बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नहुने, मतगणना थाल्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले बाजुरा र स्याङ्जा २ मा पुनः मतदान नगर्ने निष्कर्ष निकालेको छ । बुधबार आयोगमा बसेको आयुक्तहरुको बैठकले तत्काल मतगणना अघि बढाउनु निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

‘आयोगले गठन गरेको छानबिन समितिको सिफारिसका आधारमा पुनः मतदान नगर्ने निष्कर्षमा पुगिएको हो’, निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने, ‘तत्काल मतगणना अघि बढाउन निर्देशन दिइएको छ ।’

स्याङ्जा–२ र बाजुरामा एमाले र काँग्रेसले एक–अर्कालाई बुथ कब्जा गरेको आरोप लगाइरहेका छन् । एमालेले पुनः मतदानको माग गर्दै आएको थियो भने काँग्रेसले मतगणना थाल्नुपर्ने भन्दै आएको थियो ।

स्याङ्जा २ मा काँग्रेस उम्मेदवार धनराज गुरुङ मतगणना थाल्न धर्नामा समेत बसेका थिए । स्याङ्जामा बुथ कब्जा गरी मृत्यु भएका मतदाताको नाममा समेत मत खसालिएको आरोप छ । मतगणना गर्ने कि पुनः मतदान भन्नेमा आयुक्तहरुबीच नै मत बाझिएपछि अन्यौल उत्पन्न भएको थियो ।

आयोगले अब मतगणना अघि बढाउन निर्देशन दिएको हो । दोलखाका १० वटा मतदान केन्द्रमा भने आयोगको निर्देशन बमोजिम बिहीबार पुनः मतदान हुँदैछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *