नेपाल पीएनजीमाथिको सानदार जित


काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृखंलाको पहिलो खेलमा सानदार जित हात पारेको छ । बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तपुरमा नेपालले पपुवा न्युगिनी पीएनजीलाई ५२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आसिफको ११० रन मद्दतमा ४९.१ ओभरमा सबै विकेट गुमाएर ओडीआईमा अहिलेसम्मकै उच्च स्कोर २९७ रन बनाएको थियो । २९८ रनको लक्ष्य पछ्याएको पीएनजी ४७।१ ओभरमा २४५ रनमा अलआउट भयो । पीएनजीलाई अलआउट गर्न नेपालका स्पीनहरु सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले मिलेर विकेट लिए । नेपालको इनिङ्समा पीएनजीका फास्ट बलरले ९ विकेट लिएका थिए । तर पीएनजीको इनिङ्स भने नेपाली स्पीनले ध्वस्त बनाए । नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३७ रन खर्चेर ४ विकेट लिए । दीपेन्द्रले ९।१ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । पूरै १० ओभर बलिङ गरेका कुशल मल्लले ६० रन खर्चेर १ विकेट लिए । कप्तान रोहितले समेत ९ ओभर बलिङ गर्दै ३१ रन मात्र खर्चे । पीएनजीका लागि आठौं नम्बरमा ब्याटिङ गरेका नोर्मन भानुले सर्वाधिक ६० रन बनाए । ओपनर टोनी उराले ५० र कप्तान असद भालाले ४२ रन बनाए । जितपछि ३३ खेलबाट ३४ अंक जोडेको नेपाल लिग टू मा पाँचौ स्थानमा छ । नेपाललाई अब ओडीआई मान्यता जोगाउनका लागि अब एक जित आवश्यक छ । शृंखलाका बाँकी तीन खेल जितेमा शीर्ष तीनमा पुग्दै नेपाल आगामी जुन(जुलाईमा जिम्बावेमा हुने विश्वकप क्वालिफायर्समा छनोट हुनेछ । यसअघि पहिला ब्याटिङ गरेको नेपालको लागि उक्च स्कोर २९७ रन बनाउने क्रममा ओपनर आसिफले ११० बल खेल्दै १२ चौका र २ छक्का मद्दतमा ११० रन बनाए ।

अर्का ओपनर कुशल भुर्तेलले ४५ रन बनाए । भीम सार्कीले ४४ रन जोडे । दुबई टुरमा चोटका कारण युएई विरुद्ध अन्तिम खेल गुमाएका कुशल भुर्तेलसँग ओपनिङ गरेका आसिफले पहिलो विकेटका लागि ११० रनकै साझेदारी गरेका थिए । ओडीआईमा नेपालको पहिलो विकेटका लागि यो दोस्रो शतकीय साझेदारी हो । यसअघि लिग टू अन्तर्गत गत वर्ष अमेरिकामा यो जोडीले ओमान विरुद्ध पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरेको थियो । आसिफले यसै खेलबाट ओडीआईमा एक हजार रन पनि पूरा गरे । उनी कप्तान रोहितकुमार पौडेलपछि एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी बने । २०२१ सेप्टेम्बरमा ओमानमा भएको ओडीआई शृंखलामा पीएनजी विरुद्ध नै डेब्यु गरेका आसिफले ३२ खेल खेल्दै १ शतक र ७ अर्धशतक मद्दतमा एक हजार २० रन बनाएका छन् । उनी नेपालका लागि ओडीआईमा सर्वाधिक रन बनाउनेमा पनि दोस्रो स्थानमा छन् । कप्तान रोहितले ४१ खेल खेल्दै नेपालका लागि सर्वाधिक १ हजार २०९ रन बनाएका छन् । उनले पनि १ शतक र ७ अर्धशतक नै प्रहार गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *