अन्तर्घात गर्नेको विवरण पुष १५ भित्र पठाउन कांग्रेसको निर्देशन


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भएको अन्तर्घातको विवरण केन्द्रमा पठाउन निर्देशन दिएको छ । केन्द्रीय अनुशासन समितिले पुष १५ गतेभित्र केन्द्रमा आइपुग्ने गरी विवरण पठाउन निर्देशन दिएको हो । समिति संयोजक आनन्द ढुंगानाले तल्ला तहमा रहेका समितिहरुलाई विवरण बुझाउन आइतबार निर्देशन दिइएको जानकारी दिए ।
कांग्रेसभित्र अन्तर्घात र असहयोग भएको भन्दै चुनाव हारेका नेताहरु सार्वजनिक रुपमा बोलिरहेका छन् । गठबन्धनका उमेदवारमात्र होइन, पार्टीका आधिकारिक उमेदवारलाई समेत हराउन आफ्नै दलभित्र लागि परेको गुनासो अहिले बढ्दो छ । पराजित उमेदवारहरुले सामाजिक सञ्जालबाट गुनासो गरिरहेका छन् । संयोजक ढुंगानाका अनुसार अन्तर्घात भएको र असहयोग गर्ने नेता र पार्टी सदस्यहरुको नाम समावेश गरेर निर्णयसहित विवरण पठाउन क्षेत्रीय, जिल्ला र प्रदेश अनुशासन समितिलाई निर्देशन दिइएको हो ।
चुनावमा अन्तर्घात भएको र असहयोग गरेकाहरुको विषयमा निर्णय गरेर केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन जारी भएको छ, विवरण आएपछि केन्द्रीय अनुशासन समितिले आफ्नो काम कारबाही अघि बढाउँछ । उनका अनुसार केन्द्रीय अनुशासन समितिले पनि पूर्णता पाएको छैन । यस्तै, अनुशासन समिति गठन हुन बाँकी रहेका जिल्ला, प्रदेश र क्षेत्रमासमेत समिति गठन गरेर विवरण पठाउन निर्देशन दिइएको उनले जानकारी दिए । हामी तल्ला तहबाट आएका उजुरीउपर अध्ययन गर्छौँ । सच्चिने ठाउँ भए सच्चिन दिन्छौँ, उनले भने, पुष १५ पश्चात् मात्र कुन प्रकृतिको असहयोगलाई कस्तो कारबाही गर्ने भन्ने निर्णय हुन्छ । हामी मापदण्ड बनाएर अघि बढ्छौँ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *