गोकर्णेश्वर नगर प्रमुख पदमा काँग्रेस नेता ज्योतिको उम्मेद्वारी घोषणा

काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै उम्मेद्वारी घोषणा गर्ने क्रम बढेको छ । निर्वाचनका लागि गोकर्णेश्वर नगरपालिकाको नगर प्रमुख पदमा श्रीकृष्ण ज्योतिले उम्मेद्वारी घोषणा गरेका छन् । नेपाली काँग्रेस गोकर्णेश्वर नगर समितिको सभापति र काठमाडौँ ३ नं. क्षेत्रीय सचिव भएर काम गरिसकेका नेता ज्योति लामो समयदेखि पार्टी राजनीतिमा क्रियाशील छन् ।

विकास निर्माण एवं पार्टी संगठन निर्माणमा सक्रिय ज्योति प्रजातन्त्र सेनानी दीपनारायण ज्योतिका छोरा हुन् । दीपनारायणले पञ्चायत शासनको अन्त्यका लागि लामो समय भूमिगत भएर योगदान गरेका थिए । नगर प्रमुख पदमा उम्मेद्वारीसँगै उनले मुख्य चुनावी एजेण्डा पनि सार्वजनिक गरेका छन् । नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कक्षा ८ देखि नै प्राविधिक शिक्षा दिएर रोजगारी दिने योजनालाई उनले प्राथमिकतामा राखेका छन् ।

नगरपालिकाका १९ वटा सामुदायिक विद्यालयमध्ये आठ वटा माध्यमिक तहका सामुदायिक विद्यालय छन् । नगर क्षेत्रमा कम्तीमा दुई प्राविधिक शिक्षालयको पनि स्थापना गर्ने उहाँको लक्ष्य छ । नगरपालिकाले समूह समूहमा तालिम दिने बजेटले दुई प्राविधिक शिक्षालय स्थापना गर्ने नेता ज्योतिले बताए । ज्येष्ठ नागरिकको सम्मानका लागि ६० वर्ष नाघेका वृद्ध वृद्धाका लागि नगरपालिकाले वृद्धालयको स्थापना गर्ने योजना उनले सुनाए । सामाजिक न्यायका लागि आवश्यक अन्य काम गर्ने नेता ज्योतिको प्राथमिकतामा परेको छ ।

लामो समय राजनीतिबाट प्राप्त अनुभवलाई उपयोग गर्दै नगर क्षेत्रको विकासका लागि लागिपर्ने, नगरपालिकाकाले उदाहरणीय नगरपालिकाका रुपमा विकास गर्ने योजनलाई पनि अघि बढाइने भएको छ । ज्योतिले २०७४ सालअघि पार्टीका तर्फबाट नगरपालिका संयन्त्रमा काँग्रेसको सदस्यका रुपमा समेत काम गरिसकेका छन् । त्यसबेलाको स्थानीय तहको अनुभवका आधारमा नगरपालिकामा अन्य काम गर्ने उनले जानकारी दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *