आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं । सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आइतबार पेसी तोकिएको छ । यसअघि पनि फैसलाका लागि भनेर पटक–पटक पेसी तोकिएकोमा विभिन्न कारण मुद्दाको किनारा लाग्न सकेको छैन ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीशको अभाव देखाउँदै यसअघि पटक–पटक पेसी सर्दै आएको छ । पछिल्लो पटक गत मंसिर २४ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए ।

मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने र दोषीलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ ।

पछिल्लो समय कलाकार पल शाहको बलात्कार मुद्दामा पुनः सुनुवाइ गर्न सर्वोच्च अदालतले आदेश दिएपछि सन्दीपको मुद्दामा चासो बढेको हो । पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । पीडितलाई होस्टायल गरी पल शाहलाई मुद्दामा जिताइएको भन्दै सुरुदेखि नै विवाद हुँदै आएको छ ।

आज हुने उक्त बलात्कार फैसलामा सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ । यदि उनी दोषी ठहर भए सन्दीपको क्रिकेटको भविष्य समाप्त हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *