौँ दिनदेखि उनि आफ्नो दायित्व विर्सेर इलामतिर पिकनिक मनाउने र आफ्नो आलोचकको खोइरो खन्ने काममा व्यस्त छन् ।

मुलुकका आधाभन्दा वढी जंगलमा भएको आगलागीप्रति गृहमन्त्रीको यो उदासिनता आश्चर्यजनक मानिन्छ । जिम्मेवार व्यक्तिलाई गृहमन्त्री बनाएको भए सायद यो दशा हुने थिएन । भ्रष्ट , अपराधिक पृष्ठभुमि भएकाहरु र कानुनलाई केही जस्तो नठान्नेहरुलाई सत्ता स्वार्थका लागि बोकेर हिड्दा राजनीति नै बदनाम र वर्तमान व्यवस्था नै असफल हुदैँ गएको छ । अहिले गृहमन्त्रीलाई त देशको स्थितिको सही जानकारी समेत छैन । लु को प्रकोपमा परेको तराई, धुलोले पुरिएको काठमाडौँ र आगोको लप्कामा परेको पहाडलाई उद्धार र राहतको त कल्पना नै गर्न सकिने अवस्था छैन भने जनचेतना फैलाउने यी प्रकोपबाट बच्ने उपायको जानकारी दिने, युवा स्वयंसेवी दल निर्माण गरेर उद्धारमा खटाउने काममा गृहमन्त्री , मन्त्रालय सारै उदाशिन देखिएको छ । यस्तो स्थिति यस अघि सायदै देखिएको थियो । राजनीति गाली गलौज र फन्टुस बकबास गर्ने होइन , जिम्मेवारिपूर्ण कर्म हो भन्ने संस्कारबाट संस्कारित नहुँदाको यो अवस्थाले पक्कै पनि शुभ संकेत दिँदैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *